हिमाली जिल्ला हुम्लामा पहिलो पटक स्कुस फले

हिमाली जिल्ला हुम्लामा पहिलो पटक स्कुस फले

राजन रावत गोरखापत्र 

हुम्ला, पुस १२ गते । हिमाली जिल्ला हुम्लामा पहिलो पटक स्कुस फलेको छ । नमुना परीक्षणका लागि लगाएको स्कुस  फलेको हो । सर्केगार्ड गाउँपालिका–७ को रोडिकोट गाउँकी किसानी धाँची शाहीले परीक्षणका रुपमा लगाएको स्कुस खेती सफल भएको बताउनुभयो । उहाँले पहिलो पटक नै एउटै बोटबाट तीन क्विन्टलभन्दा बढी स्कुस फलेको बताउँदै तरकारी खेतीमा यसको सम्भावना राम्रो देखिएको बताउनुभयो । उहाँले एउटा बोट लगाएकोमा राम्रोसँग फल दिएको बताउनुभयो ।

जिल्लामा बालीमा विविधता ल्याउनका लागि काम गर्दै आएको जीविकोपार्जन सुधार तथा समयानाकुल व्यवस्थापन परियोजनाका कृषि प्राविधिक सुन्दर रावतले जिल्लाका लागि स्कुस खेतीको सफल परीक्षण भएको बताउनुभयो । उहाँले एक जना महिला किसानका लागि परीक्षण खेतीका लागि स्कुसको वीऊ सहयोग गरिएको र त्यसबाट राम्रो उत्पादन भएको बताउनुभयो । दोलखाको जिरीबाट उक्त स्कुसको बीउ ल्याइएको थियो ।

उहाँले नयाँ बाली भित्र्याएर परीक्षण गर्ने र सफल भएर त्यसको खेती विस्तार गर्ने कार्यक्रमको लक्ष्य रहे अनुसार सफल भएको बताउनुभयो । उहाँले अहिले एउटै बोटबाट दिएको स्कुसले तरकारी खेतीका लागि उच्च हिमाली जिल्ला पनि सम्भावना बढी भएको देखिएको कारण यसको खेती विस्तारमा परियोजनाले सहयोग गर्ने बताउनुभयो ।

उहाँले मौसममा आएको परिवर्तनका कारण उच्च क्षेत्रमा पनि मध्य पहाडमा फल्ने फलफूल र तरकारीहरु उत्पादन हुन थालेको बताउँदै अब बालीमा विविधता ल्याउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

अन्य समाचारहरु