धारपानीमा भुमिकास्थान नगरपालिकाको दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

 धारपानीमा  भुमिकास्थान नगरपालिकाको दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

गोपाल प्रसाद भट्टराई

धारपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाका नगरप्रमुख रेसम थापाले आफुहरुको पहिलो कार्यकालमा विकासको जग बसालेको दाबी गर्नुभएको छ । 


आफुहरु जनप्रतिनिधि भएर आएपछि चौरबाट सेवा सुरु गरेको भुमिकास्थान नगरपालिकाले भौतिक विकासलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै समग्र क्षेत्रमा विकासको जग बसालेको उहाँको दाबी छ । अर्घाखाँचीको धारपानीमा सम्पन्न भुमिकास्थान नगरपालिकाको दोस्रो चौमासिकको सार्वजनिक सुनुवाईलाई सम्बोधन गर्दै उहाँले  यस्तो दाबी गर्नुभएको हो । “शुन्यताबाट सेवा सुरु गरेकोले भौतिक विकासमा हाम्रो बढि ध्यान गयो,जसले गर्दा शिक्षा र स्वास्थ्य अलि ओझेलमा परेका हुन् ।”नगर प्रमुख थापाले भन्नुभयो,“तैपनी अन्य पालिकामा भन्दा हाम्रोमा शिक्षा र स्वास्थ्यसेवा पनि राम्रै छ ।” “हामीले विकासको जग बसालेका छौं ।” उहाँले थप्नुभयो,“ अब आउनेले पुरा गर्नेछन् । भन्नेमा म विस्वस्त छु ।” पहिलो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यावाद दिंदै नगर प्रमुख थापाले जनता र पार्टीले जिम्मेवारी दिए दोहोरिएर आउने उद्घोष समेत गर्नुभएको छ । 


कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिल बहादुर राउत क्षेत्रीले जनप्रतिनिधिको भावना र नागरिकको आवस्यकता अनुसार सेवा प्रवाहलाई चुस्त,दुरुस्त र सहज बनाउने काममा आफुहरु लागि परेको बताउनुभएको छ । नगरपालिकाको आर्थिक सहयोगमा शैक्षिक तथा सामुदायिक परामर्श सेवा केन्द्र अर्घाखाँचीले आयोजना गरेको दोस्रो सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले शिक्षा,स्वास्थ्य,कृषिको विकास तथा दिगोविकास,स्वरोजगारका कामले फड्को मार्न नसकेको जस्ता गुनासाहरु राखेका थिए । 


स्थानिय राजनितिक दलका प्रतिनिधि,वडाध्यक्ष,कार्यपालिका सदस्य,नगर स्थित बिभिन्न बिषयगत शाखाका प्रमुख,स्थानिय विद्यालय,स्वास्थ्यचौकी सहित सेवाग्राहीका प्रतिनिधिहरुको सहभागितामा सम्पन्न कार्यक्रममा नगर प्रमुख रेसम थापा,प्रमुख प्रशासकिय अधिकृत लिल बहादुर राउत र नगर प्रवक्ता बाबुराम पन्थी लगायतले हलमा उठेका जिज्ञासाको जवाफ दिनुभएको थियो । जवाफको क्रममा उहाँहरुले भौगोलिक विकटता,सिमित आर्थिक स्रोत र माथिल्ला सरकारले दिने बजेटको आफ्नै सिलिङ्ग अनुसार चल्नुपर्ने बाध्यता,कृषि तथा रोजगारको क्षेत्रमा गरेको लगानी अनुसार प्रतिफल ल्याउन नसकिएको भन्दै सोंचेजति प्रगति गर्न नसकिएको स्विकार गर्नुभएको छ । 

आयोजक संस्थाको तर्फबाट प्रध्यापक धर्मराज भुसालले संचालन र प्रध्यापक सुरज सारुले बिषयबस्तुमाथि सहजिकरण गर्नुभएको कार्यक्रममा संस्थाका अध्यक्ष तथा प्रध्यापक दोर्ण प्रसाद भुसाल र नगरपालिकाको योजना शाखा प्रमुख हरिश्चन्द्र भुसालले प्रश्न,जिज्ञासा तथा सुझावहरुको टिपोट सहित थप सहजीकरण गर्नुभएको थियो । 

अन्य समाचारहरु