एमाले झलनाथ खनालद्धारा निर्धारित समयमै संविधान बन्ने-नबन्ने अझै ग्यारेन्टी गर्न सक्ने अवस्था नभएको उल्लेख

- कृष्ण आचार्य
 
पालुंटार, गोरखा  - एमाले अध्यक्ष झलनाथ खनालले निर्धारित समयमै संविधान बन्ने/नबन्ने अझै ग्यारेन्टी गर्न सक्ने अवस्था नभएको बताएका छन् ।

एमाले तेस्रो ठूलो दल भएको र अन्य दुई ठूला दल जिम्मेवार हुने/नहुने विश्वास नभएकाले जेठ १४ भित्र संविधान बन्ने विषयमा ग्यारेन्टी गर्न नसक्ने भएको खनालले बताएका हुन् । 'संविधान निर्माणमा अझै चुनौती छ । म त्यो विषय ग्यारेन्टी गर्न सक्दिन' एमाले क्षेत्र नम्बर दुईको उद्‍घाटन गर्दै अध्यक्ष खनालले बिहीबार गोरखामा भने, 'सबैभन्दा ठूलो पार्टी माओवादी र दोस्रो ठूलो पार्टी कांग्रेसले विगतमा भएदेखिका सहमति पालना गर्ने/नगर्ने विश्वास नभएकाले ग्यारेन्टी गर्न नसकेको हुँ ।'

शान्ति प्रक्रिया विवादित धेरै विषय पनि टुंगिन समय लाग्ने भएकाले निर्धारित समयमै संविधान जारी गर्ने विषयमा अध्यक्ष खनालले शंका व्यक्त गरेका छन् । 'सहमतिको सरकार लगायत केही विषय टुंगिए पनि थप महत्त्वपूर्ण सवालमा सहमति कायम गर्न बाँकी छ' उनले भने, 'दुःखको  कुरा जेठ १४ आउनै लागेको छ, २२/२५ दिन बाँकी छ । यति छोटो समयमा संविधान निर्माण गर्न सकौंला त । हाम्रा सामु जटिल प्रश्न उब्जिएको छ ।'

निर्धारित समयमै संविधान बन्ने/नबन्ने भन्ने विषय अहिले संसारकै कठिन प्रश्न भएको उनले दाबी गरे । 'यो ठूलो यक्ष प्रश्न हो' खनालले भने, 'तर, पनि सयममै संविधान जारी गर्न कम्मर कसेल लागिपरेका छौं ।' सबै इमान्दार भएर लागिपरे जेठ १४ मा संविधान जारी भएरै छाड्ने खनालको विश्वास थियो । खनालले बिहीबार भएको पाँच बुँदे सहमतिलाई पाँच/छ महिनादेखी देशमा माओवादी र मधेशी मोर्चावीचको अधिनायकवादको अन्त्यको टिप्पणी गर्न भ्याए । 'यो सहमति अरू केही होइन अधिनायकत्व अन्त्य हो' खनालले भने, 'अब सहमतिको सरकार बन्छ ।'

अन्य समाचारहरु