महिला मुक्ति आन्दोलनको उपलब्धी, अवसर र चुनौती

महिला मुक्ति आन्दोलनको उपलब्धी, अवसर र  चुनौती

विजुला रायमाझी (सामाजिक अभियान्ता)

नेपाली जनताहरुले हाल उपभोग गर्दै आएका अवसर र अधिकारहरु सजिलै प्राप्त भएका होइनन् । नेपाली समाज विकासक्रमको अध्ययन गर्दा मात्रृसत्तात्मक युगदेखि अहिले आधुनिक युगसम्म आइपुग्दा धेरै पुस्तान्तर परिसकेको छ र आज सजिलै अधिकारमा दावी गर्न पाउदा पूर्वजलाई मनदेखि सम्झिने र सम्मानपूर्वक शिर झुकाउने मानिस विरलै भेटिन्छन्। 


हरेक सचेत व्यक्ति  खाना खान बस्दा म के खाँदैछु,, कुन स्रोतबाट आएको हो,हितकारी  छकि छैन, पचाउन सकिन्छ सकिदैन भन्ने हेक्का राख्नु पर्दछ । जुन भूमिमा जन्म लियो त्यही भूमि भुल्लुआमालाई भूल्नु हो ।वर्तमान समाजको  पृष्ठभूमि यसै समाजका अग्रजहरुको अथक संघर्ष र गौरवपूर्ण इतिहासले कोरिएको छ । भरिएको छ ।

सामन्तवादको जालोबाट आफूलाई जोगाउदै अथक संघर्षको फल चखाउने अग्रजहरुप्रति एक पटक शीर झुकाएर स्मरण गर्नुृ हाम्रो कर्तब्य हो ।कति सामाजिक अभियान्ता देश निकाला भए , कति जेलमा सडे,कति अंगभंग भए तर जनताको हितविरुद्ध शासकसामु कहिले झुकेनन्। हामी त्यस्ता अग्रजको स्मरण नगरी फल खानु हुदैन। पच्दैन पनि ।प्राप्त उपलब्धीलाई अवसर बनाउँदै महिलाहरुको उपस्थितिलाई हरेक क्षेत्रमा  अर्थपूर्ण बनाउनु हाम्रो चुनौति हो । आरक्षण कोटाबाट अवसर लिने अनि आफू छिरेपछि उही वर्गमाथि दमन र बेवास्ता गर्ने प्रवृत्ति हाबी हुनु कदापि सुहाउने कुरा होइन । 

हाम्रा अग्रजहरुको कठिन साधना ,संकल्प र संघर्षबाट प्राप्त  उपलब्धिमा टेकेर राज्यका  हरेक क्षेत्रमा केही समय सकारात्मक विभेद अर्थात् आरक्षणको व्यबस्था गरिएको छ ।त्यही व्यबस्थालाई आधार बनाएर  महिला ,दलित,मुश्लिम,जनजाति र अन्य पछि पारिएका समुदाइलाई समाज विकासको मूल धारमा समावेश गर्ने गरिएको छ । त्यो पनि संविधान, विधानमा उल्लेख गरिएभन्दा एक इन्च अघि बढ्ने वातावरण मिल्दैन । चुलोको पल्लोपट्टि नै भाग सारिएजस्तो गरी निर्णायक भूमिकाबाट परै राखिने गरिएको छ ।   अझै पनि मुखमा मात्र लोकतन्त्र मष्तिष्कमा सामन्तवादको पोको फुकाउन नसकेका वा फुकाउन नचाहने वर्गको हालीमुहाली चल्दासम्म हाम्रो आन्तरिक संघर्ष जारी राख्नु पर्दछ ।सामन्तवादको जरो उखेलिएको छैन रुप बदलिएको मात्र हो। हाम्रो महिलामुक्ति आन्दोलनका अग्रजहरुको अथक संघर्ष र प्रयासबाट प्राप्त उपलब्धिको फललाई पनि  हामी यति दिएका छौं, उदार भएका छौं  भनेर गुन लगाउने ,आन्दोलनबाट खारिएका ,जीवनभरि समाज रुपान्तरणमा लागेकालाई पछि पार्दै नेताहरुको वरिपरि गणेश प्रवृतिमा सिपालु   ,आफ्नो वर्गको आन्दोलनको पृष्ठभूमि नबुझेकाले अवसर पाउँदै जानाले वर्गीय आन्दोलन कम्जोर हुन सक्छ । महिला आरक्षणबाट  अवसर र सुबिधा लिनेले महिलाप्रति र दलितबाट प्रतिनिधित्व गर्नेले आफ्नो  वर्गप्रति बफादारिता देखाउनै पर्दछ । भन्नु त्यति नसुहाउने कुरा होइन । आन्दोलनको प्रतिफललाई भिक मागेजस्तो गरी गर्नु पर्ने सभ्य समाजकोलागि सुहाउँदैन ।

