लकडाउनको समयमा बाल-बालीकालाई घरमै कसरी शिक्षण गर्ने- भाग ३

लकडाउनको समयमा बाल-बालीकालाई घरमै कसरी शिक्षण गर्ने- भाग ३

श्रीकृष्ण भुसाल
सन्धिखर्क-१, अर्घाखाँची

प्रस्तुत लेख शृंखला कोरोना भाइरसको संक्रमणको कारण उत्पन्न Covid-19 रोगको रोगथामको लागि मुलुक लामो समयदेखि बन्दाबन्दीमा रहेको अवस्थामा विभिन्न ब्यबहारिक उपागमहरु पहिचान गर्दै कसरी घरैमा बाल-बलीकालाई शिक्षा प्रदान गर्न सकिन्छ भन्ने दिशामा मुखरित छ । त्यसैले यो शैद्धान्तिक विषय मात्र नभई अत्यन्तै ब्यबहारिक र गतिशील विषय पनि हो । परिस्थितिमा छिटो-छिटो आएको परिवर्तनले यसका आयामहरुलाई गतिशील बनाएको छ । अभिभावकबाट ब्यबहारिक तवरले विभिन्न ज्ञान, सीप र अनुभव ग्रहण गर्ने कुराले जीवन पर्यन्त शिक्षाका धेरैजसो उद्देश्यहरु पुरा गर्न त सहज नै हुन्छ तर विद्यालययीय शिक्षाले परिलक्षित गरेका तहगत, कक्षागत र विषयगत उद्देश्यहरु हासिल गर्न कठिन हुन्छ । अहिलेको परिस्थितिमा तत्काल विद्यालयहरु संचालनमा आउने कुनै सम्भावना नभएकोले औपचारिक शिक्षाका उपर्युक्त उद्देश्यहरु हाशिल गर्न बैकल्पिक तवरले औपचारिक पाठ्यक्रमलाई कार्यान्वयन गर्नकोलागी शिक्षाका सरोकारवाला हरुलाई दवाव सिर्जना भएको छ ।

तदनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि बैकल्पिक तवरले विद्यालययीय शिक्षालाई अघि बढाउन " बैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका, २०७७ "  अघि सारेको छ l तत्कालको यही आवस्यकतालाई बल पुगोस भनेर यस लेख शृंखलाको यो भागमा बैकल्पिक उपायहरु अबलम्बन गरी कसरी औपचारिक पाठ्यक्रमलाई परिपूरण गर्न सकिएला भन्ने बारेमा विमर्श गर्न खोजिएको छ ।  

बाल-बालीकाको पहिलो विद्यालयको रुपमा रहेको घरमै बैकल्पिक प्रवन्ध गरेर उनीहरुको सिकाईलाई कसरी निरन्तरता दिन सकिन्छ भनेर सम्पूर्ण विद्यालयहरुले आ-आफ्नो परिवेशको वारेमा अध्ययन गरि तत्काल निश्कर्ष निकाल्नुपर्ने परिस्थिति उत्पन्न भएको छ । उक्त निश्कर्षको आधारमा सम्पूर्ण विद्यार्थी एवं अभिभावकलाई निश्चित प्रक्रिया अबलम्बन गरेर स्व-अध्ययन तथा TV, Radio मार्फत प्रशारण गरिने कक्षाहरुमा  वा सम्भव भएमा विभिन्न Online कक्षाहरुमा सहभागी गर्न गराउनको लागि अनुरोध गर्नु पर्दछ l यस सन्दर्भमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको " बैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका, २०७७ " मार्गदर्शक हुन सक्दछ ।

यसरी बैकल्पिक तरिकाले औपचारिक पाठ्यक्रमलाई कार्यान्वयन गर्ने वातावरण निर्माण गर्न निम्न तयारी गर्नु अत्यावस्यक हुन्छ ।

१. सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुले आ-आफ्ना सबै विद्यार्थीहरु लाई अघिल्ला कक्षामा स्वत: भर्ना नवीकरण गरिदिनु र तत्काल सोको जानकारी दिनु उपयुक्त हुन्छ ।
२. सामुदायीक विद्यालयले तत्काल सेवा क्षेत्रमै पुगी विद्यार्थीलाई पाठ्यपुस्तक उपलब्ध गराउनु आवस्यक हुन्छ भने संस्थागत विद्यालयका कक्षा १ बाहेक सबै कक्षाका पाठ्यपुस्तकहरु परिवर्तन नगरी सहज तवरले पाठ्यपुस्तक वितरणको प्रवन्ध मिलाउनु उपयुक्त हुन्छ।
३. शिक्षा मन्त्रालयले NTV बाट प्रशारण गर्ने वा NTV Plus ले छुट्टै प्रशारण गर्ने एवं PABSON ले विभिन्न TV च्यानल मार्फत संचालन गर्ने कक्षाहरुमा विद्यार्थीलाई सरिक गराउन वा विभिन्न Online तथा Offline कक्षा एवं अन्य कुनै एक न एक माध्ययमबाट घरैमा आ-आफ्ना बाल-बालीकालाई नियमित रुपमा कक्षामा सहभागी गराउन अभिभावकले आवस्यक बातावरण बनाइदिनु पर्ने हुन्छ l विद्यालयले Online कक्षा संचालन गर्दा विद्यार्थीको इन्टरनेट र कम्तिमा स्मार्ट फोनको उपलब्धताको बारेमा सर्भेक्षण गरी सम्भव नभएकालाई माथि उल्लेखित बैकल्पिक साधनहरुको प्रयोग गर्न प्रोत्साहन गर्नु पर्दछ, जसकोलागी अभिभावकको सहयोग अपरिहार्य हुन्छ ।
४. विद्यालयले Online कक्षा संचालन गराउने भएमा विभिन्न TV च्यानलले कक्षा संचालन गर्ने समय संग नजुध्ने गरि समय तालिका, अनलाइन कक्षाको Application, ID र Password समयमै उपलब्ध गराई प्राविधिक पक्षमा  विद्यार्थीहरु लाई सक्षम हुन सुझाउनु पर्दछ, सो को लागी पनि अभिभावकको सहयोग अत्यावस्यक हुन्छ।
५. विद्यालय, अभिभावक वा विद्यार्थी स्वयंले हप्तामा प्रत्येक दिन अध्ययन गर्ने विषय सहितको तालिका बनाई विद्यार्थीलाई त्यसको पूर्ण रुपमा परिपालन गराउन लगाउनु पर्दछ ।
६. इन्टरनेट सेवा उपलब्ध भई Online कक्षामा सहभागी हुन तथा TV च्यानलबाट एवं रेडियोबाट प्रशारण हुने कक्षाहरुमा सहभागी हुन सके वा नसके पनि सबै कक्षाका सबै बिधयार्थीले प्रत्येक दिन माथि उल्लेखित तालिका अनुसार तोकिएका विषयका पाठ्यपुस्तकका बिभिन्न १-१ वटा पाठहरुको अध्ययन गरी क्रमशः पाठको अन्त्यमा दिइएका प्रश्नहरु हल गर्ने वा शिक्षकले उपलब्ध गराएका गृहकार्यहरू गर्ने गर्नु पर्दछ l यसरी प्रत्येक दिन तोकिएको विषयका क्रियाकलाप तथा गृहकार्यहरू छुट्टाछुट्टै पुस्तिकामा लेखिसकेपछि अन्त्यमा मिति उल्लेख गरेर अभिभावकले हस्ताक्षर गरी प्रमाणित गरिदिने गर्नु पर्दछ ।
७. अहिलेको विशिष्ट पतिस्थितिमा उक्त गृहकार्यको मूल्यांकनका आधारमा नै प्रथम त्रैमाषिक परीक्षाको ग्रेडसिट उपलब्ध गराउने नीति लागु गर्दा विद्यार्थीले अध्ययनलाई महत्व दिन्छन् र उनीहरुको कामको बस्तुगत मूल्यांकनको कार्यभार पनि पुरा हुन जान्छ l  
८. यसै गरी अनलाइन कक्षा संचालन गर्ने विद्यालयले प्रत्येक शुक्रबार हाजिरीजवाफ लगायतका Online प्रतियोगिता हरु संचालन गर्न सक्दछन् भने अभिभावकले समेत वाल-बालिकालाई उनीहरुको रुची, क्षमता र सम्भावना भएका विषयमा अतिरिक्त क्रियाकलाप गराउन सक्दछन् ।
९ .घरैमा स्व-अध्ययन गर्ने वा Online कक्षामा सहभागी हुने सन्दर्भमा विद्यार्थीले माथि उल्लेख गरे अनुसार विद्यालय, शिक्षक र अभिभावकको निर्देशन अनुरुप काम गर्ने सन्दर्भमा केही समस्या उत्पन्न भएमा सहज रुपमा विद्यालय प्रशाशन तथा शिक्षकसंग मोबाइल, इमेल, म्यासेन्जर आदिबाट समस्या राख्न सक्ने प्रवन्ध गर्नु पर्दछ l साथै विद्यालयले शिक्षकहरुलाई विद्यार्थीको बैकल्पिक शिक्षण सिकाईको अनुगमन र यसको प्रभावकारीताको अध्ययन गर्न लागाई आवस्यक परिमार्जन गर्दै जानु पर्दछ ।

