काभ्रेको रोशीमा सडक दुर्घटनामा ज्यान गुमाउने ५ जनाको सनाखत

काभ्रेको रोशीमा सडक दुर्घटनामा ज्यान गुमाउने ५ जनाको सनाखत

नगेन्द्र अधिकारी कान्तिपुर

काभ्रे — काभ्रेको रोशी गाउँपालिका-११ भएको सडक दुर्घटनामा ज्यान गुमाउनेको सनाखत भएको छ । बुधबार दिउँसो भारतीय पर्यटक बोकेको मिनीबस र जिप एकापसमा ठक्कर खाँदा ५ जनाको मृत्यु हुनुको साथै १९ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी हरि खतिवडाका अनुसार दुर्घटनामा ज्यान गुमाउनेहरूमा सिन्धुलीको कमलामाई नगरपालिका-६ रामपुरका ३० वर्षीय विक्रम श्रेष्ठ, रामेछापको खाँडादेवी गाउँपालिका-३ की सम्झना भुसाल र उनका ६ वर्षीय छोरा संगीत भुसाल, सुनकोसी गाउँपालिका-१ की ४४ वर्षीया प्रमिला नेपाली र कमलामाई नगरपालिका-४ स्थायी घर भएका जिप चालक हरिबहादुर वल रहेका छन् ।

दुर्घटनामा मृत्यु हुनेहरू सबै जिपमा सवार यात्रु हुन् । त्यस्तै दुर्घटनामा घाइते भएका १९ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भारतीय पर्यटक बोकको यूपी५८टी ८१८१ नम्बरको मिनी बस गाडी र काठमाडौं जाँदै गरेको ना १ ज ४२१० नम्बरको जिप एकापसमा ठोक्किएका हुन् ।

तीव्र गतिमा रहेको जिप अनियन्त्रित हुँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते जिपमा सवार शीतल भण्डारीका अनुसार, घटना करिब १२ बजेतिरको हो । २ बजे काठमाडौंबाट फर्कनु पर्ने भन्दै चालकले जिप तीव्र गतिमा चलाएका थिए ।

‘नेपालथोकमा नै ढिला भइसकेका थियो, ड्राइभर अकंलले २ बजे काठमाडौं पुग्नुपर्ने भन्दै हुनुहुन्थ्यो,’ घाइते शीतलले भनिन्, ‘गाडी स्पिडमा नै थियो, छेउमा गएर उत्ताबाट आएको गाडीमा ठोक्किहाल्यो, अगाडि बस्नेहरु च्यापिएर निस्कनै सक्नुभएन, हामी पछाडि बसेकाहरु निस्कन सक्यौं ।’ भण्डारीका अनुसार, २ बालक, चालकसहित जिपमा १३ जना सवार थिए ।

घाइतेमध्ये १२ जना सामान्य, ५ जना मध्यम र १ जना गम्भीर अवस्थाका छन् । घाइते सबैको धुलिखेल अस्पतालमा उपचार गराइएको छ । 

अन्य समाचारहरु