लमजुङ अस्पतालमा करिब तीन हजार बिरामीलाई निःशुल्क सेवा

लमजुङ अस्पतालमा करिब तीन हजार बिरामीलाई निःशुल्क सेवा

बेलिना थापा गोरखापत्र 

लमजुङ, पुस ५ गते । जिल्ला अस्पताल लमजुङले पाँच महिनाको अवधीमा करिब तीन हजार बिरामीलाई निःशुल्क सेवा प्रदान गरेको छ ।

अस्पतालले आर्थिक वर्ष २०७८/०७९ को साउनदेखि मङ्सिरसम्म दुई हजार ६८४ जना बिरामीलाई निःशुल्क सेवा प्रदान गरेको हो । आर्थिक अवस्था कमजोर भएका बिरामीलाई निःशुल्क सेवा दिएको अस्पताल प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार उनीहरुलाई ६३ लाख ८५ हजार ४४६ रुपियाँ बराबरको सेवा प्रदान गरिएको हो । २६ लाख ६४ हजार २७७ रुपियाँको निःशुल्क औषधि वितरण गरिएको छ । अस्पतालका अनुसार महिला एक हजार ९७ जना र पुरुष ६३७ जनालाई सेवा प्रदान गरिएको छ । महिला र पुरुषलाई गरी ३३ लाख २३ हजार ४९६ रुपियाँ बराबरको सेवा निःशुल्क दिएको हो ।

अस्पतालले चालु आर्थिक बर्षको पहिलो चौमासिकमा निःशुल्क सेवा दिएका मध्ये पाँचवर्ष मुनिका बालबालिकाको संख्या ९५० रहेको छ । उनीहरुलाई ३० लाख ६१ हजार १५० रुपियाँको निःशुल्क सेवा दिइएको हो । अति विपन्न, दलित, जेष्ठ नगारिक, सामुदायिक महिला स्वास्थ्य स्वंयसेविका, अपाङ्गता भएका नागरिकलगायतलाई निःशुल्क सेवा प्रदान गरिएको छ । ६० बेडको जिल्ला अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा, तीनजना विशेषज्ञ डाक्टरहरुमार्फत नियमित शल्यक्रियादेखि यसवर्षदेखि गलस्टोनको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गर्दै आएको छ । अस्पतालमा फिजियोथेरापी सेवा सञ्चालन भएको छ । 

पाँच वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार हुँदै आएको छ । लक्षित समूहहरु जेष्ठ नागरिक, अपाङ्गता, महिला स्वास्थ्य स्वयंसेविका, द्वण्द्वपीडितका लागि निःशुल्क उपचार दिँदै आएको अस्पताल विकास समितिका अध्यक्ष मदन रानाले बताउनुभयो । उहाँका अनुसार प्रशंसायोग्य नर्सिङ सेवा, अस्पतालको सरसफाइमा नमूनायोग्य भएको दाबी गर्नुभयो ।

अन्य समाचारहरु