खेताला (कविता )

खेताला (कविता )

पिताम्बर बन्जाडे
 
भोट यता चाहिने ,
भोजन यतै चाहिने ,
मान सम्मान् यता चाहिने ,
भाषण यतै गर्नु पर्ने ,
अनि भजन उताका गाउने ,
खेतालै खेतालाको
रजाइँ छ मुलुकमा ,
जनता रनभुल्लमा छन् !
र जनता प्रश्न गर्दै छन् ?
किन अर्कैको खेताला भयौ ?

हामी तिमीलाई मालिक
बनाएर पठाएका थियौं ।
नेता बनाएर पठाएका थियौं ।
नीति निर्माता बनाएर पठाएका थियौं
शक्ति सम्मान दिएर पठाएका थियौं
तिमी किन अर्कैको खेताला भयौ ?
तिमी देशकै खेतालो भएको भए ,
हामी तिमीलाई सम्मान गर्ने थियौं ।
साँच्चै अर्कैको खेताला को को हौ ?
मखुण्डो उतारेर आऊ !
जनता चिन्न चाहन्छन् ।

हामी तिमीहरूलाई खेताला
कहिले भनिरहेका छैनौं ।
तिमीहरू आफू आफू एक अर्कालाई ,
खेताला भन्छौ ।
शायद , "सर्पको खुट्टा सर्पले देख्छ ," होला त्यसैले तिमी खेतालाहरूलाई थाहा छ र देख्छौ
होला र त तिमीहरू एक अर्कालाई ,
खेतला भन्छौ र त्यस्तै काम पनि गर्छौ ।

एउटा अर्कोलाई भन्छ ,
दक्षिणको खेताला ।
अर्को उसलाई भन्छ ,
उत्तरको खेताला ।
कोही भन्छ ,पश्चिमको खेताला ।
यहाँ खेतालाहरू विनामिहीको ,
दाइँ लगाइरहेछन् ।
रजाइँ गरिरहेछन् ।
खेतालाहरू धान सवै
लुटालुट गरिरहेछन् ।
विचरा ! जनताहरूलाई ,
भुस मात्र छर्छन् ।
गरीव वेसहाराहरू ,
रोग र भोकले मर्छन् ।

आफ्ना चेलीहरूको
विचल्लीको प्रवाह छैन ।
मालिकका चेलिहरूको
चिन्ता छ खेतालाहरूलाई ।
आफ्नो भूमिको चिन्ता छैन ।
मालिकको भूमिको ,
चिन्ता छ खेतालाहरूलाई ।
यहाँ आफ्नो खेत
नरोपिएको चिन्ता छैन ।
मालिकको खेत नरोपिएको ,
चिन्ता छ खेतालाहरूलाई ।

फेरि पनि जनताहरू प्रश्न गर्दैछन् ?
हे खेतालाहरू !
तिमीहरू आफ्नै मलुकको मालिक कहिले बन्छौ ?
तिमीहरू यस मुलुकको ,
स्वमित्व कहिले लिन्छौ ?
यो मुलुकको स्वाभिमानको ,
रक्षा कहिले गर्छौ ?
कहिले सम्म वेतुकका ,
भ्रमहरू दिन छाड्छौ ?
तिमीहरू कहिले ,
साँच्चै यस मुलुकका सच्चा
पूज्य खेताला हुन्छौ ?
जनताका हुन्छौ ? र
नेपाल आमाका सन्तान हुन्छौ ?
अस्तु: