कोरोना विपद: शिक्षा क्षेत्र सुधार्ने अवसर

कोरोना विपद: शिक्षा क्षेत्र सुधार्ने अवसर

जायदा खातून (जाहिदा) 

अर्घाखाॅची । सन् 2019 को अन्त्यतिर सर्वप्रथम चीनको वुहान प्रान्तमा देखिएको कोरोना भाइरसको संङ्क्रमण केही महीनामै विश्वभरी फैलिएको थियो। विश्व स्वास्थ्य संगठन(WHO)ले सन् 2020 जनवरी 30 मा विश्वव्यापी स्वास्थ्य संकट र मार्च 11 मा विश्वव्यापी महामारीको घोषणा गरेको थियो।

करीब पाॅच महीना देखि नेपालमा विद्यालय,  विश्वविद्यालय तथा सम्पूर्ण शैक्षिक संस्थाहरू बन्द छन्। पठनपाठन कार्य ठप्प भएको छ साथै परीक्षाहरू पनि स्थगित भएका छन्। परीक्षा पुनः सञ्चालन गर्ने वा आन्तरिक मूल्यांकनलाई आधार मान्ने भन्ने बारेमा  दोधारपन सिर्जना भएको छ। अधिकांश विद्यार्थीहरूमा पढाईको चिन्ता भन्दा पनि भाइरसको त्रास उत्पन्न भएको छ। उनीहरूमा सकरात्मक वा नकरात्मक केही मानसिक असर अवश्य पुगेको छ। अधिकांश विद्यालयहरूलाई क्वारेन्टाइन बनाएर बाह्य स्थानबाट आएका व्यक्तिहरूलाई त्यहाॅ राख्ने व्यवस्था गरिएको छ तर हाल ती खाली हुदै गएका छन्। कतिपय शैक्षिक संस्थाहरूले अनलाईन क्लासबाट कक्षा सञ्चालन गरिरहेका छन्।

नेपालको शैक्षिक क्षेत्र सॅधै अस्तव्यस्त रहॅदै आएको कुरा सर्वविदितै छ। शिक्षा क्षेत्रमा भएका विविध समस्याहरूलाई व्यापक रूपबाट समाधान गर्ने प्रयास नबढेको कारण यहाॅको जस्तो दयनीय अवस्था अन्त विरलै देखिन्छ। जुनसुकै आन्दोलनको पहिलो तारो बन्ने शिक्षा क्षेत्र यसै अलमलमा रहेको छ भने आफू भित्रै भएका विकराल समस्याले यसलाई झन खल्ला बनाउदै आएको पाइन्छ। गुणात्मक शिक्षाको जतिसुकै फलाक्ने परिपाटी रहेपनि स्थिति चाहीं अत्यन्तै नकरात्मक बन्दै गएको छ, जुन राष्ट्रको लागि राम्रो संकेत होइन। आजको समस्या राष्ट्रिय मात्र होइन अन्तर्राष्ट्रिय शिक्षा नीति हुन आवश्यक भएको छ।

विपदले अवसर पनि ल्याउॅछ भने झैं यो महामारीले शिक्षा क्षेत्रलाई सुधार्ने अवसर दिएको छ। सामाजिक क्षेत्रको महत्त्वपूर्ण हिस्सा शिक्षा क्षेत्रलाई पनि विगतको विवेचना, वर्तमानको विश्लेषण र भविष्यको पूर्वानुमान गर्दै सुधारका पाइला चाल्ने अवसर प्राप्त भएको छ।

सरकार, विद्यालय, शिक्षक, विद्यार्थी, सञ्चालक र अभिभावक सबैको एउटै उद्देश्य हुन जरूरी छ। यहाॅको शैक्षिक  क्षेत्रबाट उत्पादित जनशक्तिले विश्वको जुनसुकै कुनामा गएर प्रतिस्पर्धा गर्न सकोस। यसका लागि गहन ज्ञान र सीपको विकास हुन जरूरी छ। यस महामारीमा नेपालको शैक्षिक स्थितिलाई हेर्दा कति गैरजिम्मेवार रहेछ भन्ने कुरा प्रष्ट हुन्छ। विद्यालय सञ्चालक, मुनाफा सरकार, निष्कृय शिक्षक, अस्थीर राजनीति र मौन अभिभावक यी सबै एक प्रायत होइनन्। शिक्षा जस्तो संवेदनशील क्षेत्रमा देखिएको यस्तो संवेदनशीलताले हाम्रो नयाॅ पुस्ताको भविश्य के होला ?

