संस्मरण: स्मृतिका पानाहरू

संस्मरण: स्मृतिका पानाहरू

 पिताम्बर बन्जाडे

नाती हातमा पुस्तक लिएर दौड्दै आयो र देखाउँदै भन्यो ,- "बुवा !बुवा ! मेरो नयाँ पुस्तक ! हेर्नुस् त ! कति राम्रो छ ! कति पुतली ! फूल , घर , पहाड , मान्छे , के के छन् नि ! मेरो पुस्तकमा ....कति राम्रो छ हगी बुवा ! उसले पानाहरू पल्टाउँदै देखायो । अनि भन्यो, " हजुरका पनि धेरै पुस्तकहरू छन् ? हैन बुवा ?" मैले भनें- "हो आल्मारी भरि छन् । " फेरि भन्यो , "तपाइँको पुस्तकमा मेरोमा जस्तो राम्रा राम्रा फोटाहरू छैनन् अनि अक्षरहरू पनि कति सानासाना छन् , तपाइँको भन्दा मेरो पुस्तक राम्रो छ, हैन बुवा ? " हो बाबु ! तिम्रो पुस्तक धेरै राम्रो छ," मैले भने ,

पुस्तक मेरो हातमा थमाएर ऊ खेल्न थाल्यो । मैले पुस्तकका पानाहरू पल्टाउँदै गएँ । मानौ ती पानाहरूसंग मेरो जीवनका पानाहरू पनि यसरी नै पल्टदै आएका थिए । म पनि कुनै दिन यस्तै पुस्तक लिएर आएको थिएँ घरमा । पुस्तकमा भएका चित्रहरू देखेर यसरी नै खुसी भएको थिएँ । पुतलीको उडिरहेको चित्र देखेर म पनि त्यसरी नै हात फैलाउदै उफ्रन्थें , कति चित्रहरूसंग कुरा गर्थें । कस्ता रमाइला र उमंगका दिनहरू थिए ती ! मेरो चाला देखेर मेरी आमा पनि दंग पर्नु हुन्थ्यो ।

तल्लो घर , पल्लो घरका दाजु दिदीहरूसंग खेल्दैखेल्दै स्कुल जान्थ्यौं र आउँथ्यौं । सुत्ने बेला मात्र आफ्नो आफ्नो घरमा जान्थ्यौं । सवै संगै खान, बस्न पाए कति रमाइलो हुन्थ्यो ! किन आफ्नो आफ्नो घर तिर जान्छन् ? भन्ने लाग्थ्यो ।

मेरो घरका दाजु दिदीहरू भन्दा पनि साथीहरूसंगको सम्बन्ध गाढा थियो । घरमा त दिदी भाइ विच कहिलेकाही कुटाकुट पनि हुन्थ्यो, केही छिनमै मिली पनि हाल्थ्यौं तर साथीहरूसंग प्राय झगडा हुदैनथ्यो । मलाई औधि माया गर्थे , उनीहरू फरक हुन भन्ने मलाई आभाषै थिएन । छिमेकीमा पल्लो घर तल्लो घरका बा आमाहरू पनि त्यस्तै माया गर्नु हुन्थ्यो । मेरो घर र उहाहरूको घर फरक हो भन्ने लाग्दैनथ्यो । मलाई ती खेतबारीका साँधसिमाना केही थाहा थिएन । बारीमा केराउ फलेको बेला, फलफूल पाकेको बेला सवै गएर टिप्थ्यौं खान्थ्यौं । उनीहरू पनि हाम्रो बारीमा त्यसै गर्थे । मान्छे सानो ठूलो हुन्छ, जातभात पनि हुन्छ भन्ने केही थाहा थिएन ।सवैकुरा आफ्नो आफ्नो जस्तो लाग्थो । कोही कसैले फरक देखाउँदा अनौठो लाग्थ्यो ।

बढ्दैजादा फरक फरक थाहा हुदै गयो । साँधसिमानाहरू पनि चिन्दै गएँ । जसरी बढ्दै जादा पुस्तकका अक्षरहरू साना हुदै गए त्यसरी नै सॉधसिमानाहरू पनि खुम्चदै गए । तेरो र मेरोको , सानो अनि ठूलो , धनी अनि गरिव के के सिमाना कोरिदै गए । म ठूलो भएर असल बने कि खराव संकीर्ण बन्दै गएँ आज पनि हेक्का राख्न सकेको छैन ।

