नेपालमा अटिजमको समस्या | एक प्रतिशत बालबालिकामा जन्मजात अपाङ्गता

नेपालमा अटिजमको समस्या | एक प्रतिशत बालबालिकामा जन्मजात अपाङ्गता

सरोज ढुङ्गेल    गोरखापत्र 

काठमाडौँ, चैत २० गते । जन्मजात अपाङ्गता हुने अटिजम समस्याबाट एक प्रतिशत नेपाली पीडित छन् । नेपालमा अटिजमको समस्या भएका बालबालिकाको आधिकारिक तथ्याङ्क नभए पनि विश्व स्वास्थ्य सङ्गठनका अनुसार कुल जनसङ्ख्याको एक प्रतिशतमा अटिजमसम्बन्धी समस्या रहेको छ । सरकारीस्तरबाट पनि अटिजम समस्यालाई वास्ता गरिएको छैन ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले स्वास्थ्य मन्त्रालयसँग अटिजमसम्बन्धी छुट्टै विभाग नरहेको जानकारी दिँदै अटिजम भएका बालबालिकालाई स्वास्थ्य, शिक्षादेखि हेरचाह अभिभावकले नै गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।

अटिजम केएर नेपाल सोसाइटी नेपालकी अध्यक्ष डा. सुनिता मलेकु अमात्यले अटिजम समस्या भएका दुई हजार पाँच सय बालबालिका सम्पर्कमा रहेको जानकारी दिनुभयो । विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार नेपालमा दुई लाख ५० हजार अटिजम समस्या भएका बालबालिका रहेको भन्दै उनीहरू हुर्र्कंदै जाँदा सम्पूर्ण रेखदेख अभिभावकले गर्नुपर्ने बताउनुभयो ।

अटिजमको समस्या लिएर हरेक वर्ष १६० भन्दा बढी अटिजम केएर नेपाल सोसाइटीमा पुग्ने गरेका छन् । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलको अध्ययनअनुसार पनि ५४ जनामध्ये दुई जना व्यक्तिलाई अटिजम भएको तथ्याङ्क सार्वजनिक भएको छ । डा. अमात्यका अनुसार अटिजमलाई पूर्ण रूपमा निको गर्न नसकिने भएकाले यसलाई रोगको रूपमा नभई अपाङ्गताको मान्यता दिइएको बताउनुभयो ।

अटिजम हुनुका कारण वंशाणुगतलाई आधार मानिन्छ तर हालसम्म पनि अटिजमको मुख्य कारण पत्ता लाग्न सकेको छैन । अटिजम भएको बच्चामा सञ्चार गर्न नसक्ने, बच्चाले आँखामा आँखा नजुधाउने, एक्लै बस्न रुचाउने, बोलेर आफ्ना कुरा व्यक्त गर्न नसक्ने, शब्द वा वाक्य दोहो-याउने र फरक ढङ्गबाट स्नायुजन्य प्रतिक्रिया देखाउने, खेलौनालाई नखेलाई बस्ने, साना बच्चाहरूसँग नखेल्ने, एकोहोरो हुनेजस्ता लक्षण देखिन्छन् ।

अटिजम भएका बालबालिकाले साथीलाई धकेल्ने, कुटपिट गर्ने, एउटै खेलौनासँग धेरै बेरसम्म खेलिरहने वा खेलौनालाई खेलौनाअनुसार नखेल्ने, कुनै क्रियाकलाप गर्दा एकोहोरिने, आफूलाई चोटपटक लागेको थाहा नपाउने, पढाइ लेखाइमा ध्यान केन्द्रित नहुने, बोलेर आफ्ना कुरा व्यक्त गर्न नसक्ने, मनमा लागेको कुरा भन्न नसक्ने खालका हुन्छन् । उहाँले अटिजम भएका बालबालिकाका लागि सबैभन्दा प्रभावकारी उपचार भनेको उनीहरूमा रहेको कमजोरी पक्षलाई सञ्चार र सामाजिक बुझाइलाई ध्यानमा राखी व्यावहारिक सिद्धान्तका आधारमा शिक्षा प्रदान गर्न‘ रहेको बताउनुभयो ।

डा. अमात्यले अटिजमका लागि औषधि उपचार नभए पनि विशेष लक्षणलाई उपचार गर्न विभिन्न थेरापी गर्ने गरिएको बताउनुभयो । त्यस्ता बालबालिकालाई खेलका माध्यमबाट धेरै कुरा सिकाउने गरिएको छ । अटिजमको समस्या बालिकामा भन्दा बालकमा बढी देखिने गरेको छ । बच्चालाई अटिजम भए पनि ढिला पत्ता लाग्ने गरेको छ र यसले गर्दा समाधान कठिन हुने गरेको छ । डा. सुनिताले सामान्यता दुईदेखि अढाइ वर्षको अन्तरमा अटिजम पत्ता लगाउन सकिने बताउनुभयो । यसैबीच शनिबार ‘समावेशी शिक्षा’ भन्ने मूल नाराका साथ अटिजमसम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गरी विश्व अटिजम जनचेतना दिवस मनाइएको छ । हरेक वर्ष अप्रिल दुई तारिखमा विश्व अटिजम जनचेतना दिवस मनाउने गरिन्छ ।

अन्य समाचारहरु