पिंजडाको चरा (कविता)

पिंजडाको चरा (कविता)


मनोज कोइराला 

आकाशमा भुरुरु उड्ने चरीलाई
नथुन पिंजडामा चञ्चले यी सानी परीलाई

खुब आफै लगाउछौ तिमी स्वतन्त्रताको नारा?
थुन्दा पिंजडामा तिमीले बग्छ उसको अश्रुधारा

मन अनि मस्तिष्कमा बसेर उसको हेर
स्वतन्त्रताकै लागि पलपल तड्पिन्छ उ धेर

स्वतन्त्रताको ज्वाला मुटुमा उसको धड्किन्छ
प्रत्येक चिरबिरमा उसको मुक्तिको गीत गुन्जिन्छ

आजादीको हरपल देख्छ उसले सपना
सोच्दछ उसले सपना हुन्छ कहिले खै बिपना

पिंजडाबाट मुक्त गर्दा मर्छ कि भन्ने तिमीलाई डर
पिंजडाभित्रै पनि जिन्दगीको त कहाँ हुन्छ र भर

रक्षा गर्छु भन्ने नाममा उसलाई तिमी बन्धक नबनाऊ
उसको बाटो खुल्ला छोड तिम्रो बाटो तिमि समाऊ

नलाद कट्टरता तिम्रो उसमा

जिउन देउ उसलाई खुशीमा
तिम्रा सिद्धान्त उसलाई नपेल
पिंजडाको त्यो खोलिदेउ जेल

तिम्रा चाहना उसका हैनन्
तिम्रा इच्छा उसका हुदैनन्
तिम्रा विचार पनि उसका हैनन्
तिम्रा दर्द पनि उसका हुदैनन्

त्यसैले

पिंजडा जलाई खरानी बनाऊ
खुट्टामा बाँधेको डोरी फुकाऊ
फिजाई पखेटा उ भुर्भुर उडोस
मुक्त हुने सपना उसको पूरा होओस्

खुला आकाशमा उड्न पाउदा
जीवनमा उसको स्वतन्त्रता छाउदा
उसको जिन्दगीमा खुशी छाउला
हर्षाश्रु झार्दै खुशीले गीत गाउला

तिमी पनि छोड यो क्रुर शासन
बन्द गर स्वतन्त्रताको नाममा दबाउने भाषण

अनि मन र मस्तिष्कबाटै,

तिम्रा निर्दयी सोच फाल
हृदयविहीन हृदय टाल
खोक्रे सिद्धान्तमा छोड जिउन
हिम्मत गर घमण्डलाई घटघट पिउन
छोडेर दिमागी भ्रम, तोड पिंजडाको छहारीलाई
उड्न देउ स्वतन्त्र भै आकाशमा त्यो चुलबुले चरीलाई
उड्न देउ स्वतन्त्र भै आकाशमा त्यो चुलबुले चरीलाई