मलाई ती साथीहरूसंग छुट्टीनु पर्छ भन्ने त्यस समयमा लाग्दैनथ्यो । पल्लो घरको दिदी बिहे भएर डोली चढी घर जाँदा उनका बाबुआमा रुदा म पनि रोएको थिएँ । कति नरमाइलो लागेको थियो । पछिपछि परैसम्म म पनि दिदीसंगै जान्छु भनेर रुदै पछि लागेको थिएँ । मलाई आमाले के के भनेर फकाउँदै बोकेर घर ल्याउनु भएको थियो ।

जीवनको गतिसंगै कतिकति साथहरू छुट्दै गए । कति त संसारबाटै विदा पनि भैसके । कोही कहाँ कताकता छन् । कोहीसंग कहिलेकसो भेट हुन्छ । उनीहरू त बुढा भैसकेछन् । म आफू भने दिन गएको पत्तो पाएको छैन । उनीहरूलाई देख्दा मात्र लाग्छ म पनि त अरूले देख्दा त्यस्तै बूढो भएको हूँला ! मेरो हजुरबाले भनेको सम्झन्छु , "मान्छे बूढो भए पनि मन त बूढो छैन नि !" हजुरबाका कुरा सुनेर हामी पेट मिचीमिची हाँस्थ्यौं । आज त्यही कुरा हामी नातिबाजेको विचमा हुन्छ । यस्तै भावलहरसंगै यन्त्रवत पुस्तकका पानाहरू पल्टाउँदै जान्छु ।मेरो मन ऐले नातिको जस्तै भएर विगतमा घुमीरहेको छ ।

फेरि नाति कताकता खेलेर पुस्तक सम्झेछ क्या र ! " बुवा मेरो पुस्तक खोइ ?" भन्दै कोठामा आएर मेरो हातको पुस्तक तानेर लैजादा म झल्यास्स हुन्छु । ऊ बाहिरीएपछि पनि मेरो मनमा भाव तरंगहरू घुमीरहन्छन् । विगत सम्झन्छु कतिकति नाता, साथीसंगीहरू छुटे ,कति नयाँ जोडिए पनि । सोंच्दै नसोंचेका भेटिए , सोच्दैनसोंचेका छुटेर गए तर ती सुरुदिनका संगीसाथीहरू कति राम्रा थिए, मायलु थिए , यस्तै खुला पुस्तक जस्तै रंगीन थिए । म यो उमेरसम्म आइपुग्दा धेरै कुराहरू सिकें तर ती वास्तविकताहरू भुल्दै गएँ । केही पाएँ अनि धेरै कुराहरू गुमाएको जस्तो लाग्छ, खुसीहरू छोडेर दु:खहरू लिए जस्तो लाग्छ । उदार समत्वको भावबाट अनुदार संकीर्ण भए जस्तो लाग्छ । भावलाई इज्जत प्रतिष्ठासंग विनिमय गरेर लिए जस्तो लाग्छ, बसन्त दिएर शिशिर लिए जस्तो लाग्छ ।

ती दिनहरू आज स्मृतिका पाना भएका छन् । यो मन कताकता घुम्छ आज आउँदा र भोलि सम्झदा झन् न्यास्रो लाग्छ । अरु सवै विर्सेर फेरि त्यही दिनहरूमा जस्तै रमाउन पाए हुन्थ्यो भन्ने लाग्छ र फेरि पनि म त्यही नाति जत्रो हुन पाए हुन्थ्यो भन्ने लाग्छ ।
कसैले मलाई वच्चा भनेर जिस्काए पनि झर्को मान्ने थइन ,कसैले गिज्याए पनि , हासोमा उडाए पनि मलाई केही प्रवाह छैन । यो बोझिलो मानसम्मान, इज्जत प्रतिष्ठा , तेरो मेरो , सानो ठूलो भन्दा निश्छल, निस्कपट , वेफिक्रीको माया नै मलाई प्रयाप्त हुने थियो त्यसैले फेरि पनि म त्यही सानो नाति जत्रो हुन पाए हुन्थ्यो भन्ने लाग्छ ।
अस्तु: