गोरखामा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु, चार घाइते

गोरखामा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु, चार घाइते

नरेन्द्र ढकाल गोरखापत्र 

गोरखा, पुस १६ गते । गोरखामा मिनी ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शुक्रबार आरुघाटबाट माछाखोलातर्फ जाँदै गरेको बा ५ ख ६५६६ नम्बरको ट्रक दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दुर्घटनामा ट्रकका चालक र सह–चालकको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुको सनाखत भने हुन बाँकी रहेको प्रहरीले जनाएको छ । ट्रकमा सवार अन्य ४ जना घाइते भएका छन् ।

धार्चे गाउँपालिका वडा– ३ उहियाँका आशमान गुरुङ गम्भीर घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि आरुघाट प्राथमिक स्वास्थ्य केन्द्र आरुघाट ल्याएको छ ।

दुर्घटनामा घाइते भएकी सोही ठाउँकी २६ वर्षीया शरणी गुरुङ, २ वर्षीय सपना गुरुङ र वडा नम्बर ५ माछाखोलाकी १९ वर्षीया अस्मिता गुरुङको स्थानीय माछाखोला स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको स्थानीयले जनाएका छन् ।

अन्य समाचारहरु