बाढी र निरन्तरको मुसलधारे वर्षाका कारण सप्तरीका एकदर्जन भन्दा बढी गाबिसका अढाई हजार घर डुवानमा

बिभिन्न खोलामा आएको बाढी र निरन्तरको मुसलधारे वर्षाका कारण सप्तरी जिल्लाका एकदर्जन भन्दा बढी गाबिसका अढाई हजार घर डुवानमा परेको छ । घर डुबानमा परेपनि पीडितहरु आफन्त,अग्लो ठाउ र स्थानीय विद्यालयमा शरण लिइरहेका छन् । 

खाडो खोलामा आएको बाढीका कारण तिलाठी गाबिस पूर्ण रुपमा जलमग्न भएको छ । उक्त गाबिसको वडा नम्बर १ देखी ९ सम्मका करिब आठसय घरमा पानी पसेको स्थानीय वासिन्दा समेत रहेका पुर्व जिबिस सदस्य देवनारायण यादबले जानकारी दिए । 

बाढीका कारण तिलाठीसंगै जोडिएको सकरपुरा गाविस पुरै डुवानमा परेको सशस्त्र प्रहरी वल बोर्डर आउट पोष्ट तिलाठीले जनाएको छ । आउट पोष्टका प्रमुख ज्ञानबहादुर श्रेष्ठले सकरपुरा गाबिसका पुरै बस्ती डुबानमा परेको जानकारी दिए । 

यस्तै रम्पुरा मल्हनियााको समेत झण्डै दुई सय बढी घर डुवानमा परेको प्रहरीले जनाएको छ । यस्तै खाडो खोलाको जलस्तर अत्यधिक बढेपछि राजविराज भारदह सडक खण्डको तोपामा ओभरफलो भई पानी बस्ती तर्फ सोझिने खतरा बढेपछि स्थानीय वासिन्दा त्रसित भएका छन् ।

यसअघि बिहानैदेखि तोपाको वडा नम्बर १, २ र ३ का सय घर डुवानमा परेको स्थानीय रमेशकुमार दासले जानकारी दिए । तोपासंगै रहेको कजौली गाउका पनि ५० घरमा पानी पसेको छ । 

उता जिता खोला उर्लेर बस्तीमा पस्दा जिल्लाको महदेबा गाबिस ४,७,८ र ९ का एकसय घर डुबानमा परेको स्थानिय बैद्यनाथ राउतले जानकारी दिए । यस्तै सदरमुकाम राजविराज नगरपालिकाको वडा नम्बर ५,८ र १० का गरि १ सय घर डुवानमा परेको प्रहर।ीले जनाएको छ । 

यस्तै वषर्ाको पानीको निकास नहुदा देउरी भरुवा गाबिसका सय घर डुवानमा परेको छ । त्यहाको गाबिस कार्यालय समेत डुवानमा परेको छ । यस्तै जिता खोलाकै बाढीका कारण बथनाहा गाबिसका ५० र भगवतपुर गाबिसको मझौरा टोलका २५ घर डुवानमा परको छ ।  यता महुली नदीमा आएको बाढीले सप्तरीको उत्तर पुर्वी भेगमा पर्ने भारदह र पोर्ताहा गाविसका ६ वटा वडाको ३ सय घर डुवानमा परेको छ ।

बाढीले पोर्ताहा-त्रिकौलको विचमा झण्डै ३/४ स्थानमा बाध कटान गरेको स्थानियहरुले जनाएको छ । बाढीका कारण हजारौ विघा खेती योग्य जग्गा डुवानमा परेको छ । धान रोपेका खेतहरु समेत डुवानमा परेपछि स्थानिय किसानहरु चिन्तीत भएका छन् । बाढीको पानी भारदह-पोर्ताहा क्षेत्रको केरा वगानमा समेत छिरेकेा छ । बाढीले पुर्व पश्चिम राजमार्ग अन्तरगत भारदह बरमझियाको बीचमा रहेको महुली पुल समेत जोखिममा परेको छ । 

निरन्तरको वर्षाले सप्तकोसी नदीमा जलस्तर अत्यधिक रुपमा बढन थालेको छ । यो समाचार तयार पार्दा सम्म सप्तकोसी नदीवाट कोसी ब्यारेज भएर प्रति सेकेन्ड २ लाख ३३ हजार ६ सय क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाब भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी दानवहादुर कार्कीले जानकारी दिए ।

पानीको बहाब बढेपछि ब्यारेजका ३३ वटा ढोका खोलिएको कार्कीले जनाए । जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु केही बेर अघि प्रभावित क्षेत्रको स्थिती बुझन सदरमुकामवाट ग्रामिण क्षेत्र तर्फ लागेका छन् । 


जिल्लाका प्रायजसो सबै गाउमा वर्षाको पानी र बिभिन्न खोलाको बाढीले समस्या उत्पन्न भएको छ । पानी पर्न नरोकिएकाले स्थानीयहरु त्रासमा छन् । कान्तिपुरमा समाचार छ ।  

अन्य समाचारहरु