कक्षा ११ मा भर्नाका नयाँ आधारहरु सम्बन्धि गरिएको व्यवस्था, विवाद र समाधानको बाटो

कक्षा ११ मा भर्नाका नयाँ आधारहरु सम्बन्धि गरिएको व्यवस्था, विवाद र समाधानको बाटो

चिरन्जिबी पौडेल                                                               

 आन्तरिक मूल्यांकनको आधारमा एस.ई.ई परीक्षाको नतिजा प्रकाशित भएसंगै त्यसको बारेमा विभिन्न टिकाटिप्पणी भइरहेका छन।साथसाथै पाठ्यक्रम विकास केन्द्रले पनि  एस.ई.ई परीक्षाको नतिजा प्रकाशित भएसंगै कक्षा ११ मा भर्ना हुनको लागि नयाँ आधारहरु पनि तय गरेको छ।

यस शैक्षिक सत्रदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रम लागु हुने भएकोले बिगतका  बर्षमा तय गरिएका आधारहरुलाई परिबर्तन गर्न लागिएको हो।परिबर्तित नयाँ व्यवस्थाअनुसार कक्षा ११ मा भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित बिषय अध्ययन गर्नका लागि एस.ई.ई परीक्षामा कम्तिमा १.६ जि.पि.ए प्राप्त गरि अंग्रेजी, विज्ञान र अनिबार्य  गणित विषयमा कम्तिमा C+ ग्रेड प्राप्त गर्नुपर्ने व्यवस्था गरिएको छ भने भौतिक विज्ञान, रसायन विज्ञान, जीव विज्ञान र गणित बिषय बाहेकका अन्य विषयहरु  अध्ययन गर्नका लागि एस.ई.ई परीक्षामा कम्तिमा १.६ जि.पि.ए प्राप्त गरि अंग्रेजी, विज्ञान र अनिबार्य  गणित विषयमा कम्तिमा D+ ग्रेड प्राप्त गर्नुपर्ने व्यवस्था गरिएको छ।यसरी नयाँ आधारहरु तय गरिएसंगै शैक्षिक जगतमा यसको पक्ष र बिपक्षमा विभिन्न बहसहरु भइरहेका छ।      

हामी सबैले एकातर्फ शिक्षामा गुणस्तर खोजिरहेका छौ भने अर्कोतर्फ सरकारले यो निर्णय फिर्ता गरि पुरानै आधरमा भर्ना लिनुपर्छ भनि सरकारको यो निर्णयको बिरोध गरिरहेका छौ।२०७२ सालमा अक्षरांकन पद्धती लागु भएपछि शिक्षा र मानविकी भर्ना भएका अधिकांस बिद्यार्थीहरु १.६ देखि २.० जि.पि.ए प्राप्त गरेका र विषयगत रुपमा हेर्दा प्रयोगात्मक परीक्षा हुने विषयमा प्रयोगात्मक अङ्क सहित D+ वा बढीमा C ग्रेड प्राप्त गरेका तथा अनिबार्य गणितमा E वा D ग्रेड प्राप्त  गरेका बिद्यार्थीहरु छन।यिनै संकायका विद्याथीहरुनै भविष्यमा देशको शैक्षिक र प्रशासनिक क्षेत्र हाँक्ने जनशक्ति हुन।केहि समयअघि शिक्षक सेवा आयोगद्वारा प्रकाशित अध्यापन अनुमतिपत्रको नतिजामा १०% भन्दा कम परीक्षार्थी उत्तीर्ण हुनुबाट पनि यी संकायमा कस्ता बिद्यार्थी प्रवेश गर्दछन भन्ने कुरा सहजै आंकलन गर्न सकिन्छ।यसले भविष्यमा शिक्षा क्षेत्रको सुधारको सकरात्मक संकेत गर्दैन।          

सबैले बुझ्नुपर्ने मुख्य कुरा आधारभूत शिक्षा अनिबार्य हो भने उच्च शिक्षा व्यक्तिको आफ्नो ब्यबसायिक जीवनको लागि आवश्यक पर्ने ज्ञान,सीप र दक्षताको लागि हो।बिकसित देशहरुको अभ्यासलाई हेर्ने हो भने आधारभूत तहमा उच्च उपलब्धि हाँसिल गर्ने बिद्यार्थीहरुलाई उच्च शिक्षा(विश्वबिद्यालय)मा प्रवेश गराइन्छ भने आधारभूत तहमा उच्च उपलब्धि हाँसिल गर्न नसक्ने विद्यार्थीलाई प्राबिधिक तथा सिपमुलक शिक्षामा प्रवेश गराइन्छ।तर नेपालमा बिगतमा जसरी जुनसुकै स्तरको बिद्यार्थीलाइ साधारण शिक्षामा प्रवेश गराइयो त्यसले राज्य र अभिभाकको लगानी बालुवामा पानी जस्तै भयो भने लाखौँ विद्यार्थीको मेहनत खेर जाने तथा भविष्यनै अन्धकारमय भयो।त्यस्तै विश्वविद्यालयहरु पनि बेरोजगार उत्पादन गर्ने कारखानाको रुपमा चित्रित हुन पुगेका छन्।

 त्यसैगरी बहसमा रहेको अर्को विषय कक्षा ११ मा गणितलाई  ऐच्छिक विषयको रुपमा व्यवस्था गरिएकोले अन्य विषयहरु अध्ययन लागि एस.ई.ई. मा गणित विषयमा D+ ग्रेड किन चाहियो भन्ने हो तर गणितको आधारभूत ज्ञान नभएको बिद्याथिलाई अन्य बिषयको अध्ययनमा पनि समयस्या हुन्छ।जस्तै कक्षा ११/१२ मा समाबेश गरिएका सामाजिक, जीवनपयोगी शिक्षा ,अर्थशास्त्र, लेखाशास्त्र, जनसंख्या, कम्प्युटर लगायत धेरै विषयहरुको अर्थपूर्ण सिकाइ आधारभूत गणितीय सीप बिना सम्भब छैन।त्यसैगरी उच्च शिक्षामा पनि  जुनसुकै विषयको अनुसन्धानात्मक कार्यको लागि पनि आधारभूत गणितीय सिपको आवश्यकता पर्दछ।तसर्थ कक्षा ११ मा भर्ना हुनको लागि गणितमा कम्तिमा D+ ल्याउनुपर्ने व्यवस्थालाई सकारात्मक रुपमा लिनुपर्दछ।यदि विद्यार्थी साधारण शिक्षामा जसरी पनि प्रवेश गर्न चाहेको भने पुन परीक्षा दिएर निश्चित उपलब्धि हाँसिल गरेपछि मात्रै  प्रवेश  गर्नुपर्छ।अन्यथा उसलाई प्राबिधिक तथा सिपमुलक शिक्षामा प्रवेश गर्न प्रेरित गर्नुपर्छ।खुकुलो मापदण्ड निर्माण गरि सहजै रुपमा साधारण शिक्षामा भर्ना हुन पाउने व्यवस्था तत्कालिन रुपममा राम्रो सुनिएपनि दिर्घकालिन रुपमा विद्यार्थी अभिभाबक समाज र देशको हितमा नहुने कुरा सबैले मनन गर्नु जरुरि छ।

(लेखक जनज्योति मा.वि.अर्घाखाँचीका गणित शिक्षक हुनुहुन्छ ।)

अन्य समाचारहरु