नेपाली महिलाहरुले आफूहरुमाथि हुने गरेको अन्याय अत्याचार , सामाजिक कुरीति कुसंस्कार ,अन्धविश्वास,विभिन्न खाले विभेद विरुद्ध योगमाया न्यौपानेदेखि सुरु भएको निरङ्कुश सत्ता विरुद्धको सामाजिक आन्दोलनलाई विभिन्न तरिकाले अगुवाइ हुदै आएको छ । नेपाली छोरीहरुले पढ्न नपाउँदा राणा प्रधानमन्त्रीसँग धर्ना अनसन बसेरैे भएपनि साहना प्रधान ,कामाक्षदेवी, मंगलादेवी सिंह, स्नेहलता, शान्ता मानवी लगायत थुप्रै अग्रजहरुको अथक संघर्षको प्रतिफल हो हाम्रो शिक्षा , स्वास्थ्य र राजनीतिक अधिकार ।  अनेमसंघको २०५५मा विराटनगरमा सम्पन्न चौथो रा.सम्मेलनलेचौधबँुदे कार्यक्रम पास गर्दै क्. विद्यादेवी भण्डारीको नेतृत्वमा महिला मुक्ति आन्दोलन अगाडि बढ्दै गयो । २०६३ साल  जेठ १६ गते तत्कालिन अनेमसंघ अध्यक्ष ने क पा (एमाले) उपाध्यक्ष विद्यादेवी भण्डारीको राज्यका हरेक क्षेत्रमा कम्तिमा  ३३  प्रतिशत महिला सहभागिताको प्रस्ताव संसदबाट पारित भएपछि नेपालको संविधानमा लिपिबद्ध गर्न बाध्यात्मक अबस्था भयो ।राजनीतिक दलका विधानमा  पनि उल्लेख गरिने भएपछि समाज जबरजस्त अगाडि जाँदैछ ।यति लामो महिलामुक्ति आन्दोलन र वर्गीय आन्दोलनको उपलब्धिलाई अझै पनि पुरुष समुदायले आफ्नो गास काटेर दिएजस्तो गर्नु,जतिसुकै क्षमतावान र क्रियाशील भएपनि महिला भनेपछि कमजोर ठान्ने प्रवृतिलाई निस्तेज गर्दै लैजानु हामी सचेत महिलाको कर्तब्य हुन आउँछ । 

महिलाले पाएको जिम्मेवारी सफलतापूर्वक  र निश्कलङ्कित भएर खरो उत्रिन सके  आन्दोलनले पनि सार्थकता पाउँछ र भावी पुस्ताको लागि उदाहरण बन्न सकिन्छ । महिलाहरुलाई घरको काम सकेर सामाजिक काममा निस्किन सजिलो छैन। दोहोरो तेहोरो जिम्मेवारी बहन गर्दै समाज रुपान्तरणको अभिभारा पनि महिला नै बोक्नु पर्दछ । अवसरसँगै थुप्रै चुनौतिहरु तेर्सिएका हुन्छन । जसले चुनौतिलाई अवसरमा बदल्न सक्छ त्यसको उपस्थिति नै अर्थपूर्ण उपस्थिति हुन सक्छ ।लगानी नगरिएको वस्तुभन्दा लगानी गरिएको नै बढी माया लाग्छ ।  नेपालको जनसङ्ख्यामा ५१ प्रतिशतभन्दा माथि  रहेको महिला वर्गले जेनतेन ३३ प्रतिशतमा चित्त बुझाएर मख्ख पर्नु आफूले आफूलाई नै विश्वास नगरेजस्तो हुनेछ । सभा, सम्मेलन ,आन्दोलन ,मतदाता , र हरेक काममा महिला अगाडि निर्णायक अर्थात् नीति निर्माणमा सहभागी हुन नपाउँनु,खाली  इमान्दारीपूर्वक निणर््ाय लागु गर्ने मात्र गरेर कहिल्यै महिलामुक्ति आन्दोलनको लक्ष्य भेटाउन सकिदैन ।त्यसैले महिला दिदीबहिनीहरु ! आफूले पाएको भूमिका र अवसरलाई अर्थपूर्ण बनाउन जरुरी छ । आफू जुन ठाउँ ,स्थान , र भूमिकामा  छ त्यसलाई सफल र मर्यादित बनाउँदै भावी पुस्ताको लागि गोरेटो तयार गर्नु पर्दछ ।आफ्नो पृष्ठभूमि बिसिर्नु हुदैन ।आफ्नो  वर्गीय संघर्ष भुल्नु हुदैन र कुनै पनि आँच आउने काम गर्नुृ हुदैन। महिलाको नेतृत्व भएको जुनसुकै क्षेत्रलाई स्वच्छ, दुरुस्त, पारदर्शी, निष्कलङ्कित बनाउँन सके समाजलाई अगाडि बढाउन धेरै समय पखिर्नु पर्दैन ।

