ज्ञान (विचार)

ज्ञान (विचार)

पिताम्बर बन्जाडे

हामी सवै ज्ञानको खोजीमा छौं । ज्ञान अनन्त प्रक्रिया हो । ज्ञान ज्योती हो ,उज्यालो तर्फको यात्रा हो । अज्ञान अँध्यारो तर्फको यात्रा हो, भ्रम हो । भौतिक ज्ञानबाट भौतिक विकास भएको छ , आविष्कारहरू भएका छन् , जुनकुराहरू हामी प्रतक्ष अनुभव गरिरहेका छौं । अर्को अध्यात्मिक ज्ञान छ जुन मानिसको विचार , भावना र सोंचाइसंग सम्वन्धित छ । भौतिक ज्ञान चाही, प्रयोग , परीक्षण , निरिक्षण र मूल्यांकनबाट प्रतक्ष गोचर हुन्छ । अध्यात्मिक ज्ञानलाई सजिलै प्रत्यक्ष गोचर गर्न सकिदैन । मानिसको व्यवहारमा आउने सकारात्मक अपेक्षित परिवर्तनको माध्यमबाट महशुस गर्न सकिन्छ ।

अध्यात्मिक ज्ञानका सन्दर्भमा एउटा विचार उल्लेख गरिएको रहेछ । जवसम्म मानिसमा गुनासो रहीरहन्छ तवसम्म ज्ञानको प्रवेश हुनसक्दैन । जस्तो कि ! एउटा बोतलमा पानी भरिएको छ भने हामी त्यसमा तेल भर्न सक्दैनौ , जव बोतलबाट पानी हटाएर खाली गर्छौं तव मात्र त्यो बोतलमा तेल भर्न सक्छौं । हाम्रो मनमा धेरै गुनासाहरू भरीएका छन् ;

जस्तो कि"; यसो गरेको भए ..; उस्तो भएको भए ..; मैले धेरै गरें ; अरुले गरेनन् ; मैले जस्तो अरुले बुझेको भए ; मैले जति गरे पनि जस पाइन ; म सवैलाई राम्रो होस् भन्ने चाहन्छु ; अरु कुभलो मात्र चाहन्छन् । "

हामी खोंट लगाउन खप्पिस हुन्छौं ; अरु कुरामा निष्कृय भए पनि खोंट देखाउनु परे जागरुकता देखाइहाल्छौं ; जेट विमानलाई पनि देख्ने वित्तिकै एउटा खोंट लगाइहाल्छौं , यस्तो भएको भए ...; अरुले गरेको राम्रो काम भित्री मनले राम्रो हो भन्ने लागे पनि हाम्रो चेतन मनले राम्रो भन्न सक्दैन किनभने त्यसलाई राम्रो भन्दा उसको इज्जत बढ्छ , म ऊ भन्दा सानो हुन्छु भन्ने लाग्छ । हामी यो सोच्दैनौ कि उसको इज्जत बढ्दा हामी सवैको इज्जत बढ्छ र मेरो पनि इज्जत बढ्छ । अक्षरहरू पढ्न सकेनौ भने तुरुन्त भनीहाल्छौं , कति साना अक्षर लेखेको होला? मेरो दृष्टीदोष छ ;

मेरो चस्माको पावर मिलाउनु पर्छ भन्ने कुरातिर सोंच्दैनौं । ती भावहरूबाट हामी आफू सुखी र खुसी हुन सकेका छैनौं र अरुलाई पनि सुखी खुसी पार्न सकेका छैनौं ।

जव हामी आफ्नो आत्म समीक्षा गर्छौं ; " मैले राम्रो काम गर्नु पर्छ , "राम्रो सवैको लागि राम्रो हुन्छ , फूलको विरुवा रोपे पछि अवश्य फूलै फुल्छ; विगतमा मैले जे सोंचे, जे भुल गरें , अव त्यसबाट पाठ सिकेको छु, फेरि भुल हुन दिने छैन ; जे समस्याहरू देखिएका छन् , ती मेरै सोंचाइ र चिन्तनका कारण भएका हुन् ," भन्ने ज्ञान आउँछ , त्यसवेला हामी सही अध्यात्मिक ज्ञान तर्फ प्रवेश गर्न सक्छौं ।

