कामिका एकादशी र यसको महत्व।

कामिका एकादशी र यसको महत्व।
लेखक- पन्डित ज्योतिष बिष्णु प्रसाद खनाल।
सन्धिखर्क १२ अर्घाखाँची। हाल काठमाडौं

अश्वमेधसहस्राणि राजसूयशतानि च ।एकादश्युपवासस्य कलां नार्हन्ति षोडशीम् ।।

यसको अर्थ हो- हजारौं अश्वमेध यज्ञ र सयकडौं राजसूय यज्ञको महत्त्व एकादशी व्रतको सोह्रभागको एक भाग जति पनि हुँदैन। प्राचीन मापन पद्धतिअनुसार सोह्र कला अर्थात् कुनै पूर्ण वस्तुको सोह्र भागको एक भाग। हिजोआज प्रचलनमा रहेको प्रतिशत मापन पद्धतिअनुसार लगभग ६ प्रतिशत । एकादशी व्रतको एउटा अर्को पनि महत्त्व छ, त्यो के हो भने अरू व्रतमा संकल्प  बाचिक पनि अावश्यक हुन्छ भने एकादशीमा वाचिक संकल्प सम्भव नभए मानसिक संकल्पले पनि फल प्राप्त हुन्छ ।

यसबाट एकादशी एउटा यस्तो व्रतका रूपमा स्थपित भएको प्रमाणित हुन्छ जसले बिनासङ्कल्प मनुष्यलाई भुक्ति, मुक्ति आदि समस्त फल प्रदान गर्ने सामर्थ्य राख्दछ।

एकादशीको व्रत प्रत्येक महिनामा पर्ने दुबै पक्षको एकादशी तिथिका दिन सम्पादन गरिन्छ। यस व्रतलाई महाव्रत पनि भनिन्छ।
सनातन हिन्दू धर्मावलम्बीहरूले प्रयोग गर्ने चान्द्र गणना पद्धतिमा आधारित पञ्चाङ्गबमोजिम प्रत्येक महिनाको शुक्ल पक्ष एवं कृष्ण पक्षको एघारौं तिथिलाई एकादशी भनिन्छ । यो तिथि भगवान् श्रीविष्णुको प्रिय तिथि हो।

 एकादशीलाई  'हरिदिवस'  'हरिवासर' र  माधवतिथी,पनि भनिन्छ। अन्य व्रत र उत्सवका तुलनामा एकादशीको महत्त्व बढी हुनुमा विभिन्न कारण छन्, ती यस प्रकार छन्-

वातावरणमा विष्णुतत्त्वको स्पन्दन बढी मात्रामा हुनु। समस्त प्राणिहरूमा अधिकतम सात्त्विकताको मात्रा विद्यमान रहनु।शरीरमा विद्यमान चैतन्यको गति 'ऊर्ध्व' अर्थात् माथिल्तिर प्रवाहित हुनु।व्रत सम्पादन गर्नाले अन्य व्रतको तुलनामा अत्यधिक प्रतिफल प्राप्त हुनु।एक महिनामा कम्तिमा दुई दिन त हामीले हाम्रो आफ्नो शरीर र चित्त दुबैलाई विश्राम दिन सक्छौ, दसै इंद्रिय र तिनका स्वामी मनलाई आहार, निद्रा, भय, मैथुनका पाशविक वृत्तिभन्दा मथि उठाएर स्वयं आफ्ना बारेमा विचार गर्न सक्छौ। एकादशी तिथिको जति महत्त्व छ, त्यत्तिकै महत्त्वपूर्ण एकादशीको व्रतको पनि छ। एउटा वर्षचक्रभरि पर्ने एकादशीको व्रत लिनाले अनेकानेक व्रतसम्पादन र तीर्थावलोकनको फलप्राप्ति हुन्छ। पद्मपुराणमा एकादशीको व्रतको महत्त्वलाई यसरी दर्शाइएको छ-

एकादशीको व्रत सम्पादन गर्नाले कार्यक्षमतामा अभिवृद्धि हुन्छ, मानसिक सामर्थ्य र शक्ति बढ्छ, आयुवृद्धि हुन्छ र आत्मिक उन्नतिमा शीघ्रता हुन्छ। एकादशी व्रत लिनाले हुने फाइदाका बारेमा पद्मपुराणमा उल्लेख गरिएको छ-

 स्वर्गमोक्षप्रदा ह्येषा शरीरारोग्यदायिनी।
कलत्रसुतदा ह्येषा धनमित्रप्रदायिनी।।
न गङ्गा न गया राजन् न च काशी च पुष्करम्।
न चापि कौरवं क्षेत्रं पुण्यं भूपहरेर्दिनात्।।

