सहजतालाई स्वीकार गर्न नसक्दा एम्बुसमा

सहजतालाई स्वीकार गर्न नसक्दा एम्बुसमा

ऋषब ज्ञवाली

आजको युग एक्काइसौं सताव्दिको युग हो। अर्थात विश्वव्यापी रुपमा प्रविधिले फड्को मारेको युग भनौ या शिक्षित वर्गहरु प्रतिस्पर्धामा रहेको युग भन्दा पनि अतियुक्ती नहोला। शिक्षा दिनानुदिन विकसित हुँदै गएको युगमा प्रविधिले पनि उत्तिकै छलाङ मार्दै छ। विश्वका लगभगजसो सबै मुलुक चेतनका साथ शिक्षा, प्रविधि लगायतका बिषयहरुमा आफुलाइ सबल बनाउने प्रयत्नमा जुटिरहेका छन। विकसित मुलुकहरू आफ्नो पहिचान र स्थान सुरक्षीत राख्ने कसरतमा लागिरहेका छन भने विकासोन्मुख, अर्धविकसित र अविकसित मुलुकहरू तिनै विकसित मुलुकलाइ पछ्याउने अभियानमा छन्। विश्वका हरेक विकसित मुलुकहरू दिनप्रतिदिन कुनै न कुनै अनुसन्धानमा आफ्नो दक्षता प्रदर्सन गरिरहेका छन् र सफलता पनि हासित गर्दैछन्। देशलाई आर्थिक रुपमा सम्पन्न बनाएपछि कुनै न कुनै एक बिषयलाई आधार बनाएर आफ्नो पहिचान कायम राख्न एक किसिमले शक्ति राष्ट्रहरुको होडबाजी नै चलेको छ भन्दा हुन्छ। आफ्नो देशमा भएका सम्भावित उपभोग्य पदार्थहरुको अनुसन्धान र त्यसको उत्पादनलाई प्रमुख आधार मान्ने हो भने कुनै पनि मुलुकलाइ समृद्धिको यात्रा अगाडि बढाउन समय लाग्छ जस्तो लाग्दैन। सबै मुलुक सबै कुरामा सम्पन्न छैनन् र हुन पनि सक्दैनन्। तर सबै मुलुकमा उत्पादन र बजारीकरण सहज छ। यसको मतलब उत्पादन र बजारीकरणको सहि ब्यबस्थापन र वितरण हुन सक्यो भने देशले सजिलै समृद्धिको यात्रा तय गर्न सक्छ। 

लामो समयको संक्रमणकाललाइ कालकोठरिको रुपमा बिताउन विवस नेपाल र नेपाली जनताले सम्पन्नताका तीब्र आकाङ्क्षा राख्नु पक्कै पनि नाजायज नहोला। विभिन्न प्रकारका निरङ्कुश सामन्ती व्यवस्थामाथी चरम यातनासहितको राजनैतिक द्वन्द नेपालको लागि एक अभिशाप रयो बिगतका दिनमा। बढ्दो राजनैतिक उतारचढाव सरकारको अस्थिरता देश बिकासमा अत्यन्तै बाधक सावित भयो। बर्ष दिन पनि नटिक्ने सरकार र भ्रष्टहरुको नेतृत्व देशको समग्र विकासमा बाधक भएको जनताले महसुस गरेकै हुन्। बहुमतको सरकार संचालन गर्ने राजनीतिक दललाइ समेत बाह्य तथा आन्तरिक शक्तिले कुनै न कुनै प्रोपोगन्डामा पारेर देशमा अस्थिरता सिर्जना गरेको इतिहास हाम्रा सामु छर्लङ्ग छ। 

प्रजातन्त्र स्थापनाको करिब ३ दशकसम्म पनि देशको समग्र सूचकांक एक अंकमा पनि सुधार नहुनु हामी नेपालीहरुका लागि त्यो भन्दा ठुलो दुर्भाग्य के हुन सक्ला र? नेपाल जुन नाममा नेपालीको पहिचान जोडिएको छ। जुन देश विश्वका अरु देशभन्दा पृथक छ। जुन देशका जनता विश्वका धेरै देशका लागि समृद्धिको यात्री बनेका छन। धार्मिक, सास्कृतिक, राजनीतिक लगायत सबै कुरामा दक्ष नेपाली किन आज गरिव नागरिकको बिल्ला भिरेर जिउन बाध्य छन त? विश्वकै उत्कृष्ट शासन प्रणाली मानिने संघीय लोकतान्त्रिक गणतन्त्र त नेपालमा पनि छ। चरम यातनाको चपेटामा परेर स्वतन्त्रताको लागि जीवन दाउमा राख्ने नेतृत्व पनि छ। लगभग सात दशकसम्मका अनुभव सम्हालेका राजनैतिक पार्टी पनि छन। सामुदायिक या व्यक्तिगत रुपमा विश्वमा शुरु भएको नया नया प्रविधिहरु पनि भित्राइएकै छन्। आजसम्म बिना गुनासो जनताको साथ र समर्थन सबै राजनैतिक दललाइ भइरहेकै छ। तर पनी विश्वमै प्रचुर मात्रामा सम्भावना भएको मुलुक गरिबिको दलदलमा फस्न किन बाध्य छ। गहन बिश्लेषण सहितको अनुसन्धान आवश्यक देखिन्छ। 

एसिया महादेशका सबैभन्दा शक्तिशाली, विश्वव्यापी रुपमा पक्कड जमाउन तत्पर छिमेकी देशको समृद्धिको छलाङ उदाहरणीय छ। जुन कुराले नेपालले पनि पाठ सिक्नुपर्ने थियो बिडम्बना नेपाल र नेपालिले अनुभुत गर्न सकेका छैनन्। आन्तरिक राजनैतिक द्वन्द्वलाई बिषयवस्तु बनाएर रुमल्लिने हो भने देशले समृद्धिको यात्रा तय गर्न सक्दैन। झन पछाडी धकेल्लिने कुरामा संका नरहला। संक्रमणकालिन व्यवस्थामा विकासको रेखा कोर्न नसक्नु, त्यसैमा भ्रष्ट सोच राख्नु नेपाल विकासको बाधकको प्रमुख कारक हो। विदेशी शक्ति राष्ट्रको सामु आफ्नो सार्वभौमिकताको पहिचान कायम गर्न नसक्नु अस्थिरताको निरन्तरता हो। आफ्नो देशको भौगोलिक अवस्था, यहाका जनताका इच्छा र आक्रोशलाई सहजता महसुस गर्न नसक्दा गन्तव्यमा पुग्न सकिदैन। आशालाग्दा व्यक्तिहरुलाइ नेतृत्वमा पुर्याउदा उनिहरुबाट नै जनता आक्रान्त बन्न पुगेका छन। कुनै ब्यक्ति या दललाइ स्थिरता या समृद्धिको नाममा देशको साचो सुम्पनु जनताको गलत कार्य हो त? के नेपालमा अग्रगमन या समृद्धि नफापेकै हो त? होइन भने अग्रगमन र समृद्धि किन सपना बन्दैछ त? नेपालको इतिहासमा नेपाली जनताले केही व्यक्ति बाट असीमित आकाङ्क्षाहरु राखेका थिए र छन। केही व्यक्तिहरुलाइ नेपाल निर्माणको हस्तिको रुपमा देख्न चाहन्थे र चाहन्छन। उनीहरुको सहयात्री बन्न जनता आतुर थिए र छन। तर ती मध्ये केही व्यक्तिहरु असफल सावित भइसके भने केही ले नेतृत्व सम्हाल्न पाएका छैनन। ठुलो कुरा गरेर आफुलाइ राष्ट्रबादको पगरी आफै भिराउनेहरुबाट समेत जनताका न्युनतम कुराहरुमा ध्यान नदिइनु दुखद र निन्दनीय बन्यो नेपालीजनहरुका लागि। आखिर अब कुन व्यवस्थाको लागि जनता पर्खेर बस्नुपर्ने हो? कतिन्जेल सम्म नेपाली जनताहरुले बिदेशी भुमिमा आफ्नो युवा अवस्था र उर्जा खर्च गर्नुपर्ने हो? राजनीतिमा संस्कार हुन्छ। जनताप्रति उत्तरदायी बन्ने संस्कारको बिकास कहिले हुने हो नेपाली राजनीतिमा?  

