सामाजिक सञ्जालमा ममाथि सधैं प्रहार हुन्छ, तर, म दुःखी छैन

फेसबुकलगायत सामाजिक सञ्जालमा ममाथि सधैं प्रहार हुन्छ। तर, म दुःखी छैन। फेसबुकमा मेरा राम्रा फ्यान पनि छन्।

मेरो नामलाई प्रयोग गरेर मान्छेहरु पैसा कमाइरहेछन्। अनेक लेख्छन्। यसपटक त मेरो फेसबुक एकाउन्ट नै ह्याक भयो। दुखी यसकारण छु, हाम्रो साइबर अपराध हेर्ने निकाय साह्रै फितलो रहेछ।

एक वर्षअघि मेरो फेसबुक पेज ह्याक भयो। त्यसमा एक लाखभन्दा माथि लाइक पुगेको थियो। केही समयपछि त्यो पेज ब्लक भयो। यसपटक त एकाउन्ट नै ह्याक भयो। यसमा पनि एक लाखभन्दा बढी फलोअर पुगिसकेको थियो।

एक महिनाजति अघि फेसबुक चलाइरहेको थिएँ। एक्कासी  सेसन एक्स्पायर्ड  भन्यो। तुरुन्तै पासवर्ड राख्दा त रङ पासवर्ड पो भन्यो। मैले आफ्नो मोबाइल र पासवर्ड कसैसँग सेयर गर्ने गरेको पनि छैन। त्यसैले कसैप्रति शंका पनि भएन। एकछिन ट्राइ गरिरहेँ। तर पनि खुलेन। अनि शंका लाग्यो, फेसबुक ह्याक भयो।

केही दिन कुरेँ, त्यो मान्छेले पुरानै पासवर्डमा खोलिदिन्छ कि भनेर। तर भएन। त्यति नकारात्मक काम पनि नगरेकाले डराइहाल्ने स्थिति पनि भएन। विस्तारै प्रोफाइल पिक्चर, टाइमलाइनमा फोटोहरु चेन्ज हुन थाल्यो।

यसपछि म ढुक्क भएँ, त्यो मान्छेले पैसा कमाउनका लागि यसो गरेको हो। किनकी मेरो नाममा फेक एकाउन्ट खोलेर मान्छेहरुले ब्लग, वेबसाइटबाट पैसा कमाउने धन्दा गरिरहेका छन्। मान्छेहरु आफ्नो साइटको भिजिट बढाएर पैसा कमाउन ज्योती मगरको नाम प्रयोग गर्छन्। पेज ह्याक पनि पैसाकै लागि गरेको होजस्तो लाग्छ। मेरो नामलाई केही अनलाइनहरुदेखि, सामाजिक सञ्जालमा जसरी दुरुपयोग गरिरहेका छन् त्यो सबै पैसाकै लागि हो। यतिसम्म कि मेरो नाममा नक्कली वेबसाइट बनाएर पैसा कमाउने धन्दा भइरहेको छ। म भोलि मात्र आधिकारिक वेबसाइट खोल्दैछु।

मेरो नाममा ब्लगहरुले नानाभाँती लेख्छन्। पोहोर साल ब्लगहरुले मेरो चरित्रहत्या गर्दै नक्कली समाचार लेखेका थिए। अनि म प्रहरी अपराध महाशाखा गएँ। त्यहाँ जाँदा ब्लगहरुको काम प्रेस काउन्सिलले हेर्छ भने। प्रेस काउन्सिलमा जाँदा त ब्लग संसारको कुन कुन कुनाबाट चलाउँछन्, हाम्रो कन्ट्रोलमा हुँदैन  पो भन्यो। त्यसपटक यत्तिकै चुप लागेँ।

यसपटक फेसबुक ह्याक भएपछि म प्रहरीकोमा यसकारण गएको हुँ, मेरो फेसबुक कसले चलाइरहेको छ, त्यो मान्छे कहाँ छ, फेसबुक उसले चलाउन नमिल्ने गरी बन्द होस्जस्ता कारबाही गर्नुपर्यो । तर आज त्यहाँ पुग्दा त यस्तो लाग्यो, हाम्रो निकाय साह्रै फितलो रहेछ।

पहिलो कुरा त, इन्टरनेटसम्बन्धि काम गर्ने शाखामा इन्टरनेट नै साह्रै स्लो छ। अनि उहाँहरुले भन्नुभयो, अर्को एकाउन्ट खोल्नु र फेसबुकमा रिपोर्ट गर्नु। प्रहरीले गर्ने त्यत्ति हो त? ह्याकरले फेसबुकबाट मनलागी गर्न सक्छ। उसलाई समातेर कारबाही गर्नुपर्दैन? प्रहरीले त्यस्तो गर्न नसक्ने नै हो कि नगरेको हो, मैले बुझिन।

प्रहरीसँग जुन अपेक्षा राखेर गएको थिएँ, त्यो पाइन। अब म आफ्नै तरिकाले काम गर्छु। त्यो ह्याकरले के गर्छ त्यसको डर छैन। किनकी मेरो प्रोफाइल भनेको म आफैं हुँ, फेसबुक हैन। सेतोपाटीमा खबर छ 

           

अन्य समाचारहरु