नेपालको संविधानमा ५, २० प्रतिशत हँुदै ३३ प्रतिशत र स्थानिय निकायमा ४० प्रतिशत महिला प्रतिनिधित्वको व्यवस्था गर्न सकिएको छ । आमाको नामबाट नागरिकता दिलाउने व्यवस्था गरिएको छ । यो उपलव्धिलाई महिला मुक्ति आन्दोलनका सबल पक्ष मान्नु पर्दछ  । लामो समयसम्मको अभियान संघर्ष आन्दोलनको परिणाम स्वरुप संविधानमा किटान भएका अधिकार पनि व्यवहारिक रुपले कार्यान्वयन हुन नसक्नु संविधानमा उल्लेखित अधिकार पनि स्पष्ट नीतिको अभावले कार्यान्वयन ढिलासुस्ति, कानुनको व्याख्या व्यक्ति व्यक्ति र पक्ष पक्षमा फरक पर्ने जस्ता कार्य दुर्वल पक्ष हुन । लंैगिक असमानता, नीतिको अभाव, अवधारणामा अन्योलता, विभेदका पक्षहरुको अध्ययन विश्लेषणको अभाव, राजनितिक रुपमा परिवर्तन भए पनि समय सुहाँउदो आत्म विश्वास र निरन्तरताको कमि हुनु आर्थिक परनिर्भरताले गर्दा निर्धक्कसँग सामाजिक राजनीतिक कार्यमा संलग्नता अझै पनि चुनौतीको रुपमा रहेका छन् ।

अभियानका क्रममा आउने चुनौतिलाई अवसरमा बदल्न निम्न कार्य जरुरी देखिन्छ ।
    - स्थानिय तह, जिल्ला तथा केन्द्रियस्तरका सरोकारवाला, लक्षित समुुहका वर्ग समुदायसँग समन्वय ।
    - राज्यका हरेक निकायले आ आफनो कार्य स्थलका महिला सञ्जाल तथा अगुवा महिला प्रतिनिधित्वसँग सहकार्य गर्ने ।
    - स्थानिय तहका महिला नेताहरुमा नेतृत्वदायी क्षमता अभिवृद्धि गराउनमा जोड दिने ।
    - महिलाहरुको क्षमता विकास तथा हौसला बृद्धि ।

कानुन बन्नु र अधिकार प्राप्त हुनु मात्र पर्याप्त हुदैन । त्यसको परिणाम पीडितहरुले प्रत्यक्ष महशुस गर्नको लागि बनेको कानुनको प्रभावकारी कार्यान्वयन हुन जरुरी हुन्छ । त्यसका लागि राज्यका साथै पारिवारीक, सामाजिक र राजनैतिक क्षेत्रका सबै सम्बन्धित सरोकारवाला पक्षहरुलाई संवेदनशील तथा प्रतिवद्ध गराई कार्यान्वयन गर्नु तथा दवाब दिनु नै यस अभियानको प्रमुख उद्देश्य हो ।

