आवश्यकता - रुपान्तरण सहित कार्यान्वयनको

आवश्यकता - रुपान्तरण सहित कार्यान्वयनको

ऋषब ज्ञवाली

पछिल्ला दशकहरुमा बहुलवादी समाज, उदार लोकतन्त्र, स्वतन्त्र न्यायपालिका एवं स्वतन्त्र प्रेससंगै सूचना प्रविधिको तिब्र बिकासका कारण राजनैतिक दलका लागि चुनौती र अवसर एकैपटक सिर्जना भएका छन। लोकतान्त्रिक प्रणाली र स्वतन्त्र सार्वजनिक संचार माध्यमको बिकासले राज्य संयन्त्र तथा पार्टीलाई लोकतान्त्रिक गर्दै पारदर्शी बन्न तथा सरकार र पार्टी नेतृत्वलाई जनताप्रति उत्तरदायि बन्न झकझकाएको छ। 

अहिले बिश्वव्यापी रुपमै राज्य, पार्टीको संस्थापन र मुलधार बिरोधि जनमत सशक्त बन्दै गएको छ। मुलधारका लोकतान्त्रिक र मध्यमार्गी पार्टी कमजोर र अलोकप्रिय बन्दै गएका छन। पार्टी र बिचार निर्माणको आधार र आयाम परिवर्तन भएका हुन कि? मुलधार, मध्यमार्गी र लोकतान्त्रिक पार्टीहरु असान्दर्भिक हुँदै गएका हुन? बिश्वब्यापी रुपमा जटिल बहस चलिरहेको छ। लोकतान्त्रिक आन्दोलनमा नेतृत्व गरेका र गौरबशाली इतिहास बनाएका भएपनि नेपालका पार्टीको संस्थागत अवस्था, नेतृत्वपङ्क्ती बिचको आरोप, प्रत्यारोप, कमजोर आन्तरिक लोकतन्त्र, लोपोन्मुख संगठन, र अलोकपि्रय नेतृत्वको सापेक्षतालाइ हेरेर विश्लेषण गर्दा नेपालमा पनि यस्तो खालको बहसको सान्दर्भिकता बढेको छ। त्यसकारण राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवर्तित सन्दर्भमा पार्टी निर्माण र रुपान्तरणका बारेमा बस्तुनिस्ठ विश्लेषण जरुरी देखिन्छ। 

प्राथमिकता: नीति प्रधान। 

बिसौ सताब्दिको आसपाससम्म राजनैतिक दलहरू निश्चित राजनैतिक दर्शन, सिद्धान्त र बिचारका लागि स्थापित हुने प्रवृत्ति थियो। तर अहिलेको यो प्रबिधिको युगमा पार्टीका लागि निश्चित वाद र सिद्धान्त भन्दा पनि बिचार, नीति र कार्यक्रमको बलियो आधार दल स्थापितको कारण बन्न थालेको छ। बिश्वब्यापी रुपमा लोकप्रियताबाद र राष्ट्रबादको उदयको प्रमुख कारण पनि यहि हो। 
नेपालकै हकमा पनि जनताका प्राथमिकतामा कुनै वाद भन्दा पनि जनताले प्रत्यक्ष र तत्काल अनुभुत गर्ने आर्थिक बिकास, विधि र प्रणालीमा निहित शासन सुलभ सेवा, गुणस्तरीय स्वास्थ र शिक्षा, रोजगारी सिर्जना गर्दै बेरोजगार न्यूनीकरण र तिनको प्रभावकारि कार्यान्वयन नै देखिएका छन। जनतालाई शास्त्र र सिद्धान्त होइन डेलिभरी को आवस्यकता छ। डेलिभरी दिन नसक्नेले नेतृत्व हस्तान्तरण गर्न सक्नुपर्छ। लोकतन्त्र भनेको शासन पद्धति या पार्टी संचालन मात्र होइन। जनताले अनुभुत गर्नसक्ने जीवन पद्धति पनि हो। शास्त्रीय सिद्धान्तबादि भन्दा गतिशील बिचार र नीति प्रधान दलको सान्दर्भिकता र भविष्य छ। यसको निस्कर्ष निष्ठा, सिद्धान्त र नितिको राजनीति समाप्त भएको चाहिँ होइन डेलिभरिको युग पनि प्रारम्भ भएको हो। 

