कैलालीका मोसो दलिएका सहायक वन अधिकृतले भने; ‘रङ पोतेर केही फरक पर्नेवाला छैन्

कैलालीका मोसो दलिएका सहायक वन अधिकृतले भने; ‘रङ पोतेर केही फरक पर्नेवाला छैन्

अविनाश चौधरी गोरखापत्र 

धनगढी, माघ १८ गते । कैलालीको पचमुडिया सब डिभिजन वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत विश्वराज पण्डितमाथि भएको दुर्व्यवहार घटनाको वनकर्मीले विरोध गरेका छन् ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले उहाँमाथि दुर्व्यवहार गरेको भन्दै वनकर्मीले विरोध जनाएका हुन । उनीहरुले घटनाका दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन् ।

डिभिजन वन कार्यालय पहलमानपुर अन्तर्गतको पचमुडिया सब डिभिजन वन कार्यालयमा कार्यरत पण्डितमाथि सोमबार रङ दलिएको थियो । पडितले नै आफूमाथि विप्लव नेतृत्वको नेकपाका केही कार्यकर्ताले रङ दलेको भन्दै सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको छ ।

गएको पुसमा नेकपा जिल्ला कार्यसमितिले भजनी नगरपालिकास्थित लक्ष्मी, सयपत्री लगायतका सामुदायिक वन उपभोक्ता समितिसँग सहयोग भन्दै तीन लाख रुपियाँसम्म उठाएको थियो । नेकपाले चन्दा मागेको भन्दै सहायक वन अधिकृत पण्डितले त्यसको विरोध गर्नुको थियो ।

सहायक वन अधिकृत पण्डितमाथि भएको घटना निन्दनीय रहेको भन्दै प्रजातान्त्रिक वन प्राविधिक सङ्घका अध्यक्ष रामऔतार चौधरीले दोषीलाई कानूनी कठ्घरामा उभ्याउन र कारबाही गर्न माग गर्नुभएको छ । यसैगरी, वन कर्मचारीहरुको सुरक्षाको ग्यारेन्टी गर्नपनि वनकर्मीहरुको माग छ ।

यसैबीच, आफूमाथि मोसो दलिएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै सहायक वन अधिकृत पण्डितले नेकपाका कार्यकर्तालाई समाज रुपान्तरणका लागि खुल्ला बहस गर्न चुनौती दिनुभएको छ । उहाँले लेख्नु भएको छ–‘चरित्रमा दाग नलागुञ्जेलसम्म अन्य अनेकौं रङ पोतेर केही फरक पर्नेवाला छैन । समाज रुपान्तरणको लागि यदि औकात छ भने खुला बहस गर्न चुनौती दिन्छु ।’

उहाँले पचमुडिया सव डिभिजन वन कार्यालयमा कार्यरत रहँदाको यो घटना अविस्मरणीयसमेत रहने उल्लेख गर्नुभएको छ । साथै, देश र जनताका विरुद्धमा आफ्नो कुनै पनि कार्य भए तीन तहका अदालत र संवैधानिक निकाय र जन अदालतको कठ्घरामा आफू उभिन तयार रहेको उल्लेख गर्नुभएको छ । ‘अन्यथा, एउटा सचेत प्राकृतिक व्यक्तिका हैसियतले समयले सबैको हिसाब किताब गर्ने नै छ’, पण्डितले लेख्नुभएको छ ।

यसअघि, नेपाल कम्युनिष्ट पार्टी कैलालीले सामुदायिक वनबाट चन्दा लिएको विषयमा मिडियामा आएको समाचार खण्डन गर्दै आफ्नो पार्टीले लिएको पुरानो सहयोगलाई आधार बनाएर कुप्रचार गरेको आरोप लगाएको थियो । साथै, वन तस्कर, भ्रष्ट, कमिशनखोरका एक/एक काला कतुर्तहरु सार्वजनिक गर्ने र जनकारबाहीको दायरामा ल्याउने घोषणा गरेको सो पार्टीद्वारा माघ ११ गते जारी विज्ञप्तिमा उल्लेख छ ।

अन्य समाचारहरु