राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीलाई ज्यान मार्ने धम्की दिने व्यक्तिको खोजी कार्य तीब्र

काठमाडौं  - प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई ज्यान मार्ने धम्की दिने व्यक्तिको खोजी कार्य तीब्र पारिएको तर उहाँको पूर्ण सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।
 
व्यवस्थापिका-संसदको राज्य व्यवस्था समितिको आज सिंहदरबारमा बसेको बैठकमा नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले जनमोर्चाका अध्यक्ष तथा समितिका सदस्य केसीमाथि ज्यान मार्ने धम्की दिने व्यक्तिको खोजीका लागि के भइरहेको भन्ने प्रस्ताव राख्नुभएपछि प्रधानमन्त्री भट्टराईले सो प्रतिबद्धता व्यक्त गरेका हुन्।

नेता ज्ञवालीले समितिका ज्येष्ठ सदस्य तथा जनमोर्चाका अध्यक्ष केसीलाई ज्यान मार्ने धम्की आएको लामो समयसम्म पनि सरकारले कुनै कारबाही अगाडि नबढाएकोले सरकारी पहलका बारेमा समितिलाई जानकारी गराउन माग गर्नुभएपछि समितिका सभापति रामनाथ ढकालले प्रधानमन्त्री भट्टराईलाई जवाफ दिन समय दिएका हुन्।

प्रधानमन्त्री भट्टराईले सो विषयमा सुरक्षा निकायलाई जानकारी गराइसकेको र धम्की दिने व्यक्तिको पहिचान गर्न तथा फोन आएको नम्बरको पहिचान गर्नसमेत सुरक्षा निकायलाई निर्देशन दिइसकेको जानकारी गराउँदै अध्यक्ष केसीको उचित सुरक्षाको व्यवस्था सरकारले गरिसकेको बताए।

अध्यक्ष केसीले पुस २४ गतेदेखि आफूलाई निरन्तर ज्यान मार्ने धम्की आइरहेको र सो का बारेमा सरकारलाई समेत जानकारी गराउँदा पनि अहिलेसम्म कुनै कारबाही अगाडि नबढाइएकोमा आपत्ति जनाउँदै सभासद्समेतको ज्यान मार्नेको पहिचान हुन नसक्ने मुलुकमा सर्वसाधारणको अवस्था कस्तो होला भनी प्रश्‍न गरेका थिए।

समितिका सभापति ढकालले समितिका ज्येष्ठ सदस्य तथा जनमोर्चाका अध्यक्ष केसीलाई धम्की दिने अपराधीको चाँडोभन्दा चाँडो पहिचान गरेर कडा कारबाही गर्न र केसीको जीउधनको रक्षा गर्न सरकारलाई निर्देशन दिएका थिए। रासस

अन्य समाचारहरु