अध्यात्मिक ज्ञान व्यक्ति , समाज , पार्टी , सरकार सवैका लागि महत्वपूर्ण छ । भौतिक ज्ञानबाट भौतिक विकास भए पनि त्यसको प्रयोग अध्यात्मिक ज्ञानको माध्यमबाट व्यवहारमा प्रयोग गरियो भने मात्र त्यो फलदायी, सुखदायी हुन्छ । वस्तु स्वयंमा असल वा खराव हुदैन, त्यसको प्रयोग कसरी गर्छौ भन्नेमा भर पर्छ ; जस्तो कि ; मादक पदार्थहरू छन्, ती औषधीजन्य प्रयोगमा पनि काम आउँछन् तर त्यही पदार्थहरू मानिस सिधै प्रयोग गर्दा त्यसले जीवन नै नष्ट भ्रष्ट पारिरहेको छ ।

हाम्रो देशको राजनैतिक , सामाजिक , आर्थिक, भौतिक पक्षतर्फ हेर्ने हो भने पनि हामी भौतिक विकास केही हदसम्म गर्न सकेका छौं तर त्यसको प्रयोग अध्यात्मिक चेतको माध्यमबाट गर्न नसक्दा नै धेरै समस्याहरू भयावह भएका छन् ।

हामी परिवर्तनका लागि धेरै आन्दोलन गर्यौं ; जुनै पनि आन्दोलनको परिणाम सम्झौतामा गएर टुंगिएका छन् । जस्तो ; २००७ साल , २०४७ साल , २०६२/ ६३ साललाई लिन सकिन्छ । हो ; सम्झौता गर्नु परिस्थितिजन्य आवस्यकता पनि हुन सक्छ तर त्यहाँ निहित स्वार्थहरू गासिएको प्रत्यक्ष देख्न सकिन्छ ।

माथि भनिए जस्तै बोतलको पानी खाली गरेर तेल भर्न सकेनौं ; पानीको बोतलमा तेल हाल्यौं । अलिअलि तेल त्यही पानीमा मिसियो अनि व्यवहारमा तेल ठानेर तताउन थाल्यौं , तेल पट्केर बाहिर गयो , पानी उड्यो वाफ बनेर ; हाम्रो उपलव्धि प्राय: व्यर्थ भयो ।
आज फेरि त्यही गुनासो ;" यो सव मैले मेरो पार्टीले गर्न चाहेको थियो ; फलानोले वा फलानो पार्टीले गरेन; गर्न दिएन। म वा मेरो पार्टीको जस्तो गहिरो चिन्तन अरुको भएन ; मैले धेरै बुझेको छु; अरुले बुझेकै छैनन् ," भन्ने भावहरु सर्वत्र पाइन्छन् । विगतमा धेरै भुलहरू भए ; कहिले राजासंग घाँटी पनि जोड्यौं , कहिले आफ्नो अनुकुलताका लागि आधा सच्चियो पनि भन्यौं ; कहिले सिमित उपलव्धिको रक्षा गरेर अँगाडि बढ्ने कुरा गर्यौं ; ती सव आफ्नो निहित स्वार्थका उपज थिए । यदि थिएनन् भने , भन्न सक्नु पर्थ्यो ; मानिसबाट गल्ती हुन्छ , हामी गल्ती गरेका थियौं । जव हामी पक्ष विपक्ष एउटै डुंगामा यात्रा गर्दै थियौं । त्यसलाई समयमै सच्च्याउन सकेनौ , अव यो भूल हामी गर्दैनौं , हामी हाम्रो बोतलमा भएको पानी खाली गर्न तयार छौं ; सवैले मिलेर यसमा शुध्द तेल भरौं भन्ने जागरण , प्रतिवध्दता , इमान्दारीता देखाउन सक्ने हो भने अवश्य हामी, हाम्रो समाज र देशलाई नै सकारात्मक रुपान्तरण गर्न सक्ने छौं ।
अस्तु: