थरुहट क्षेत्र माग्दै अखण्ड सुदरपश्चिमको विरोधको वन्दका कारण तराईको जनजीवन प्रभावित

थरुहट क्षेत्र माग्दै अखण्ड सुदरपश्चिमको विरोधमा थारु सयुक्त संघर्ष समितिले गरेको वन्दका कारण आज तराईको जनजीवन प्रभावित बनेको छ । बन्दको कारण पश्चिमको चितवनदेखि कञ्चनपुरसम्मको जिल्ला प्रभावित बनेका हो । उता, नवलपरासीको डण्डामा थारु कार्यकर्ता र बाहुन क्षेत्री समुदायबीच झडप भएको छ । राजमार्ग बन्द गराउंदै बसेका थारु कार्यकर्ता र बाहुन क्षेत्री सम्मेलनमा सहभागी हुन बुटवल जान लागेकाबीच झडप भएको हो । झडपमा दुवै तर्फ गरी १२ जना भन्दा बढी घाइते भएका छन् । बन्दको बेला बस चलाएको भन्दै थारु कार्यकर्ताहरुले बस रोकेपछि बाहुन क्षेत्रीले प्रतिकार गरेका थिए ।

डण्डामा रहेको थारु संग्राहलयमा आगजनी भएको छ भने ७ वटा मोटरसाइकल तोडफोड भएको छ । बन्दकै क्रममा चितवनको तरकारी चोकमा दुई वटा सवारी साधनमाथि तोडफोड भएको छ । उता, कोचिला राज्यको माग गर्दै पूर्वी थारुवान कोचिला राज्य संघर्ष समितिले आज दोस्रो दिन पनि पूर्वका ६ जिल्ला बन्द गराएको छ । बन्दका कारण सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापा र उदयपुर जिल्लाको जनजीवन प्रभावित बनेको छ । चितवनदेखि पश्चिम नेपालको कञ्चनपुरसम्मको क्षेत्रलाई थारु वान स्वायत्त प्रदेश हुनुपर्ने, सिराहादेखि पुर्व झापासम्म थारुवान कोचिला प्रदेश तथा पर्सा देखि धनुषासम्म सिम्रौनढ प्रदेशको माग राख्दै थारु संयुक्त संघर्ष समिति आन्दोलनमा उत्रिएको हो ।

यस्तै छुट्टै मिथिला राज्य माग गर्दै भईरहेको मिथिलाञ्चल क्षेत्रको वन्दले जनजीवन गम्भीर रुपमा प्रभावित भएको छ । विरोध र बन्दबाट धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही लगायतका जिल्लाको जनजीवन कष्टकर हुँदै गएको छ । बन्दका कारण मिथिला क्षेत्रमा यातायात, बजार, शैक्षिक संस्था र कलकारखाना ठप्प छन् । जनकपुरमा सरकारी कार्यालय समेत खुल्न सकेका छैनन् । RSS

अन्य समाचारहरु