कार्यकर्ता एवं जनतामा आधारित। 

बिश्वकै उत्कृष्ट शासन ब्यबस्था मानिएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा पनि स्थापना भएका कारण राजनैतिक आन्दोलन र संघर्षको अध्याय लगभग अन्त्य भएको छ। बिश्वमा आर्थिक क्रान्ति युद्धस्तरमा चलिरहेका बेला नेपालका पनि कुनै पनि दल गणतन्त्र, लोकतन्त्र र उदार अर्थतन्त्रलाई चुनौती दिनसक्ने अवस्थामा छैनन। संघर्षको घडिसम्म पार्टीहरु कार्यकर्तामा आधारित थिए।

 लोकतान्त्रिक प्रणालीको बिकाससंगै धेरै हदसम्म जनतामा आधारित पार्टीमा रुपान्तरण हुनुपर्ने बाध्यता अहिलेका राजनैतिक दलहरु संग छ। पश्चिमा तथा समृद्ध लोकतान्त्रिक देशका पार्टीहरु पुर्ण रुपमा जनतामा आधारित छन र हुन्छन्। अब संसारभर स्पष्ट दृस्ठिकोण र बिचार भएको जन आधारित पार्टी र जनतासंग प्रत्यक्ष संवाद गर्नसक्ने भिजनरी र लोकप्रिय नेतृत्व स्थापित हुने वातावरण सिर्जना भएको छ। नेपालमा पनि अब भिजनका आधारमा नेतृत्व चयन, नेतृत्वमा पुगेपछि डेलिभरी र असफल भए अवकाश लिने पद्धति विकसित हुनुको विकल्प देखिदैन। यस्तो मापदण्ड विकसित भयो भने राजनैतिक नेतृत्वहरु जनताप्रति उत्तरदायी बन्न सक्ने वातावरणको सिर्जना हुनसक्छ। 

पदभन्दा महत्त्वपूर्ण कार्यसम्पादन।

आजको युग पदभन्दा पनि पर्फमेन्स (कार्यसम्पादन) को युग हो। गौरवशाली संघर्षपुर्ण इतिहास मात्र आज प्रयाप्त हुन सक्दैन। सुखद भविष्यको प्रत्याभूति गर्ने पार्टी र नेतृत्व जनताको चाहना हो। अतितमुखी होइन, भविष्यमुखी पार्टी र नेतृत्व अबको बिकल्प हो। जनताले शासक होइन सेवक खोजेका छन। शासन होइन सुशासन रोजेका छन। सरकार होइन डेलिभरी चाहेका छन। अब राज्य संचालन र पार्टी निर्माण सहज छैन। जुन प्रणाली जनताको जीवन पद्धति बन्न सक्दैन, त्यसको भविष्य पनि देखिदैन। पार्टी र नेतृत्वको मुल्यांकनका आधार भिजन मात्रै होइन डेलिभरिका सूचकांक पनि हुन। 

नेपालमा अहिले राजनैतिक दलहरूमा कार्यसम्पादन भन्दा बढी पदलाइ महत्त्व दिने प्रचलन हावी छ।दीर्घकालीन रुपमा दल र समग्र देशमा यसले हानिकारक अवस्थाको सिर्जना गर्न सक्छ। सेवा गर्नका निमित्त पद गौढ विषय हो भन्ने नेतृत्वले बुझ्न सके राष्ट्र सहित समाज रुपान्तरण हुनका लागि कदापी समय नलाग्ला। तसर्थ राजनैतिक नेतृत्वले समयमै समय सापेक्ष आफुलाइ कार्यकर्तामुखी मात्र नभइ जनतामुखी बनाउने कुरामा विलम्ब गर्नुहुदैन। 

निस्कर्ष: 

समाजबाद, जनबाद लगायतका नारा दिएर या यस्तै पर्यायवाची सिद्धान्तमा स्थापित भएका नेपालका राजनैतिक दलको आचरणमा परिवर्तन आउनु जरुरी छ। बिश्वव्यापी रुपमा बिकास हुँदै गएको तिब्र अर्थतन्त्रमा नेपाली जनतालाई पनि जोड्ने ल्याकत नेपालका राजनैतिक दलले राख्न सक्नुपर्छ। नारामा सिमित भएर जनतालाइ ललिपप देखाउदै शिखर चढ्ने प्रवृत्तिले न त देशलाइ राम्रो गर्न सक्छ न त जनतालाइ नै समृद्ध बनाउन सक्छ। तसर्थ नेपाली राजनैतिक दलहरू पनि बदलिँदो युग अनुसार बदलिँदो परिवेशलाई आत्मसात गर्दै जनताका प्रत्यक्ष क्रियाकलापमा सहभागिता जनाउनु जरुरी छ। यो नै आजको समयको माग हो। 

(लेखक नेपाली काङ्ग्रेस अर्घाखाँचीका युवा नेता हुन।)

अन्य समाचारहरु