यसरि यस विशिष्ट परिस्थितिमा औपचारिक शिक्षाका तहगत, कक्षागत र विषयगत उद्देश्यहरु हाशिल गर्न विद्यालययीय शिक्षाको बिकल्पमा नियमित तथा अनियमित, औपचारिक तथा अनौपचारिक, बन्द तथा खुला, दुर शिक्षा, Online तथा Offline शिक्षा लगायतका विभिन्न बैकल्पिक तरिकाले शिक्षा लिने छुट हाम्रा वाल-बालीकालाई उपलब्ध गराउनु शिक्षा संग सरोकार राख्ने सबैको बाध्यता हुन आएको छ ।

बन्दाबन्दीका अघिल्ला दिनहरुमा बैकल्पिक तवरले प्रदान गर्न्ने शिक्षालाई पाठ्यक्रम कार्यान्वयनको माध्यमको रुपमा स्वीकार गर्न दुबिधा उत्पन्न भएको थियो l यसको मुख्य कारण त्यतिबेला देखिएका अनलाइन कक्षा जस्ता सिमित बैकल्पिक विधिहरुको पहुँचको सुनिश्चिता नहुनु नै हो । अनिश्चित कालिन बन्दाबन्दीको लामो कहरले विस्तारै शिक्षण सिकाईमा बैकल्पिक विधिहरुको अपरिहार्यताको महसुस हुन थालेको छ , जसले सम्भाव्य बैकल्पिक विधिहरुको पहिचान गरि सिफारिस गर्न र उपयुक्त शिक्षण सामग्रीको विकाश गर्न सरोकारवाला लाई उद्दत गराएको छ । 

यसरी शिक्षकहरुको निर्देशन र अनुगमन तथा अभिभावकको सहजिकरणमा हुने ब्यबस्थित एवं योजनाबद्द स्व-अध्ययन, Radio र TV च्यानलबाट प्रसारण हुने कक्षामा सहभागिता तथा विद्यालय एवं विभिन्न निकायले संचालन गर्ने Online र Offline कक्षाहरु बैकल्पिक शिक्षाका साधनहरु हुन सक्दछन ।  हाम्रा बाल-बालीकालाई यी साधनहरु मध्ये आफुलाई उपलब्ध र सजिलो साधन रोज्ने छुट हुनु पर्दछ, जस मध्ये स्व-अध्ययन आफैमा साधन मात्र नभई साध्य पनि हो भने अन्य सबै साधन मात्र हुन् भन्ने यथार्थलाई आत्मसात गरि उनीहरुलाई स्व-अध्ययनमा प्रेरित गर्नु र तदनुसारको वातावरण निर्माण गरिदिनु अभिभावक, विद्यालय, शिक्षक एवं सरोकारवाला सबैको दायित्व हो ।    

क्रमशः
सम्बन्धित लेख- समाचार:-


अन्य समाचारहरु