ग्याष्टिक (कविता )

ग्याष्टिक (कविता )

 पिताम्बर बन्जाडे

गुलियो , चिल्लो , अमिलो , पीरो ,
ट्वाक्क ! नभए रूच्दै रूच्दैन ।
खल्लो साधा त ! मनै पर्दैन ।
साथीभाइसंग हल्का रमाइलो नगरे ;
निद्रै लाग्दिन ।
के भयो खै ! मलाई आजभोलि ;
भित्रभित्रै पोलीरहन्छ ;
यो पेट सधै फुलिरहन्छ ;
बायुगोला चलिरहन्छ ।।

योग ध्यान गरे निको हुन्छ भन्थे ;
त्यसैले , भाँतिभाँति गर्छु ;
अनि कपालभाति पनि गर्छु ।
ध्यानमा बस्छु , आँखा बन्द गर्छु ;
मुख बन्द गर्छु , जालन्धर बन्द गर्छु ;
जे जे बन्द गरे पनि यो पेटमा भरिएको , ग्यास बन्दै हुदैन !
जहाँ गयो त्यही खुल्छ !
अनि ध्यान विचमै टुट्छ ।
सारै दिक्क भएँ !
आफूले आफैलाई देखेर ;
रिस उठ्छ ।
के भयो खै ! मलाई आजभोलि ;
भित्रभित्रै पोलिरहन्छ ;
यो पेट सधै फुलिरहन्छ ;
बायुगोला चलिरहन्छ ।

डाक्टरले मुख बार्नु पर्छ भन्थे ;-
बारेरै हुन्छ भने , बारदिन्छु ;
भनेर बारें ।
साथीभाइलाइ पनि दुईचार
प्याकमै टारें ।
भोजपाटी जसोतसो धानेकै छु ;
दुईचार प्लेट तुरे पछि बाँकी ;
परपरै सारेकै छु ।
मैले बारेको बारले गर्दा ,
मैले खाए पिएको कसैलाई
थाहा छैन ;
म आफूले आफैलाई लुकाएको छु ।
तै पनि ; के भयो खै ! मलाई आजभोलि ?
भित्रभित्रै पोलिरहन्छ ;
यो पेट सधै फुलिरहन्छ ;
बायुगोला चलिरहन्छ ।।

मोटो भइस् ; वजन घटाए हुन्छ भन्थे ;
गर्दिएरै हुन्छ भने, गर्दिन्छु भनेर ;
दौड्छु , उफ्रन्छु , खेल्छु के के गर्छु ;
म आफैलाई थाहा छैन ;
यो ज्यान थिलोथिलो पार्छु ;
ज्यान दुखेर निद्रै लाग्दैन ;
हल्का प्याक लाएर निदाउँछु ।
घटला भनेको त ! यो पेट ,
चुरचुरी चुलिदैछ ;
शरीर बोरा झैं फुलिदै छ ।
के भो खै ! मलाई आजभोलि ;
भित्रभित्रै पोलीरहन्छ ;
यो पेट सधै फुलिरहन्छ ;
बायुगोला चलिरहन्छ ।।
अस्तु: