थारु समुदायलाई माघीको तयारी गर्न भ्याइनभ्याइ

थारु समुदायलाई माघीको तयारी गर्न भ्याइनभ्याइ

अविनाश चौधरी गोरखापत्र

धनगढी, पुस २७ गते । कैलारी गाउँपालिका–३ सुर्मिनालाका नवराज चौधरीलाई व्यापारकै कामबाट फुर्सद हुँदैन । पसलसँगै होटल चलाउने गरेकाले धेरै समय नास्ता बनाउनमै व्यस्त रहने गर्नुहुन्छ । तर, आफ्नो व्यावसायिक समयलाई छोट्टयाएर अहिले उहाँ पर्वको तयारीमा जुट्नु भएको छ । ‘पसल हेर्नुपर्ने कारणले धेरै समय यताउति जान मिल्दैन’, चौधरीले भन्नुभयो । ‘थोरथोरै समय मिलाएर आवश्यक सामान जुटाउने कार्य गरिरहेको छु ।’

त्यस्तै, सोही गाउँपालिकाको वडा नम्बर ७ की कालीदेवी डङ्गौरालाई सालको पातबाट दुना, टपरी बनाउन भ्याइनभ्याइ छ । सुङ्गुरको मासु र ढिक्री राख्नका लागि डङ्गौराले हप्तादिनदेखि नै सालको पातको दुना, टपरी तयार गरिरहनुभएको छ ।

‘यम्हे टे पहुनन् ढिक्री ओ सुरिक सिकार खाइ डेठी (यसैमा पाहुनालाई ढिक्री र सुङ्गुरको मासु खान दिन्छौं)’, दुना, टपरी देखाउँदै उहाँले भन्नुभयो । डङ्गौराका अनुसार पर्व आउनुभन्दा अगाडि नै गाउँका मान्छेहरु जङ्गलमा पात टिप्न जाने गर्दछन् । त्यसपछि, साँझ, बिहान आगो ताप्दै दुना, टपरी बनाउने गरिन्छ ।

‘तरकारी राख्नका लागि थारु समुदायको लागि यो महत्वपूर्ण चिज हो’, उहाँले भन्नुभयो । ‘पाहुनालाई पनि हामी यसैमा तरकारी दिने गर्दछौं ।’
थारु समुदायको सबैभन्दा ठूलो पर्व ‘माघ’, अर्थात् माघी आउन अब दुई दिनमात्रै छ । पर्व नजिकिएसँगै यो समुदायमा माघीका लागि धुमधाम तयारी चलिरहेको छ । मान्छेहरु पर्वको लागि कुटानी, पिसानीका साथै आवश्यक सामान जोहो गर्नमा व्यस्त भएका छन् । दाउरा सङ्कलनदेखि लिएर मेलापात गर्ने काम पनि भइरहेका छन् ।

विस्तारै माघीको चहलपहल हुन थालेको छ । माघीमा नभएर नहुने ढिक्री चामलको पिठोबाट बनाइने गरिन्छ । त्यसैले, पर्व आउनुभन्दा एक/डेढ हप्ता अगाडिबाट नै कुटानी पिसानीको काम हुने गरेको सो समुदायका व्यक्ति बताउँछन् । ‘ढिलो भएमा मिलमा भिडभाड बढ्ने भएकाले सकेसम्म हप्तादिन अगाडिदेखि नै कुटानी पिसानी गराउने गरेका छौं’, धनगढी उपमहानगरपालिका–५ हसनपुरका विशाली चौधरीले भन्नुभयो ।

‘मैले आफू तरकारी विक्री गरेर माघीका लागि अरुकोबाट तरुल र सखरखण्डको समेत जोहो गरिसकेँ ।’ आफूले धनगढी हाट बजारमा तरकारी विक्री गरेर माघीको लागि आवश्यक सामान खरिद गरिरहेको उहाँको भनाइ छ । ‘वर्षदिनपछि फर्केर आएको ठूलो पर्व धुमधामसँग मनाउनका लागि तयारी भइरहेको छ’, चौधरीले भन्नुभयो ।

माघी थारु समुदायको सबैभन्दा ठूलो पर्वमात्रै होइन, नयाँ वर्ष पनि हो । यो पर्वदेखि नै थारु समुदायको नयाँ आर्थिक वर्ष सुरु हुने गर्दछ । साथै, माघीमा वर्षभरिको आर्थिक लेखाजोखा हुनुका साथै परिवार र गाउँको नेतृत्व गर्ने व्यक्ति चयनको कार्य हुने गर्दछ । माघीमा ढिक्री, सुङ्गुरको मासु, तरुल, सखरखण्ड र जाँड खाने चलन रहेको छ । हरेक परिवारले माघीको लागि मासुको टुङ्गो लगाइ सकेका छन् । माघीमा सुङ्गुर मार्नुलाई ‘जिता मर्ना’ भनिन्छ । कसले, कति मासु किन्ने भनेर पहिल्यै नै नामावली तयार पार्ने कार्य भइसकेको छ । यसैगरी, घर–घरमा जाँड पनि महिनादिन अगाडि नै बनाइएका छन् ।

लगभग सबै तयारी भइसकेको उल्लेख गर्दै धनगढी उपमहानगरपालिका–६ जालीका सरस्वतीदेवी चौधरीले अब माघीको प्रतीक्षामा रहेको बताउनुभयो । ‘यसवर्ष गाउँमा महोत्सव सञ्चालन गर्ने भन्दैछन्’, उहाँले भन्नुभयो । जाली गाउँमा हरेक वर्ष मघौटा नाचसमेत हुने गरेको छ । नाचको सरसल्लाह पनि भइरहेको चौधरीले उल्लेख गर्नुभयो ।

थारु समुदायमा तीन दिनसम्म धुमधामसँग माघी पर्व मनाउने चलन छ । पुस अन्तिम दिनबाट सुरु भएको माघी पर्व माघ २ गतेसम्म रहने गर्दछ । पहिलो दिन जिता मार्ने, दोस्रो दिन बिहानै नदी, पोखरी, दहमा स्नान गरेर मान्यजनहरुको आशीर्वाद लिँदै माघी पर्व मनाउने गरिन्छ । पर्वको अन्तिम दिन खिचडी भात खाँदै ‘माघी देवानी’ गर्ने र नयाँ नेतृत्व चयनको साथै वर्षभरिको लागि योजना बनाउने कार्य हुने गरेको बताइएको छ । माघी नजिकिएसँगै थारु गाउँबस्तीमा माघीसम्बन्धी गीत पनि घन्किन थालेका छन् ।

अन्य समाचारहरु