अर्थात् एकादशी स्वर्ग, मोक्ष, आरोग्य, सुभार्या एवं सुपुत्र प्रदान गर्ने उत्तम व्रत हो। हे राजन् ! गङ्गा, गया, काशी, पुष्कर र कुरुक्षेत्र यी पुण्यक्षेत्रमध्ये कुनै एउटा क्षेत्रको तुलना हरिदिवस अर्थात् एकादशीका साथमा हुन सक्दैन। यस श्लोकमा उल्लेख गरिएका गङ्गा नदी र अन्य तीर्थक्षेत्र हरेक दिनको प्रातःकालमा स्मरण गर्ने गरिन्छ। अर्थात् यी नदी र तीर्थको नाम लिनासाथ तीर्थस्नानको फल प्राप्ति हुन्छ। यस्ता पवित्रतम स्थानहरू मध्ये एउटा स्थानको तुलना पनि एकादशीसँग नहुने बताइएको छ। अतः एकादशीको दिन कतिसम्म पवित्र रहेछ हामी अनुमान गर्न सक्दछौं।

 सङ्क्षेपमा यी उद्धृत श्लोकबाट के स्पष्ट हुन्छ भने एकादशीको व्रत लिनाले मात्र लौकिक तथा पारमार्थिक दुबै किसिमका शुभ फलहरू सजिलै प्राप्त हुन्छन्। एकादशीको व्रत सनातन धर्मको आफ्नै विशिष्टता हो। हामीले पनि यसका पौराणिक पक्षमा विचार गर्नुपर्छ र त्यसका वैज्ञानिक, व्यावहारिक र स्वास्थ्यसम्बद्ध पक्षउपर पनि।


कूर्मपुराणको मत-

व्रतोपवासैर्नियमैः होमैः, ब्राह्मणतर्पणैः
तेषां वै रूद्रसायुज्यं, जायते तत्प्रसादतः।
अर्थात व्रतोपवासले शिवसायुज्यको प्राप्ति हुन्छ।
 श्रीमद्भगद्गीतामा निष्काम कर्मका प्रवक्ता जगद्गुरू भगवान श्रीकृष्णको देशना छ-
यज्ञदानतपःकर्म न त्याज्यं कार्यमेव तत्‌।(१८/५)

अर्थात यज्ञ, दान र तप रूप कर्मको कहिल्यै पनि परित्याग गर्नुहुन्न।
शास्त्रमा तपअंतर्गत व्रतको विधान बताइएको छ र व्रतमध्ये श्रेष्ठतम व्रत एकादशीलाई मानिएको छ।

एकादशी व्रतको प्रारम्भ कसरी भयो? भगवती एकादशीको हुन, यस सम्बन्धमा पद्म पुराणमा के कथा छ भने एकपटक पुण्यश्लोक धर्मराज युधिष्ठिरलाई लीला पुरुषोत्तम भगवान श्रीकृष्णले समस्त दुःख, त्रिविध ताप आदिबाट मुक्तिदिलाउन, हजारौ यज्ञको अनुष्ठानको तुलना गर्न सक्ने, चारै पुरुषार्थलाई सहजै प्रदान गर्ने एकादशी व्रत लिनका निम्ति निर्देशन दिनुभएको थियो ।

प्रत्येक महिनाको शुक्ल पक्ष र एवं कृष्ण पक्षमा एकएकवटा गरी एक महिनामा दुईवटा र वर्षभरिमा चौबीसवटा एकादशी पर्ने गर्दछन्, तर अधिक मास अर्थात् मलमासमा अझ दुईवटा एकादशी थपिन गई अधिक मास भएको वर्षमा छब्बीसवटा एकादशी हुन्छन्।ती एकादशी मध्येको श्रावण कृष्णपक्षको एकादशीलाई कामिका एकादशी भनिन्छ।जुन प्रत्येक बर्ष श्रावण महिनामा आउने गर्दछ।कहिलेकाही एकादशी तिथि दुई दिन परेको अवस्थामा शैवमार्गीले पहिलो दिनको एकादशीको व्रत लिने गर्दछन् भने वैष्णवहरू पछिल्लो दिनको एकादशी व्रत लिने गर्छन् यसपालिको कामिका ऐकादशीमा भने सो समस्या छैन।

शास्त्रानुसार वर्षभरिमा पर्ने सबै एकादशीको व्रत र उपवास गर्नु पर्दछ।सबै  एकादशीका दिन अन्न खानु हुँदैन।सकेसम्म र स्वास्थ्यले साथ दिएसम्म निर्जला गरेको राम्रो हुन्छ।त्यसरी नसकेमा मन तातो  पानी समय समयमा खान सकिन्छ  ।भजनमा भन्दा भोजनमा मन जाने अवस्था भयो भने  दुध, सक्खर, सर्वत आदि ग्रहण गर्न सकिन्छ ती पनि बारम्बार होइन निस्चित समयमा भगवानलाई भोग लगाएर मात्र ग्रहण गर्नु पर्दछ ।

