अर्घाखाँचीमा नयाँ वर्ष २०७९ लाई स्वागत गर्दै हर्षोल्लासपूर्वक मनाइयो पहिलो दिन (फोटो फिचर)

अर्घाखाँचीमा नयाँ वर्ष २०७९ लाई स्वागत गर्दै हर्षोल्लासपूर्वक मनाइयो पहिलो दिन (फोटो फिचर)

बसन्त खड्का अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा आज विक्रम संवत् २०७९ वैशाख १ गते नयाँ वर्षको पहिलो दिन एकआपसमा शुभकामना आदानप्रदान गरी मनाइएको छ ।


जिल्लाभर वर्षको पहिलो दिन धेरै मानिस मठमन्दिरमा गई पूजा आराधना गरेका छन् । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग शुरू गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिनका रुपमा मनाइने प्राचीन परम्परा छ । 


यस्तै सन्धिखर्कको लदाम बगैचामा टिकटक र सेल्फी खिच्नेको घुईचो लागेको थियो । हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गरेका छन् ।


आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गति तथा इष्टमित्रसँग सामाजिक सञ्जाल वा फोन सम्पर्कबाट भेटघाट गरी एकापसमा शुभकामना व्यक्त गरी नयाँ वर्ष मनाइएको छ । 


सन्धिखर्क लगायत जिल्लाभर साथीभाई एवं इष्टमित्रसँग भेटघाट गरेर मनाउनेको लर्को देखिन्थ्यो । मठ, मन्दिर, उद्यान, स्मारक जस्ता स्थलमा सामूहिक वनभोज गरी नयाँ वर्ष मनाएको दृश्य पनि देखिन्थ्यो । कोरोनाको जोखिमका कारण विसं २०७७ र २०७८ राम्रोसँग मनाउन नपाएका मानिस विभिन्न मठ, मन्दिर, पार्कलगायत स्थलमा हिँडेको देखिन्थ्यो ।  


सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको बताइन्छ ।  सूर्य मेष राशिमा प्रवेश गर्दा शुरू भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष शुरू हुने भएकाले वैज्ञानिक रहेको विद्वानहरुको भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि विक्रम संवत्मा भएको छ । कलियुग शुरू भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् शुरू भएको हो ।


अन्य समाचारहरु