नेपाली सभ्यता र संस्कृति रक्षात्मक परिस्थितिमा

नेपाली सभ्यता र संस्कृति रक्षात्मक परिस्थितिमा

विजुला रायमाझी
सामाजिक अभियान्ता

नेपाल हाम्रा पुर्खाहरुले कडा परिश्रम र बहादुरीका साथ सिर्जना गरेको देश हो । मातृभूमिको रक्षार्थ आफूसँग जे छ त्यही हातमा बोकेर, पिठ्युमा बच्चा बोकेर पानी खान नपाएर पसिना पिएर जोगाएको भूमि हो । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक स्वतन्त्र मुलुक भनेर पूर्खाहरुले चिनाएको देश हो । प्राकृतिक रुपले अनुपम मानिने, हिमाल, पहाड र तराईले सजिएको देश हो ।


विश्वको सर्वोच्च शिखर सगरमाथाको देश, विविधतामा एकताको संस्कृति बोकेको सामाजिक संरचना भएको देश थियो । हामी नेपालीहरु जहाँनीय राणाशासन, एकदलीय पञ्चायती शासन भोगेर जनताको अधिकार सुनिश्चिताको लागि लामो समय अधिकारको लडाँईमा सामेल भयांै । जनताहरुका वाक स्वतन्त्रता, शैक्षिक, मताधिकार,वैयक्तिक स्वतन्त्रता, आयआर्जन गर्न देशको कुनै पनि कुनामा बसेर आफ्नो गतिविधि सञ्चालन गर्न पाउने व्यवस्थाको लागि हाम्रा अग्रजहरुले कति मेहनत गरे होलान् ? यत्तिकै आजका सुविधा पाएका होइनांै होला । हाम्रा अग्रजहरुले कतिले ज्यान गुमाए, कति देश निकाला भए, कति जेल भित्र सड्े, कतिले सामाजिक अपमान सहे, कतिले सिन्दुर पुछे, कतिले काख रित्याए, कतिले मानसिक सन्तुलन गुमाए, यो गणना गरी साध्य छैन् । शरिरमा लागेको चोट मलमले ठिक होला मनमा लागेको चोट कसरी निको पार्दै होलान ती दुःख गरेको जेष्ठ नागरिक र देश निमार्णका अग्रजहरु? यो प्रश्नको जवाफ कसले दिन्छ आज? आज यो वर्तमान परिस्थीतिमा हामी कहाँ कहाँ पुगियो? सगरमाथाको उचाँइसँग तुलना गरिएको नेपाली गौरव कहाँ पु¥याउदैछांै ? नेपाल आमा र धर्ती माताप्रति के कस्ता आदरभाव र व्यवहार प्रर्दशन गर्दछांै ? हामी हिजो प्रतिबन्धित रहेको नागरिक स्वतन्त्रतालाई कुन रुपमा प्रयोग गर्दैछौ ? कसको लागि कसरी यो स्वतन्त्रता प्राप्त भएको हो भन्ने हेक्का राखेका छौकी छैनांै ? यो देश निमार्ण र यो स्वतन्त्रताका लागि विरुवा रोपेका हाम्रा अग्रज अझै बाँकी छन् । सबै त मरेका छैनन् नी? उनीहरुका कानले समाचार सुन्न सक्छन् । आखाँले देख्न सक्छन् । मुखले बोल्न सक्छन्  तर उनीहरुका हात खुटटा कमजोर भए होलान् ।