भगवान् विष्णुको र कथामा निर्दिष्ट अरु भगवानको पनि साथसाथै पूजा गर्नुपदर्छ।कामिका एकादशी चतुर्माशा सुरुभएपछिको पहिलो एकादशी भएको र यश समयमा जगत सञ्चालनको जिम्मा शिवजीमा आएको हुदा यस एकादशीमा हरिहर भगवानको पूजा गर्नु बिशेष फलदायी हुन्छ।यसैगरी  यसपाली साउने संक्रान्तिका दिन‌ै एकादशी परेको हुदा श्री सत्यनारायण प्रभुको पनि पूजा अर्चना गर्दा बिशेष फल मिल्छ।  पूजा स्थलमा अहोरात्र अर्थात दिनरात गरी चौबीस घण्टा घिउको वर्तन गरी अखण्ड बत्ती(दियो) बाल्नुपर्दछ।

भजन, कीर्तन, स्तोत्रपाठ, भागवत आदि ग्रन्थको पाठ र भगवान् हरिहरको दिव्य नामको सङ्कीर्तन गर्नुपर्दछ। भगवानका मन्दिरहरूको भ्रमण र दर्शन गर्नुपर्दछ। व्रतको भोलिपल्ट हरिहर र सत्यनारायण  भगवानलाई नैवेद्य समर्पण गरेर व्रतको समापन गर्नुपर्दछ। दीनदुःखी, ब्राह्मण र साधुसन्तलाई व्रतको समाप्तिमा भोजन, दक्षिणादि प्रदान गर्नुपर्दछ। कामिका एकादशीको व्रत लिन चाहने नरनारीले दशमीका दिनदेखि माछा,मासु, लसुन, प्याज, मुसुरो,भेन्टा, लौका,गोल्भिंडा,गाजर,पालक,माधकपदार्थ आदि वस्तु सेवन गर्नु हुदैन।

 पूर्ण ब्रह्मचर्यको पालना गर्नुपर्छ तथा भोगविलासबाट टाढा रहनुपर्छ। प्रातःकालमा ब्रुसमन्जन गर्नुहुदैन, बरु नीम, जामुनोवा आपको पात चबाएर कुल्ला गर्नुपर्छ। आजको दिनमा रुखको पात थुत्न, तान्न, टिप्न पनि निषेध गरिएको छ, त्यसैले झरेको पातको सेवन गर्नु उचित हुन्छ। झरेको पात नभेटिदा पानीले बाह्र पटक कुल्ला गर्नुपर्छ , त्यसपछि स्नानादि गरेर मन्दिरमा गई गीता पाठ गर्नुराम्रो हुन्छ अाफुले नसकेमा पुरोहित बाट श्रवण गर्दा पनि हुन्छ । 

प्रभुका सामु उभिएर "आज म चोर, पाखण्डी र दुराचारी वैदिक आचरण रहित मनुष्यसित कुरा गर्ने छैन, कसैको चित्त दुखाउने छैन, गाई, ब्राह्मण, दरिद्रआदिलाई फलाहार र अन्नादि दिएर प्रसन्न तुल्याउने छु, रातमा जागरण बसी भगवानको नाम संकीर्तन  
गर्नेुछु  ।

"ॐ हरिहरस्वरुपिणे भगवते नारायणाय नमः।।"यस  मन्त्रको जप गर्नेछु ।राम, कृष्ण, नारायण इत्यादि विष्णु र हरिहरका असंख्य दिव्य नामलाई स्मरण गर्नेछु। यस्तो संकल्प गरेर भगवान हरिहरको स्मरण गर्दै प्रार्थना गर्नुपर्दछ-
 
यौ तौ शंखकपाल भुसितकरै मालास्तिमाला धरौ।
देवौ द्वारवतीस्मशाननिलयौ नागारिगोबाहनौ।।
द्वित्रयक्षौ बलिदक्षयज्ञमथनौ श्रीशैलजाबल्लभौ।
पापं मे हरतां सदा हरिहौ श्रीवत्सगङ्गाधरौ।।


अर्थात,हे हरिहर! हातमा शङ्ख र खप्पर लिएका,वनमाला र अस्थिमाला लगाएका,द्वारका र श्मसानमा बसेका,गरुड र बृषभ(गोरु) वाहन भएका,दुई र तीन आँखा भएका,बलि राजालाई र दक्षप्रजापतिको यज्ञ नाश गर्ने भएका,लक्ष्मी र पार्वतीका स्वामी भएका श्रीवत्स र गंगा धारण गर्ने भएका यस्ता तपाई दुईले मेरो पाप सधै हरिदिनुहोस्।

यसरी प्राथना गरिसकेपछि  मेरो लाज हजुरको हातमा छ, अतः मलाई मैले गरेका सङ्कल्प पूरा गर्ने शक्ति प्रदान गर्नुहवस्।' जसरी हरिशयनी एकादशीका दिन तुलसी रोपणको बिशेष महत्त्व रहन्छ त्यसैगरी अाजको दिनमा तुलसी सिञ्चिन गर्नुको बिशेष महत्त्व रहेको छ।यसरी तुलसीलाई स्तुति गरेर सिञ्चित गर्नुपर्दछ।  

या दृष्टा निखिलाघसंघसमनी स्पष्टा वपुः पावनी रोगणामभिवंदितानि रसिनी सिक्तां तकत्रासिनी प्रत्यासत्तिविधायिनी भवतः कृष्णस्य संरोपिता न्यस्ता 
तच्चरणे विमुक्तिफलदा तस्यै तुलस्यै नमः
अर्थात हे नारद! म स्वयं भगवानलाई अतिप्रिय लाग्ने तुलसीलाई नमस्कार गर्दछु।

तुलसीको बिरुवालाई सिञ्चित गर्नाले मनुष्यका सबै यातनाहरु नष्ट हुनपुग्दछन्।दर्शन मात्रले पनि सबै पाप नष्ट हुन्छन् र स्पर्श बाट त मनुष्य पवित्र हुनपुग्दछ।

 यदि बिर्सिएर कुनै निन्दकसित कुराकानी भइगयो भने पनि त्यस दोषलाई कटाउनका निम्ति सूर्यनारायणको दर्शन अथवा भगवान हरिहरको पूजा आराधना गरेर क्षमा माग्नु पर्छ। कामिका एकादशीका दिन सूक्ष्म जीवजन्तुको हत्या हुने भय हुने भएकाले प्रातःकाल बाहेक अन्य समयमा घर बढार्नुहुदैन।

 यस दिन नङ्ग, केश आदि काट्नुहुन्न। धेरै बोल्नाले दुर्वाच्य बोलिने भय हुन्छ, त्यसैले कमभन्दा कम बोल्नु पर्छ। यस दिन यथाशक्ति दान गर्नु पर्छ तर आफूले दान दिएको वस्तु आफैकहा कुनै हालतमा पनि फिर्ता आउनुहुन्न। असत्यवादन, कुकर्म आदिबाट टाढा हुनु पर्छ।दशमीयुक्त कुनै पनि एकादशी लाई वृद्ध मानिन्छ, शैव उपासक त यसलाई मान्यता दिन्छन् तर वैष्णवहरू द्वादशीयुक्त एकादशीको व्रत लिने गर्छन। त्रयोदशी लाग्नु पहिले नै व्रतको पारणा गर्नुपर्छ।सकेसम्म निराहार व्रत बसेको राम्रो नसकेमा आप, अङ्गुर, केरा, काजु आदि अमृतफल ग्रहण गर्नु सकिन्छ।

 प्रत्येक वस्तु  प्रभुलाई भोग लगाएर मात्र आफूले सेवन गर्नु पर्छ। द्वादशीका दिन दक्षिणा, मिष्ठान्न, भोजन आदिले सन्तुष्ट तुल्याई ब्राह्मणको प्रदक्षिणा गर्नुपर्छ। व्रतको अवधिमा बिर्सिएर पनि रिसाउनु हुदैन। रिसले विकिरण पैदा गर्छ र सात्विक गुणमा गिरावट आउछ जबकि भनिन्छ "देवं भूत्वा देवं यजेत्" त्यसैले तपाई देवतास्वरूप भएकाले सन्तोष गर्नुपर्छ, दयाभाव लिनु पर्छ, सुमधुर वचन बोल्नुपर्छ।कामिका एकादशीको व्रत लिदा यी विधि र नियमलाई पालना गर्ने व्यक्तिले दिव्य फल प्राप्त गर्दछ।

 देशकाल एवं परिस्थितिबमोजिम मनुष्यले व्रत, उपवास, दान, जप, इष्ट जप एवं शुद्ध हृदयद्वारा भगवती एकादशीको व्रत लिनु पर्दछ। यथासंभव आफ्ना इष्टदेवताको ११००, ११००० नाम जप पनि श्रेष्ठ प्रयोग मानिन्छ। एउटा प्रयोग के पनि छ भने कामिकाएकादशी व्रतको पारणा कुनै ब्राह्मण, दरिद्र वा आवश्यकता हुने व्यक्तिलाई भोजन गराए पछि वा त्यस मात्राको अन्नदान गरेर मात्र गर्नु पर्छ।
यश व्रतका प्रभावले आफ्नो त कल्याण अवस्य हुन्छ नै पितृपक्ष मातृपक्ष र ससुराली पक्षको समेत २१कुलको उद्धार हुन्छ भन्ने धार्मिक मान्यता रहेको छ।


अन्य समाचारहरु