बुटवल उपमहानगरमा एमाले र जनमुक्ति पार्टीबीच चुनावी तालमेल

बुटवल उपमहानगरमा एमाले र जनमुक्ति पार्टीबीच चुनावी तालमेल

घनश्याम गौतम कान्तिपुर


रुपन्देही — कांग्रेस र माओवादीको गठबन्धन हुँदा पनि २०७४ को निर्वाचन एक्लै जितेको बुटवल उपमहानगरपालिकामा एमालले यस पटक राष्ट्रिय जनमुक्ति पार्टीसँग तालमेल गरेको छ । 

दुवै पार्टीका उपमहानगरपालिका स्तरका कमिटीबीच शनिबार तालमेल गरेर निर्वाचनमा जाने सहमति भएको हो । बुटवल उपमहानगरपालिकाका १९ वडामध्ये गत निर्वाचनमा एमाले एक्लैले प्रमुख, उपप्रमुखसहित १७ वटा वडा जितेको थियो । अहिले एमालले जनमुक्ति पार्टीलाई १९ वडामा ११ जना सदस्यको उम्मेदवार दिने गरी सहमति गरेको विज्ञप्तिमा उल्लेख छ ।


दुवै पार्टीका नगर कमिटीका अध्यक्षले संयुक्त हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिअनुसार एमालेका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यसमेत गरी ८६ जना उमेदवारलाई जनमुक्ति पार्टीले सहयोग गर्ने र जनमुक्तिका ११ जना सदस्यलाई नेकपा एमालेले सहयोग गर्ने उल्लेख छ । दुवै दलले संयुक्त प्रचारप्रसार कार्यालय खोल्ने र संयुक्त अभियान सञ्चालन गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा नेकपा एमालेका नगरकमिटी अध्यक्ष किसन ज्ञवाली र जनमुक्तिका अध्यक्ष भेकबहादुर सारु मगरले हस्ताक्षर गरेका छन् । यसअघिको निर्वाचनमा जनमुक्ति पार्टीले प्रमुख, उपप्रमुख र केही वडामा अध्यक्षको उम्मेदवारी दिएको थियो । प्रमुखमा एक हजार बढी र उपप्रमुखमा झण्डै १४ सय मत ल्याएको पार्टीका अध्यक्ष प्रेमबहादुर थापाले बताए ।

अन्य समाचारहरु