बिगत आठ महिनादेखी विश्व समुदाय संगसंगै नेपाल पनि कोभिड - १९ बाट आक्रान्त बन्न पुग्यो। कोभिडका कारण देश र जनताको खुस्कदो अर्थ व्यवस्थामा जनतालाइ राहत भन्दा आहतको अवस्था सिर्जना भयो सरकार पक्षबाट। सत्तारूढ दल भ्रष्टाचार र आन्तरिक झगडामा रुमल्लिदा जनता थप प्रताडित हुन पुगे। स्थिर सरकार संचालनका लागि दिइएको जनमत जनताका लागि अभिशाप बन्न पुग्दैछ। महामारीको बेला पनि लगातार एकपछि अर्को भ्रष्टाचारले जनता र जनमतको हुर्मत लिदैछ। शासकमा सामन्ती संस्कार हावी हुदा जनता अभिव्यक्ति स्वतन्त्रता बाट समेत बन्चित बन्न पुग्दैछन। विकास र समृद्धिका ठुला ठुला कुरा झुटको पुलिन्दा बनिरहेका छन। आफ्ना कार्यकर्ता बाहेक अन्यलाइ जनता नदेख्नु र महलबासिको सुखलाइ समृद्धि शीत चित्रण गरिनु नेपाली जनताको लागि



दुर्भाग्यपूर्ण बन्दै गएको छ। सबै राजनैतिक नेतृत्वको अकर्मण्यताको सिकार बन्न पुगेका छन जनता लगातार। नेपाली जनताको सहनशीलता र जनमतको ठाडो उपहास को नमुना यो भन्दा अरु के हुन सक्ला? जुन नेपाल र नेपाली जनताले भोगिरहेका छन। 

विश्व समुदाय आफुलाइ अब्बल र दक्ष बनाउदै गएको आजको परिवेशमा हामी चाहिँ आन्तरिक लफडामा रुमल्लिनु कदापी राम्रो होइन। केही सिमित व्यक्ति र तिनका स्वार्थमा मुलुक हिडाउन खोज्नु हानिकारक हुन्छ। सरकार संचालन गर्ने दल आफ्नो आन्तरिक झगडामा देश नै बर्बादितर्फ उन्मुख गराउन उद्दत रहने र प्रतिपक्षी या अन्य समाज, समुदाय हरु पनि आफ्नै आन्तरिक व्यवस्थापनमा किचलो मच्चाइरहदा कसैको पनि भलो हुन स्क्दैन। जनता सर्वोपरि मानेर जनताका इच्छा र आकाङ्क्षालाई तत्काल सम्बोधन गरेर आफुलाइ आत्मालोचना सहित सुधार गर्नुपर्ने जरुरी देखिन्छ अहिले सरकार लगायत सबै दलहरूका लागि। नत्र केही सिमित व्यक्ति या दलका कारण समग्र प्रणालीमाथी प्रश्नचिन्ह खडा हुन सक्छ, जसको सुरुवात बिस्तारै देखिदैछ। समय सापेक्ष परिस्थितिलाई सहर्ष स्वीकार गर्न नसक्दाको परिणाम भयावह हुन सक्छ। त्यसले जस्तो सुकै दुर्घटना निम्ताउन सक्छ, चाहे त्यो राजनैतिक, सामाजिक या सास्कृतिक। दुर्घटना या एम्बुस समग्र राष्ट्रका लागि हानिकारक बन्नेतर्फ सबै सचेत हुनु जरुरी छ बिशेषगरि सत्ता संचालक र राजनैतिक नेतृत्व हरु। असहज परिस्थितिलाई सकारात्मक सहजतामा रुपान्तरण गर्नु नेतृत्वको कुशलता प्रदर्शन हो। यदि सहजतालाइ स्वीकार गर्न सकिएन भने जतिबेला पनि एम्बुसको सिकार बन्न सकिन्छ। त्यो राजनैतिक, धार्मिक, सामाजिक जुनसुकै किन नहोस। यसबाट पाठ सिकेर अगाडी बढ्नु नै आजको विकल्प हुन सक्छ सबैका लागि। देश र जनताको रक्षा, जनताको समृद्धिको सपनालाई सम्बोधन गरेर अगाडी बढ्न सक्नुपर्छ नत्र स्थितिले हानिकारक दिशा लिन सक्छ। 

लेखक नेपाली काङ्ग्रेस अर्घाखाँचीका युवा नेता हुन।

अन्य समाचारहरु