हालसम्म संस्थागत गर्न सकिएका उपलव्धीहरुलाई उपयोग गर्दै थप उपलव्धीकोे लागि संघर्ष गर्न महिलाहरु आफनो साघुँरो घेरालाई फराकिलो पार्दे आफनो कार्यकुशलता, निरन्तरता र आत्मविश्वासका साथ एकताबद्ध भएर अगाडि बढ्न सके महिलाहरुका अगाडि थुप्रै अवसरहरु आएका छन् यस परिस्थितिमा महिला नेतृत्व विकास गर्न अति आवश्यक देखिन्छ । जनसंख्यामा ५१ प्रतिशत भए पनि सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक, प्रशासकीय क्षेत्रमा पछाडि पारिएका महिलाहरुलाई , परिवार, समाज, राष्ट्रमा आफ्नो पहुँच बढाउन, समाजलाई नेतृत्व गर्न, समाज र राष्ट्रको साधन स्रोत परिचालनमा सहभागिता जनाउन नीति निर्माण तहमा नेतृत्व  तयार गर्ने प्राप्त उपलव्धी रक्षा गर्दै थप उपलव्धिका निम्ति संघर्ष गर्न हिंसामुक्त सभ्य मर्यादित समृद्ध र समतामुलक समाजको परिकल्पनालाई साकार पार्न सक्षम महिला नेतृत्वको आवश्यकता पर्दछ । 

त्यसैले हिंसा केवल महिलाहरुको मात्र समस्या होइन, यो सिगो समाज र राष्ट्रको समस्या हो । विधिन्न प्रकारका हिंसाका कारण अझै पनि अपेक्षित संख्यामा महिलाहरु राष्ट्र निमार्ण कार्यको मुल प्रवाहिकरणमा हातेमालो गर्न सकेका छैनन् । यति ठूलो संख्यामा रहेका महिलाहरुको सशक्तिकरण बिना हामीले सोँचे जस्तो समृद्ध नेपालको निमार्ण हुन सक्दैन । समृद्ध राष्ट्र निमार्णको लागि लंैगिक आधारमा हुने हिंसालाई न्युनिकरण गर्दै उन्मुलन गर्नु पर्दछ । यसका लागि व्यक्ति, व्यक्तिमा रहेको गलत भ्रम अन्धविश्वासयुक्त नकारात्मक सोँच हटाउने र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सक्नुपर्छ । लंैगिक मैत्री वातावरणको निमार्णबाट नै समृद्ध र समतामुलक समाज निर्माण सम्भव छ ।

तसर्थ लंैगिक आधारमा हुने गरेका हिंसा विरुद्ध उठेका जायज र न्यायपूर्ण अभियानमा काँधमा काँध आवाजमा आवाज मिलाउन सरोकारवाला सबै निकाय, मिडिया क्षेत्र र सम्पूर्ण दाजुभाई दिदी बहिनीहरु एकसाथ तयार हुन सके अभियानको सार्थकता रहने छ । श्रमिक महिलाहरुको आन्दोलनले मान्यता पाएको  ११२  वर्ष पुग्दा पनि पूर्णरुपमा सफल हुन सकिएको छैन । अझै पनि महिलालाई व्यबहारमा दोस्रो दर्जाजस्तै गरिन्छ तापनि प्राप्त उपलब्धिको उपयोग र रक्षा गर्दै थप उपलब्धिको गन्तव्य समात्नु पर्दछ । दिवसहरुमा मात्र केन्द्रित होइन अभियान्ताहरु निरन्तर वर्ग र समुदायको हितमा लागिरहनु पर्दछ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस हरेक वर्ष मार्च ८ मा विविध कार्यक्रम गरी विश्वभरि मनाइन्छ ।  नेपालमा पनि योे दिवस महत्वकासाथ लिने गरिएको छ ।  श्रमजीवि महिलाहरुले  यो दिनलाई मुक्तिको दिन ,स्तन्त्रता पाएको दिन मान्दै आएका छन् । सरकारले विदा दिदै आएको छ । यो अवसरलाई  उपयोग गर्दै  हिंसामुक्त , मर्यादित,र समतामुलक समाज निमार्ण अभियानमा महिला मात्र होइन, सचेत महिला पुरुष एक साथ अगाडि बढ्न जरुरी  देखिन्छ ।

अन्य समाचारहरु