कोमल भट्ट
पुरानो नैकाप-१३ ,काठमाडौँ
©komalpbhatta@yahoo.com
आँसु नै आँसुको भेल भो जिन्दगी
हर्दमै हारिने खेल भो जिन्दगी
दुर्दशा झाङ्गिए शान्त संसारमा
यातना वर्सिने जेल भो जिन्दगी
च्यापियो बेसरी दर्दका भीडमा
पेलिँदा पेलिँदै तेल भो जिन्दगी
छैन हाँसो खुसी,छैन आनन्द याँ
भाग्य बेमानको झेल भो जिन्दगी
सुस्त बन्दै गए हात गोडा सबै
किच्चियो बोझले नेल भो जिन्दगी
पोल्छ छाती सधैँ पीरले,तापले
निल्छ संवेदले सेल भो जिन्दगी
बढ्न थाले व्यथा देह तड्पाउँदै
लाख सन्तापको मेल भो जिन्दगी
लालसा मात्र भो मानसम्मानको
'कागका देशमा बेल' भो जिन्दगी
SIS SIS SIS SIS
( स्रग्विणी छन्द )