तनहुँको भानुका दुई जना युवकको माछामार्ने क्रममा खोलामा डुबेर मृत्यु

तनहुँको भानुका दुई जना युवकको माछामार्ने क्रममा  खोलामा डुबेर मृत्यु

तनहुँ। तनहुँको भानु नगरपालिका–२ का दुई जना युवकको माछामार्ने क्रममा आइतबार खोलामा डुबेर मृत्यु भएको छ ।

२२ वर्षीय सागर गुरुङ र ३५ वर्षीय धनबहादुर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय भानुका प्रहरी निरीक्षक प्रकाश भुषालले जानकारी दिनुभयो । भानु २ र ५ को सङ्गमस्थल चुँदी खोलको बाङ्गेरहमा पौडी खेल्दै माछा मार्ने क्रममा दुवै जनाको डुबेर मृत्यु भएको उहाँले जानकारी दिनुभयो । मृतक दुवै जनाले नाताले दाजु र भाइ हुन् । मामा र फुपुको छोरा दुई मिलेर माछा मार्न गएको र दुवै जनाको मृत्यु भएपछि गाउँ शोकमा डुबेको स्थानीयबासी राजेश कार्कीले जानकारी दिनुभयाे ।

आइतबार दिउँसो साँढे ४ बजे दाजुभाई माछा मार्न गएकोमा स्थानीयले मृत अवस्थामा भेटिएको प्रहरीलाई खबर गरेको कार्कीले बताउनुभएकाे छ। साँझ ७ बजे खोलाबाट शव निकालेर दमौली अस्पतालमा पोष्ट मार्टमको लागि लगिएको प्रहरी निरीक्षक भुषालले जानकारी दिनुभयो । वर्षायाम सुरु भएकोले पनि पानीको बहाव खोलामा धेरै रहेकाे छ । सो ठाउँमा गहिरो भएकोले यस अघि मानिसको डुबेर मृत्यु हुने गरेको स्थानीय बासीन्दाले बताएका छन् ।

प्रत्येक वर्ष घटना घट्ने ठाउँ भएकोले बाङ्गेरहमा माछा मार्ने र पौडी खेल्न बन्द गरी खतरनाक ठाउँ भनि होडिङ बोर्ड राख्ने काम गर्नुपर्ने स्थानीय हरि खड्काले सुझाव दिनुभएकाे छ । इमेज च्यानलमा समाचार छ । 

अन्य समाचारहरु