बाँकी (गजल)

बाँकी (गजल)
-कोमल भट्ट
चन्द्रागिरी नगरपालिका,
वा.नं.१३ -पुरानो नैकाप
काठमाडौँ
हाल:- न्युयोर्क

छैनौ तिमी,मात्र छ याद बाँकी
गुञ्जिन्छ चारैतिर नाद बाँकी

लाग्यौ तिमी शीघ्र अनन्त तर्फ
भोग्दै छु पीडा र विस्वाद बाँकी

गाँजे सधैँ व्यग्र र वेदनाले
अत्यास बाँकीछ,विषाद बाँकी

आफ्नो भयो देह विदीर्ण साह्रै
सम्पूर्णमा देख्दछु माद बाँकी

निल्दै गए रोज निरीहताले
रित्तो भएँ छैन मुराद बाँकी

के खोट भो स्वच्छ उपासनामा
व्यर्थै भए फूल प्रसाद बाँकी

खोस्यो सुखाशा सब दुर्दशाले
सम्वृद्धि भागे बरबाद बाँकी

आघात भो 'कोमल' भावनामा
 खोजेँ कतै छैन प्रणाद बाँकी

इन्द्रवज्रा छन्द
(५ अक्षरमा विश्राम)