ताली दिऊँ कि गाली दिऊँ खै ! (कविता)

ताली दिऊँ कि गाली दिऊँ खै ! (कविता)
 
पिताम्बर बन्जाडे

तीसौं वर्ष पर्खाइ रनी,
चुनाव आउँदा फुर्काइ रनी,
कुर्सीमाथि पुगेपछि,
आफ्नै दुनो सोझाउनेलाई,
भुइँमै तारा खसाउनेलाई,
ताली दिऊँ कि गाली दिऊँ खै !
वाचा कसम विर्सनेलाई ।

भ्रष्टाचारको तुँवालो नि ,
चीसो हावा देख्ने लाई,
कमिशनमा डुवदा पनि,
मै छु शुध्द भन्नेलाई ,
भुइँमै तारा खसाउनेलाई ,
ताली दिऊँ कि गाली दिऊँ खै !
वाचा कसम विर्सनेलाई ।

नदीनाला बेच्दै जानी ,
सिमा मिच्दा निदाई रनी,
राष्ट्रवादी चर्का नारा
विचविच घन्काउनेलाई,
भुइँमै तारा खसाउनेलाई,
ताली दऊँ कि गाली दिऊँ खै !
वाचा कसम विर्सनेवाई ।

भ्रमजाल छर्नेलाई,
आफ्नै तुम्बा भर्नेलाई,
स्वार्थ पूर्ति गर्नु परे ,
उत्तर दक्षिण धाउनेलाई
भुइँमै तारा खसाउनेलाई ,
ताली दिऊँ कि गाली दिऊँ खै !
वाचा कसम विर्सनेलाई ।

शिक्षा सास्थ्य झोलाभित्र ,
नदीनाला झोला भित्रै ,
झोलैसित मिल्काइ दिऊँ कि ,
नातागोता पोस्नेलाई ,
भुइँमै तारा खसाउनेलाई ,
ताली दिऊँ कि गाली दिऊँ खै !
वाचा कसम विर्सनेलाई ।

यता आउँदा भ्याउँभ्याउँ गर्ने ,
उता जाँदा म्याउँम्याउँ गर्ने ,
शक्ति सत्ता जोगाउन ,
होलीवाइन घुट्क्याउनेलाई,
भुइँमै तारा खसाउनेलाई,
ताली दिऊँ कि गाली दिऊँ खै !
वाचा कसम विर्सनेलाई ।

शक्ति सत्ता चाकरीलाई,
राष्ट्रसेवा ठान्नेलाई,
लेख्दा एउटो भन्दा अर्को ,
गर्दा उल्टै गर्नेलाई ,
भुइँमै तारा खसाउनेलाई,
ताली दिऊँ कि गाली दिऊँ खै !
वाचा कसम विर्सनेलाई ।

ठूलाठूला भाषण दिनी ,
चोखोचाँडो बन्नलाई ,
सहमती गरिहाल्नी ,
भाग विलो खानलाई ,
चुस्दाचुस्दै देशलाई ,
खोस्टैखोस्टो पार्नेलाई ,
भुइँमै तारा खसाउनेलाई ,
ताली दिऊँ कि गाली दिऊँ खै !
वाचा कसम विर्सनेलाई ।।
अस्तु: