अर्घाखाँचीका ६ स्थानीय तहमा आजै राती १० बजेदेखि मतगणना शुरु गर्ने तयारी

अर्घाखाँचीका ६ स्थानीय तहमा आजै राती १० बजेदेखि मतगणना शुरु गर्ने  तयारी

अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाभर स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि आजै साँझदेखि मतगणना सुरू हुने भएको छ। जिल्लामा आजै राती १० बजेदेखि मतगणना शुरु गर्ने गरि तयारी गरिएको छ । 


 जिल्लाभर स्थानीय तह निर्वाचनमा बिहानदेखिनै उत्साहपूर्ण मतदान भइरहेको छ। जिल्लाभर मतदान शान्तिपूर्ण ढंगले भएको छ। मतदानस्थलमा मतदाताहरु बिहान ७ बजेखि मतदान गरिरहेका छन्।


उता जिल्ला निर्वाचन कार्यालयले आज शुक्रबार साँझ मतदान सकिएलगत्तै जतिसक्यो छिटो मतगणना कार्यको थालनी गर्ने जनाएको छ। मतदान स्थलबाट निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका आइपुगेको एक घण्टाभित्र गणना शुरु गरिने छ । मतपेटिका आएपछि पनि केही प्राविधिक र कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।

जिल्लाका ६ स्थानीय तहमा शुक्रबार रातिदेखि नै मतगणना थालिनेछ। मतगणना निर्देशिका २०७९ अनुसार निर्वाचन अधिकृतको कार्यालय वा गणनाका लागि तोकिएको स्थानमा सबै मतदान स्थलबाट मतपेटिका आएपछि मात्रै गणना सुरु गर्नुपर्नेछ।


जिल्लाभर ९६ वटा मतदान स्थलहरुमा स्थानीय तह निर्वाचको लागि आज शुक्रबार बेलुका ५ बजेसम्म मतदान हुँदैछ।

सन्धिखर्क ९ नम्बर वडाको मतदान केन्द्रमा १ घन्टा केहि विवादका कारण रोकिए मतदान पुन सुचारु भएको थियो ।

जिल्लाभर एक मतदान स्थल बराबर १२ देखी २० जना सुरक्षाकर्मी हुने गरी दुई हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । 

३ नगरपालिका र ३ गाउँपालिका गरी ६ वटा स्थानीय तहहरु रहेको अर्घाखाँचीमा ९६ वटा मतदान केन्द्र छन् भने १ लाख ६३ हजार ८ सय १५ मतदाता छन् । जिल्लामा स्थानीय तहको निर्वाचनमा ७९३ जना उम्मेद्वारले प्रतिस्पर्धा गर्ने छन् ।

संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तह निर्वाचन भएको हो। निर्वाचनमा १८ वर्षदेखि बृद्धबृद्धासमेत मतदान गरिरहेका छन्। केही त अक्सिजनसमेत बोकेर मतदानमा सहभागी भएको देखिन्छ भने केही अरुको सहायतामा मतदान प्रकृयामा भाग लिएका छन्।

२०७४ मा भएको निर्वाचनमा जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल जेठ ५ मा देखि सकिँदै छ। जेष्ठ नागरिक, दृष्टिविहीन नागरिकहरु आफ्ना जनप्रनिनिधि चुन्न तयार छन्। 


कसरी हुन्छ मतगणना ?

मतगणनाका लागि निर्वाचन अधिकृतले मतदानको अघिल्लो दिन नै गणना हुने स्थल र समय तोकेर सूचना प्रकाशित गर्नुपर्नेछ।

गणनास्थलमा मतपेटिका जम्मा भएपछि उम्मेदवार वा दलका प्रतिनिधिलाई राखेर मुचुल्का तयार गर्नुपर्नेछ। बहुसंख्यक उम्मेदवारको प्रतिनिधि उपस्थित नभएमा गणना कार्य सुरु गर्न मिल्दैन।

मतगणना सुरु भएको मुचुल्का गरिसकेपछि निर्वाचन अधिकृतले उपस्थित उम्मेदवार वा निजको प्रतिनिधिको रोहबरमा मतपत्र रहेको मतपेटिकाको मतगणना गर्न लागिएको मतपेटिका खोलिएको वा फोरिएको छ, छैन देखाउनुपर्छ।

त्यस्तै, मतपेटिकामा मतदान केन्द्रको नाम, सुरक्षणशील नम्बर र मतपेटिकाको क्रम उल्लेख गरिएको छ, छैन त्यो पनि यकिन साथ देखाउनुपर्छ।

निर्वाचन अधिकृतले प्रतिनिधिको रोहबरमा मतपेटिका जाँच गरिसकेपछि मतपेटिका जाँच गरेको मुचुल्का तयार गर्नुपर्नेछ। मुचुल्का गर्दा मतगणनाको काममा खटाएको कर्मचारी, उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधि वा मतगणना प्रतिनिधिलाई हस्ताक्षर गराइनेछ।


मतपेटिकाको जाँच गर्दा कुनै कैफियत देखिएमा मुचुल्कामा सोही व्यहोरा खुलाई त्यस्तोमतपेटिका सुरक्षित स्थानमा राख्नु पर्ने र कैफियत नदेखिएको मतपेटिकाको मतगणना कार्य समाप्त भएपछि कैफियत देखिएका मतपेटिकाको सम्बन्धमा आवश्यक सहमति कायम गरी मतगणना गर्ने दायित्व निर्वाचन अधिकृतको हुनेछ।

गाउँपालिका वा नगरपालिकाको निर्वाचनको मतगणना गर्दा प्रत्येक वडाको मतगणना छुट्टाछुट्टै गर्नुपर्नेछ। तर, एउटै वडामा एकभन्दा बढी मतदान केन्द्र कायम भएर मतदान भएको अवस्थामा वडाको कम्तीमा दुईवटा मतदान केन्द्रको मतपेटिका एकै ठाउँमा मिसाई मात्रै गणना गर्नुपर्नेछ।

मतगणना सुरु गरेपछि नसकेसम्म विशेष परिस्थितिमा बाहेक स्थगित नगर्न आयोगले निर्देशन दिएको छ। यदि स्थगित नै गर्नु परेमा औपचारिक रूपमा सूचना निकाल्नुपर्ने र त्यसको जानकारी दिनुपर्नेछ।

गणना गरिसकेपछि आएको परिणामलाई निर्वाचन अधिकृतले तोकिएको ढाँचामा माथिल्लो निकायमा पठाउने र सार्वजनिक गर्नुपर्छ। 

अन्य समाचारहरु