नेपालको सन्दर्भमा यहाॅको  शिक्षा प्रणाली यस्तो छ कि विद्यार्थीहरूले कति 'सिक्नुपर्ने'भन्दा पनि उनले कति 'पढ्नुपर्ने' वा कति 'बुझ्नुपर्ने' भन्दा पनि कति 'सम्झिनुपर्ने' मापदण्ड छ। जसले गर्दा आज नेपालको शिक्षा क्षेत्र परीक्षा सञ्चालन, स्थगन र प्रश्नपत्र निर्माणमै असव्यस्त छ। कतिपय विद्यार्थीहरूमा कोरोनाको त्रास भन्दा पनि यतिका महीना सम्म किताब पढीएन, पहिला पढेको पनि सबै भूलिसके अब परीक्षामा के लेख्ने भन्ने चिन्ता छ भने अर्को तिर महामारी कतिबेला विषम परिस्थितिमा आउला कि परीक्षा लिने भन्ने होड्बाजी छ।

यहाॅको मूल्यांकन प्रणाली पनि यस्तो छ कि गुणात्मकलाई भन्दा बढी परिमाणात्मक वा संख्यात्मकलाई ध्यान दिइन्छ। विद्यार्थीमा आउने व्यवहारिक परिवर्तन वा उसको सिकाइको प्रगति वा उपलब्धीहरूको लेखाजोखा भन्दा बढी उसको मेमोरी टेस्ट गरिन्छ।

शिक्षा भनेको ज्ञान र क्षमतामा विकास गर्नका लागि खास गरेर स्कूल/कलेजहरूमा दिइने तालिम, सिकाई वा शैक्षिक प्रकृया हो। र, एउटा भनाई छ; "The main object of the education must be the formation of good character" अर्थात शिक्षाको प्रमुख उद्देश्य भनेकै असल चरित्र निर्माण गर्नु हो, व्यक्तित्व, नैतिकता र चेतनाको विकास गर्नु हो।

कोरोना विपदमा वर्तमानमा शिक्षा क्षेत्रले भोगेको अनुभव, विश्व परिवेश, सिद्धान्त र व्यवहारमा आएका परिवर्तनहरू, आम नागरिकको अपेच्छामा परिवर्तन अनुकुल शिक्षा क्षेत्रलाई सञ्चालन, व्यवस्थापन गर्न हाम्रा सोंच, संकल्प, मार्गदर्शन, उद्देश्य, कार्यदिशा, रणनीति, कार्यनीति, ढाँचा, संरचना, सञ्चालन प्रक्रिया, व्यवस्थापन प्रणाली तथा नतिजा सूचकहरूमा रूपान्तरणको जरूरी छ। राष्ट्रिय मापदण्ड र अन्तराष्ट्रिय स्तर अनुकूलको पाठ्यक्रम, परीक्षा र मूल्याङन पद्धति आवश्यक हुन्छ। वैज्ञानिक, प्राविधिक, व्यावसायिक, सीपमूलक, रोजगारमूलक जीवनोपयोगी एवं गुणस्तरीय शिक्षामा सवैको सहज, सरल, सुलभ र समान पहुँच सुनिश्चित गर्नुपर्नेछ।

आज कोरोना भाइरसले विश्व समुदाय आक्रान्त भएको अवस्थामा स्वास्थ्यमा लापरवाही यति धेरै छ कि मास्क र स्यानिटाइजरको समेत प्रयोग नगरी भींडभाड गर्छन्। संस्कृतमा 'शरीरमाद्यम् खलु धर्म साधनम्' भनेर शरीर-स्वास्थ्यको महत्व दर्शाइएको छ। त्यस्तै अंग्रेजीमा 'Health is wealth' भनिन्छ। स्वस्थ्य शरीरमा नै स्वस्थ्य मनको विकास हुन्छ र तन मन स्वस्थ्य भए अपेक्षित बौद्धीक विकास सम्भव छ। यति कुरा पनि थाहा छैन भनेपछि यहाॅको शिक्षाले मानिसको चिन्तनमा कति व्यवहारिक परिवर्तन गरेको रहेछ भन्ने ऐले प्रष्ट भएको छ।

