अर्घाखाँचीमा फेरि उम्मेदवारी दिन मेयरसहित १२५ जना जनप्रतिनिधिले राजीनामा दिए

अर्घाखाँचीमा  फेरि उम्मेदवारी दिन मेयरसहित १२५ जना जनप्रतिनिधिले राजीनामा दिए

भिम बिश्वकर्मा

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा वैशाख ३० गते हुने पालिका चुनावमा उम्मेदवारी दिन मेयरसहित १२५ जना जनप्रतिनिधिले राजीनामा दिएका छन् ।


आसन्न पालिका चुनावमा पुनः उम्मेदवारीको आकाङ्क्षा राख्दै मेयर, वडा अध्यक्षसहित १२५ जना जनप्रतिनिधिले राजीनामा दिएका हुन् । निर्वाचन आचारसंहिता २०७८ को दफा ३६ अनुसार बहालवाला जनप्रतिनिधिले पालिकाको कुनै पनि पारिश्रमिक, सुविधा पाउने गरी लाभको पदमा नरहेको उद्घोष गर्नुपर्ने र उम्मेदवारी दिनुअघि नै राजीनामा दिनुपर्ने व्यवस्था गरेको छ । त्यही व्यवस्था बमोजिम अर्घाखाँचीमा पनि मेयर, वडा अध्यक्ष, सदस्य र जिल्ला समन्वय सदस्य गरी शुक्रवारसम्म १२५ जना जनप्रतिनिधिले राजीनामा दिएका हुन् ।


१२ वटा वडा रहेको सन्धिखर्क नगरपालिकाका २२ जना जनप्रतिनिधिहरुले पुनः उम्मेद्वार बन्न पदबाट राजीनामा दिएका छन् । शुक्रबार सन्धिखर्क नगरपालिकाका प्रमुख सहित वडा अध्यक्ष, वडा सदस्य गरी २२ जनाले पदबाट राजीनामा दिए ।


यस्तै शितगंगा नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारी उपप्रमुख टीका रेस्मी लगायत १३ वडा अध्यक्ष सहित ४४ जनाले पदबाट राजिनामा दिएका छन । यता जिल्लाको भूमिकास्थान नगरपालिकाका मेयर रेशम थापा र सिफारिस भएका वार्ड अध्यक्ष र सदस्यहरु गरी १७ जना बहालवाला प्रतिनिधिले राजीनामा दिएका छन् ।

पाणिनी गाउँपालिकामा पनि गाउँपालिकाका अध्यक्ष अच्युत गौतम, उपाध्यक्ष लक्ष्मी गौतम ,वडाध्यक्षहरु सहित १२ जनाले राजीनामा दिएक छन । छत्रदेव गाउँपालिकामा पनि वडाध्यक्ष र सदस्य गरी १५ जनाले राजीनामा दिएका छन । त्यस्तै मालारानी गाउँपालिका प्रमुख तथा वडाअध्यक्ष र सदस्य सहित १५ जनाले राजीनामा दिएका छन ।

सरकारले स्थानीय तहको निर्वाचन २०७९ को लागि बैसाख ३० गते मिति तोकेको छ । उम्मेद्वार दर्ता गर्ने मिति ११ र १२ गते बैशाखमा रहेको छ ।

अन्य समाचारहरु