कसैको मस्तिष्कले काम गरेन होला ? कसैका हातखुट्टा कमजोर भए होलान् । कसैको कुरा सुनिएन होला । उनीहरुले स्रोता पाएनन होला, पाठक पाएनन् होला तर उनीहरूको विचार मरेको छैन । उनीहरूको स्वाभिमान हराएको छैन । उनीहरूको नैतिकता गुमेको छैन, टुलुटुलु बिस्तारामा बसेर छोरानाति पनाति कतिबेला आउछ र कुरा सुनाउँछु भनेर पर्खिरहेका छन् होला । छोरा बुहारीको इज्ज्यत लुटिएको हेर्नु छैन उनलाई अपमानित भएर कुना बसेर रोएको हेर्नू छैन । उनलाई प्यास लाग्दा तातोपानी र भोक लाग्दा जाउलो लिएर कोठामा पुग्ने छोरी बुहारीको मनिलो अनुहार र झर्किलो आवाज सुन्न छैन उनलाई, कानमा रेडियो राखेर सुन्ने अग्रजलाई रात दिन बलात्कार र हत्याका घटना सुनेर मर्न मन छैनउनलाई, भ्रस्टाचार र अनियमितताले आकाश चुमेका घटनाले ती अनकन्टार पहराबाट कुलो लगेर पानी सिचाई गरी बालबच्चा पालेका ती वृद्ध बाबुआमालाई कस्तो भावना आउँछ होला आज?  आज सम्पन्न भएका छौं । घरघरमा पानीका धारा बगाएका छौं । यति मात्र हैन कोठाकोठामा बिजुली र पानी पुराएका छौं । घरघरमा बाटो पुर्याएकाछौं । महिनौं लागेर नुन बोकेर खुवाएका बाबु आमालाई एक्लै घरमा छोडेर हामी सहर पसेका छौं । पैदल होइन, घरमा गाडी भित्र्याएकाछौं । हाम्रा बाबुआमा सासु ससुराले पसिना बगाएका ती सम्मा पाटा र फाँटहरू बेचेर हामी मिठो खाने, राम्रो लगाउने, सभा संम्मेलनमा धाउने, फोटो खिचाउने, हजारौं हजार लाईक र कमेन्ट पाउने होडबाजीमा सामेल भएका छौं । ती बाबुआमाको हत्केला, कुर्कुच्चा र निधारका घेरा र ठेला अनि गभभरिका आँशु हामी पढ्दैनौ । हामी ठूला ठूला विद्वान र लेखकहरुका पुस्तक पढेका छौं । विद्वान कहलिन्छौ । भित्तामा २ र ४ वटा विषयका डाक्टरी सटिपिकेट र  सैयौं हजारौं प्रमाणपत्रहरु सजाएका छौं । सम्मान र उपहारले घर भोरेका छौं तर हाम्रो उर्वरभूमि बाँझो छ, करेसाबारीमा धनिया छैन, एउटा गोलभेँडाको झाल छैन, आयातित महंगा(महंगा सामान खरिद गरेर खान्छौँ । देशभित्रका कलकारखानामा विदेशी आएर काम गर्छन र नेपालका जडीबुटी र महत्वपूर्ण उत्पादनको कच्चापदार्थ आफ्नो देशमा पठाउँछन । कमसल उत्पादन नेपाल र राम्रो उत्पादन युरोप अमेरिका बेलायत पुर्याउँछन तर यो कुरा हाम्रो देशका युवाहरूलाई थाहा छैन । उनीहरु त बाबुआमाले कमाएको जग्गा धितो राखेर विदेश जान्छन् । विदेशी संस्कार संस्कृति र सामान लिएर भित्रिन्छन् । श्रीमतीहरुलाई महंगा मोबाइल र पैसाको बिटो बुझाउँछन् । खातामा धन थुपारीदिन्छन् । उनैले भनेको कुरामा बाबुआमासँग छुट्टिएर श्रीमती लिएर सहर पस्छन् । यो हाम्रो आधुनिक सभ्यता भित्र परेको छ । त्यसो गर्नु बेठिक भनेको होइन, गर्न पर्छ तर जन्म दिने बाबुआमाको निधारमा परेका रेखा र उनीहरूको भावना पनि बुझ्दा राम्रो हुन्छ । बूढाबूढीको शेखपछि सबै आफ्नै हातमा छ बाचुन्जेल उनीहरुको दिल खुसी हुन सके उनीहरु मरेपछि पिण्ड पानी त आफ्नो गच्छेअनुसार लोक बुझाए भइहाल्छ । मरेपछि गरिने अन्तिम संस्कार भनेको बाचेकाको हैसियत अनुसार आफूलाई सामाजिक बनाउन गरिने कुरा हुन् । मरिसकेको मानिसले पाउने कुरा कदापि हुँदैन तर हाम्रो सामाजिक परम्परा वैदिक कालदेखि चलिआएको रीतिरिवाज संस्कार र संस्कृतिहरूलाई चटक्क छोड्न गाह्रो पर्दछ ।आधुनिक जमानामा परिमार्जित गर्दै व्यवहारिक र भावनात्मक तरिकाले अघि बढाउनु राम्रो हुन्छ । स्वास्थ्यका दृष्टिले पनि ध्यान दिन जरुरी छ । अहिलेको आधुनिक र वैज्ञानिक युगमा पनि वास्तविक कुरा नबुझी अन्ध भक्त भएर लाग्नु पनि समय नचिनेको ठहर्छ भने आधुनिकताका नाममा उहिलेका कुरा खुइले भन्दै बाहिर देखाउन मात्र गर्ने, भित्र विधि र विधान मिचेर गरेजस्तो गर्ने बानी झन् नराम्रो हो । गर्नुछ भने श्रद्धासाथ गर्ने आफ्ना मान्छेलाई मनमा राखेर आत्मसात गर्दै गर्ने, नगरे नगर्ने माया सेवा भावना देखावटी गर्नुको कुनै अर्थ छैन ।