शिक्षणमा एउटा अनिर्णयात्मक मूल्यांकन(Non judgemental evaluation) हुन्छ जुन विद्यार्थीहरूले प्राप्त गरेको अंकको आधारमा उत्तीर्ण वा अनुत्तीर्ण भन्दा पनि सिकाइ भयो या भएन त्यसको आधारमा लेखाजोखा गरिन्छ। निर्माण वा सुधारमा बल दिइन्छ। मात्रामा भन्दा गुणस्तरमा उपलब्धीको हिसाब गरिन्छ। अनिर्णयात्मक मूल्यांकनलाई प्राथमिकता दिनुपर्ने चूनौती र अवसर दुबै हो यसलाई अवलम्बन गर्न जरूरी छ। शैक्षिक र मूल्यांकन प्रणालीलाई सुधार गर्नुपर्ने समय आएको छ। एस ई ई मा अब देखि विद्यालयले नै जाॅच लिने निर्णय उत्कृष्ट हो किनकी SEE को नाममा ब्यापार हुने गर्थ्यो। धनी वर्गले महङ्गो बोर्डस र ट्युसन पढाउने तर सार्वजनिक विद्यालयमा भने उचित विधी, पाठ्यसामग्री र प्रयोगात्मक सामग्रीको अभाव र लापरवाहीले प्रतिस्पर्धी बन्न नसक्ने हुन्थ्यो त्यसको अन्त्य हुन जरूरी थियो।

शैक्षिक र मूल्यांकन प्रणाली यस्तो हुनुपर्छ जसमा विद्यार्थीका कमीकमजोरीहरू औल्याउन सकियोस र सुधारात्मक कदम चालियोस। उसको मनोवैज्ञानिक र शारीरीक तथा मानसिक परीक्षण गरियोस, उसको कौशल, रुची, प्रवृत्ति र झुकाव आदिको पहिचान गरेर ती क्षेत्रमा उसलाई प्राप्त हुन सक्ने सफलताको भविष्यवाणी गरियोस र सो क्षेत्रमा लाग्न प्रोत्साहन गरियोस। समयानुकूल परिवर्तित एवं परिमार्जित पठनपाठन सामग्री सिकाइ कृयाकलापहरू अपनाएर स्तर वृद्धि गरियोस।

वर्तमान समयमा नेपाल कोरोना भाइरसको महामारीसंग जुधिरहेको छ र सङ्क्रमणको संख्या पनि दिनानुदिन बढ्ने क्रममा छ। कहिले सम्म यसको चपेटामा बस्नुपर्ने भन्ने बारेमा ठ्याक्कै आॅकलन गर्न सखिदैन किनकी ऐले सम्म औषधि वा भ्याक्सिन पत्ता लागेको छैन। साथै बाढीपहिरोले मुलुक आक्रान्तमा परेको छ र शहरका प्राय विद्यार्थीहरू पनि गाउॅमा गएका छन् यस्तो अवस्थामा शिक्षा मन्त्रालयले ठोस निर्णय लिन नसक्नु र त्रिभुवन  विश्वविद्यालयले परीक्षा लिन खोज्नु गलत छ। किनकी तीन घण्टाको परीक्षाले विद्यार्थीको योग्यता निर्धारण गर्दैन।

विद्यार्थी तथा नागरिकबाट परीक्षाहरू आन्तरिक मूल्याङ्कनमार्फत ग्रेडिङ गरी विद्यार्थीको कक्षावृद्धि गर्न, विपद् जोखिमका लागि सचेतना कार्यक्रम ल्याउन र वैकल्पिक उपायको शिक्षा सञ्चालन गर्नका लागि आवाज उठिरहेको छ

यसबाट नेपालको शिक्षणपद्धतिमा सूचना प्रविधिको प्रवेश प्रारम्भ हुन लागेको बुझ्न सकिन्छ । हुन पनि विश्वका विकसित मुलुकका शिक्षा प्रणालीसँग तादात्म्य राख्न पनि कोरोनाकाल हाम्रा लागि प्रविधिमैत्री शिक्षा प्रणालीको खाका कोर्ने उपयुक्त अवसर बन्न सक्नेछ ।

नेपाल सरकारले वैकल्पिक माध्यमबाट शिक्षा प्रणालीको निरन्तरताका लागि नीतिगत खाका कोर्न थालेपनि तत्काल पाठ्यक्रम र परीक्षा प्रणालीमा आमूल परिवर्तनको कल्पना गरेको छैन तर यो समय परिवर्तनको एउटा उत्तम अवसर हो।

कोरोना सङ्क्रमणको जोखिम न्यून गर्न सामाजिक दूरी कायम गर्नुपर्ने भएकाले विद्यमान शिक्षा पद्धति र सामाजिक संस्कारमै नयाँ मोड सिफ्ट ल्याउन सक्ने देखिएको छ।

अन्त्यमा, विद्यार्थीको योग्यता तीन घण्टाको परीक्षा वा प्राप्तांकमा होइन उसमा भएको व्यवहारिक परिवर्तनले निर्धारण गर्छ।

(अर्घाखाॅचीकी लेखिका हाल काठ्माण्डौमा अध्ययनरत विद्यार्थी हुन्।) 

अन्य समाचारहरु