दाउराले पिठ्यूँमा हिर्काएर आफ्नै छ वर्षीया छोरीको हत्या

रोल्पा मिझिङ गाविस ६ मा एक महिलाले आफ्नै छोरीको हत्या गरेकी छन् ।

लिवाङ नगरपालिका २ खुमेल घर भई हाल मिझिङ ६ रोल्पा माइतीघर बस्दै आएकी धना बुढाथोकीले गए राती ९ बजे दाउराले पिठ्यूँमा हिर्काएर आफ्नै छ वर्षीया छोरी झकमा बुढाथोकीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक केशव बस्नेतले बताए।

नौ महिनाको गर्भवतीसमेत रहेकी धना छ वर्षकी छोरी र डेढ वर्षको छोरासँग बस्दै आएकी थिइन् । मानसिक सन्तुलनसमेत ठीक नभएकी उनको श्रीमान् गोपाल बुढाथोकीले ज्याला मजदुरीको सिलसिलामा धनगढीमा रहेको प्रहरीले बताएको छ ।
स्थानीयवासीले घटनाका सम्बन्धमा इप्रका सुलिचौरमा सूचना गरेपछि घटनास्थल पुगेका प्रहरीले अभियुक्त बुढाथोकीलाई नियन्त्रणमा लिई इप्रका सुलिचौरमा राखेको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिए ।

यसैगरी उत्तरी रोल्पाको थवाङ ८ का ३८ वर्षीया सोनाकुमारी नेपालीलाई अपरिचित व्यक्तिले गएराति प्रहार गरेको ढुङ्गावाट टाउको र दायाँ कानको कन्चटमा लाग्दा गम्भीर घाइते भएको प्रहरीले बताएको छ ।

उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । बेहोस अवस्थामा रहेकी नेपालीलाई उनका आफ्नै श्रीमान् ध्रुव नेपालीले ढुङ्गा हानेको हुन सक्ने आशङ्कामा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरी निरीक्षक केशव बस्नेतले जानकारी दिए। सेतोपाटीले लेखेको छ ।          

अन्य समाचारहरु