आज हामी नेपाली पनि सूचना र सञ्चारको सुविधाले विश्वका हरेक कुनामा पुगेका छौं । विभिन्न देशको संस्कार संस्कृति विकास सुविधा त्यस देशको अर्थतन्त्रको स्रोत हेर्ने बुझ्ने मौका पाएका छौं । आफ्नो ज्यान र परिवारलाई पाल्ने माध्यम बनाएका छौं । देशको अर्थतन्त्रमा रेमिटान्सले टेवा पुर्याएका छौं । नेपाललाई विश्वका कुना कुनामा चिनाएका छौं । बाहिर भएका नेपालीलाई थाहा छ नेपालको माया कति लाग्छ भनेर ।आफ्नो देशमा आफ्नो श्रम नबिकेर गएकालाई त नेपालप्रति झनै माया छ, परिवारसँग बस्ने, रमाउने भन्ने कुरा मनको लड्डु घिउ सति खाए जस्तै हो । नेपालको सुविधा पाउँदा पाउँदै जागिर पाउँदा पाउँदै लत्याएर यो देशलाई बनाउनको सट्टा आफूमात्र बन्न मस्तिष्क पलायन भएर जाने व्यक्तिहरु देशका घातक हुन् । आफ्नो मस्तिष्क, धन, सिपलाई आफ्नो भूमिमा पोख्नुको साटो विदेशीभूिम बनाउन जानु भनेको देशलाई धोका दिनु हो भने अर्काथरी देश र जनता मुखमा जपेर रात दिन आफ्नो हित, पद, प्रतिस्ठा, धन मानको पछि परिरहने आफ्ना अगाडि अरु कोही नदेख्ने सधैं आफ्नै जित हुनुपर्ने अरुलाई सधै कमिला सम्झने  प्रवृत्ति मौलाउँदै गएको छ । आफ्नो पक्षमा बोल्ने मान्छेले जति गल्ती गरे पनि हुने यथार्थ बोलेर आलोचनात्मक सुझाव दिन खोजे सफाया गर्ने भौतिक, मानसिक रुपमा उसलाई पाखा लगाउने प्रवृत्तिले आज नेपालमा यो अवस्था सिर्जना भएको छ।  स्थायित्व हुन नसक्नु ,अग्रजले अथक संघर्ष गरेर ल्याएको लोकतन्त्रमा प्रतिक्रियावादी र प्रतिगमनकारीहरुले झ्यालको पर्दा उघारेर मौका हेरी रहेको अवस्था आउनु भनेको देश र जनताको लागि घातक कुरा हो । नेपालमा गणतन्त्र आयो भन्दै बिस्तारामा परेका बाबा आमाले बर्बर आँशु खसाल्नु भनेको आजका अगुवालाई धिक्कार्नु हो ।

अझ आमाको कोखबाट जन्मिएर दश धारा दूध खाएर हुर्कने, अर्काकी छोरी ल्याएर मोज गर्ने यही पृथ्वीमा बस्ने अनि यही धर्तिमाताको अपमान? विदेशीको इशारामा पद पैसाको निम्ति आमा दिदीबहिनी र छोरीलाई बेचेर रमाउने ? स्वतन्त्रताको नाममा मुखमा आएको बोल्ने संस्कार नेपालमा कहाँबाट भित्रिदैछ? के महिलाहरु पुरुषको सहायता बिना बाच्न सक्दैनन्? के महिलामा सोच्न सक्ने दिमाग छैन? महिलाको मस्तिष्क, रुद्रघन्टी, आखा ,मुख, नाक, सबै कमजोर छन् ? महिला सधैं झिँक्र्रो चाहिने लहरा मात्र हुन् ? मनोरञ्जनका साधन र बच्चा जन्माउने मेसिनमात्र हुन? भित्ताभरी योग्यताका प्रमाणपत्र सजाउन सक्नेले आफ्नो बोलीमा आदरभाव ल्याउन सक्तैनन् ? के ती प्रमाणपत्र किनेर ल्याएको वस्तु हो र ? जस्ता प्रश्नहरू आजभोलि जो कोहीले पनि गर्न थालेका छन् । नजानेका, नपढेका व्यक्तिहरु बरु विचार गरेर बोल्न थालेका छन् । शील स्वभाव मान मर्यादा संस्कार ती सबैमा सिपालु छन् । स्कुल कलेज र विश्वविद्यालयको उत्पादनले समाजिक मर्यादा बचाउन नसकेको हो भने यो देश कतातिर धकेलिदै जान्छ भन्ने प्रश्न उठेको छ ।

