अर्घाखाँचीका मतदानस्थलमा मोबाइल, क्यामेरा लैजान नपाइने | फेला परे प्रहरीले नियन्त्रणमा लिने

अर्घाखाँचीका मतदानस्थलमा मोबाइल, क्यामेरा लैजान नपाइने | फेला परे प्रहरीले नियन्त्रणमा लिने

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा स्थानीय तह निर्वाचन २०७९ को लागि भोलि शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म  मतदानस्थलमा मोबाइल तथा क्यामेरा लैजान नपाइने भएको छ । 


भोलि हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न जाने मतदाताले मोबाइल तथा क्यामेरा लैजान नपाउने भएका हुन् । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित तरिकाले सम्पन्न गर्न उक्त व्यवस्था गरिएको हो । 

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले 'निर्वाचन आचार संहिता २०७८ को दफा १८ (क) बमोजिम मतदानस्थल तथा केन्द्रमा कानुनले निषेध गरेका प्रज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामेरा साथमा लिएर जान नहुने व्यवस्था भएकाले समस्त जिल्लाबासी मतदाता तथा सरोकारवालाहरूले सो बमोजिम गर्नु/गराउनु हुन अनुरोध गरेको छ ।"


जिल्लाभर भोली शुक्रवार स्थानीय तह निर्वाचन पछि गरिने मतगणनाको तयारीका लागि हलमा आवश्यक प्रबन्धहरू पुरा गरिएको छ । 

जिल्ला निर्वाचन कार्यालयले शुक्रबार मतदान सकिएलगत्तै जतिसक्यो छिटो मतगणना कार्यको थालनी गर्ने जनाएको छ। मतदान स्थलबाट निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका आइपुगेको एक घण्टाभित्र गणना शुरु गरिने छ । मतपेटिका आएपछि पनि केही प्राविधिक र कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।

जिल्लाका ६ स्थानीय तहमा शुक्रबार रातिदेखि नै मतगणना थालिनेछ। मतगणना निर्देशिका २०७९ अनुसार निर्वाचन अधिकृतको कार्यालय वा गणनाका लागि तोकिएको स्थानमा सबै मतदान स्थलबाट मतपेटिका आएपछि मात्रै गणना सुरु गर्नुपर्नेछ।


एउटा पालिकाको सबै वडा वा मतदान केन्द्रको मतपेटिका नआएको अवस्थामा गणना गर्न सकिँदैन। कुनै मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने भएमा त्यहाँसमेत मतदान भएर मतपेटिका नआएसम्म अरू केन्द्रको गणना गर्नु नमिल्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

उता जिल्लाका ६ पालिकाका मतगणनास्थललाई फलामका डण्डी गाडेर जालीले घेरिएको छ। गणनास्थलमा सिसिटिभी जडान गरिएको छ। गणनास्थल सुरक्षित बनाउन लागिएको छ।

सिसिटिभी जडानको काम र  तार जाली लगाउने काम सकिएको छ ।


उता जिल्लामा स्थानीय तह निर्वाचन २०७९ का लागि ६१ मतदान स्थललाई संवेदनशील सूचीमा राखिएको छ । त्यसमध्ये २१ वटा मतदानस्थल अतिसंवेदनशील सूचीमा राखिएको छ ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीका सहायक प्रमुख जिल्ला अधिकारी नुमलाल पन्थिका अनुसार ३५ वटा मतदानस्थल भने सामान्य सूचीमा छन् । सुरक्षा चुनौतीलाई मध्येनजर गर्दै मतदानस्थललाई संवेदनशील सूचीमा राखिएको र अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको पन्थि बताउछन् ।


पालिका निर्वाचनलाई लक्षित गर्दै अर्घाखाँचीमा एक मतदान स्थल बराबर १२ देखी २० जना सुरक्षाकर्मी हुने गरी दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले बताए ।

३ नगरपालिका र ३ गाउँपालिका गरी ६ वटा स्थानीय तहहरु रहेको अर्घाखाँचीमा ९६ वटा मतदान केन्द्र छन् भने १ लाख ६३ हजार ८ सय १५ मतदात छन् । जिल्लामा स्थानीय तहको निर्वाचनमा ७९३ जना उम्मेद्वारले प्रतिस्पर्धा गर्ने छन् ।

जिल्लाभर स्थानीय तह निर्वाचको लागि भोलि शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुँदैछ।


कसरी हुन्छ मतगणना ?

मतगणनाका लागि निर्वाचन अधिकृतले मतदानको अघिल्लो दिन नै गणना हुने स्थल र समय तोकेर सूचना प्रकाशित गर्नुपर्नेछ।

गणनास्थलमा मतपेटिका जम्मा भएपछि उम्मेदवार वा दलका प्रतिनिधिलाई राखेर मुचुल्का तयार गर्नुपर्नेछ। बहुसंख्यक उम्मेदवारको प्रतिनिधि उपस्थित नभएमा गणना कार्य सुरु गर्न मिल्दैन।

मतगणना सुरु भएको मुचुल्का गरिसकेपछि निर्वाचन अधिकृतले उपस्थित उम्मेदवार वा निजको प्रतिनिधिको रोहबरमा मतपत्र रहेको मतपेटिकाको मतगणना गर्न लागिएको मतपेटिका खोलिएको वा फोरिएको छ, छैन देखाउनुपर्छ।

त्यस्तै, मतपेटिकामा मतदान केन्द्रको नाम, सुरक्षणशील नम्बर र मतपेटिकाको क्रम उल्लेख गरिएको छ, छैन त्यो पनि यकिन साथ देखाउनुपर्छ।

निर्वाचन अधिकृतले प्रतिनिधिको रोहबरमा मतपेटिका जाँच गरिसकेपछि मतपेटिका जाँच गरेको मुचुल्का तयार गर्नुपर्नेछ। मुचुल्का गर्दा मतगणनाको काममा खटाएको कर्मचारी, उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिलाई हस्ताक्षर गराइनेछ।

मतपेटिकाको जाँच गर्दा कुनै कैफियत देखिएमा मुचुल्कामा सोही व्यहोरा खुलाई त्यस्तोमतपेटिका सुरक्षित स्थानमा राख्नु पर्ने र कैफियत नदेखिएको मतपेटिकाको मतगणना कार्य समाप्त भएपछि कैफियत देखिएका मतपेटिकाको सम्बन्धमा आवश्यक सहमति कायम गरी मतगणना गर्ने दायित्व निर्वाचन अधिकृतको हुनेछ।

गाउँपालिका वा नगरपालिकाको निर्वाचनको मतगणना गर्दा प्रत्येक वडाको मतगणना छुट्टाछुट्टै गर्नुपर्नेछ। तर, एउटै वडामा एकभन्दा बढी मतदान केन्द्र कायम भएर मतदान भएको अवस्थामा वडाको कम्तीमा दुईवटा मतदान केन्द्रको मतपेटिका एकै ठाउँमा मिसाई मात्रै गणना गर्नुपर्नेछ।

मतगणना सुरु गरेपछि नसकेसम्म विशेष परिस्थितिमा बाहेक स्थगित नगर्न आयोगले निर्देशन दिएको छ। यदि स्थगित नै गर्नु परेमा औपचारिक रूपमा सूचना निकाल्नुपर्ने र त्यसको जानकारी दिनुपर्नेछ।

गणना गरिसकेपछि आएको परिणामलाई निर्वाचन अधिकृतले तोकिएको ढाँचामा माथिल्लो निकायमा पठाउने र सार्वजनिक गर्नुपर्छ। 

अन्य समाचारहरु