वाक स्वतन्ंत्रता भएको देशमा आलोचना र विरोध गर्न पाइन्छ पक्कै पनि । गलत कामको खण्डन गर्न पाइन्छ।  बाटो बिराएकोलाई कानुनले रोक्न सक्छ कुनै काल खण्डमा भएको गल्तीलाई सच्याउने बिधी र विधान  हुन्छ । राम्रो गरे इतिहासमा स्ंवर्ण अक्षरले पनि  लेखिन्छ । नराम्रो गरे भावी पुस्ताले समीक्षा गर्दै सच्याउन पाउँछ । यतिका विकल्प हुँदाहुँदै सडकमा ओर्लिएर बिबेक गुमाउनु भनेको देशमा राजनीतिक संस्कार विकास नहुनु हो ।

धन कमाएर ठूला महलमा बस्दैमा सभ्य भन्न मिल्दैन किनकि उनीहरूको कुकुरलाई गरिबका झुपडी नजिक र बाटोमा सौच गराउनु पर्दछ । उद्योग चलाएर मात्र हुँदैन, गरिब किसानको उत्पादनको भाउ तिर्न सक्नुपर्दछ । ठूलाठूला दार्शनिकका पुस्तक पढेर मात्र हुँदैन । एउटा पिडितको मन पढ्न सक्नुपर्दछ । शरीर सजाएर मात्र हुँदैन मन र बाणी सजाउन सक्नुपर्दछ । विकसित मुलुक भनिएका देशहरुले कसरी आफूलाई सजाएका छन् भन्ने भित्री कुरा बुझ्नुको सट्टा आफ्नो देशको मौलिक संस्कार संस्कृति सभ्यता सबै बेचेर त्यसबाट आएको डलरमा रमाउँदा   देशको यो हालत हुँदैछ । प्रकृतिले दिएको यो अपार शक्ति र श्रोतलाई नचिन्नु, सगरमाथाको उचाइलाई बुझ्न नसक्नु, हिमालको मुस्कानलाई नस्विकार्नु, तराईको भण्डारलाई जोगाउन नसक्नु, आफ्नो अग्रजलाई सम्मान दिन नसक्नु भनेको नेपाली मौलिक संस्कृति र सभ्यता रक्षात्मक स्थितिमा पुग्नु हो ।

यस्तो संक्रमणकालिन परिस्थितिमा आफूलाई आफैले समाल्दै अगाडि बढ्नुपर्छ । अर्काको मुख ताकियो भने के के बोल्न पर्छ बोलिदिनुपर्छ, के के बन्न पर्छ बनिदिनुपर्छ । आजका युवा पुस्ता अब अर्काको लट्ठी बनेर होइन आफ्नै खुट्टामा टिक्न सिक्नुपर्दछ ।आमाबुवा दिदी बहिनीहरु आफ्नो अस्तित्वको भिख माग्ने होइन आफै जोगाउन हिम्मत गर्नुपर्छ । समयले नेटो काटिसक्यों अब जुर्मुराउनु पर्दछ । हाम्रा पूर्खाको नासो नेपाली मौलिक संस्कार र संस्कृति हाम्रा अमूल्य सम्पत्ति हुन् । तिनलाई संरक्षण, संवद्र्धन र विकास गर्नु हाम्रो कर्तब्य हो ।यदि हामीलाई फल खाने मन छ भने विरुवा जोगाउनु पर्दछ । एउटा गीत छ ‘डाँफे नाँचेर फूल कहाँ फूल्छर हाँगै भाँचेर’। आजको सचेत वर्ग नेपाली सभ्यता र संस्कृति जर्गेनामा मन , वचन र कर्मले इमान्दारीपूर्वक लाग्न जरुरी देखिन्छ ।

The views expressed in this article are the author’s own and do not necessarily reflect Arghakhanchi.Com’s editorial stance.

अन्य समाचारहरु