मिथिला राज्य सङ्घर्ष समितिको आह्वानमा मिथिला क्षेत्र बन्द

जनकपुरधाम  -  मिथिला राज्य सङ्घर्ष समितिको आह्वानमा आइतवार पनि मिथिला क्षेत्र बन्द गरिएको छ । मिथिला राज्यको माग गर्दै धर्नामा बसेका माथि गत सोमबार बम बिस्फोट गराइँदा पाँच जनाको मृत्यु भएपछि समितिद्वारा अनिश्चितकालीन मिथिला क्षेत्र बन्द आह्वान गरेको थियो ।

बम बिस्फोटनमा परी रन्जु झा, सुरेश उपाध्याय, झगडु मण्डल, विमल शरण दास र दीपेन्द्र दासको मृत्यु भएको थियो । बम बिस्फोटमा परी घाइते भएकामध्ये काठमाडौँको शिक्षण अस्पतालमा उपचार भइरहेको वजिर शेखको अवस्था पनि चिन्ताजनक रहेको छ ।

राजधानी माग्दै वीरगन्जमा आन्दोलन

सङ्घीय संरचनामा वीरगन्जलाई भोजपुरी प्रदेशको राजधानी बनाउन माग गर्दै वीरगन्जवासी आन्दोलित भएका छन् ।

भोजपुरी क्षेत्रलाई अखण्ड राख्ने र त्यसको राजधानी वीरगन्जलाई बनाउने मागसहित वीरगन्जवासीले आइतवार वीरगन्जमा जुलुस प्रदर्शन गरेका छन् ।

ऐतिहासिक पृष्ठभूमि र यथेष्ट भौतिक पूर्वाधार भए पनि राज्य पुनःसंरचनाको खाकामा वीरगन्जलाई बेवास्था गरिएको भन्दै जिल्लास्थित विभिन्न राजनीतिक दलको सहकार्यमा नागरिक समाज, उद्योगी व्यवसायी, सञ्चारकर्मी, मानवअधिकारकर्मीलगायत सबै पक्षको सहभागितामा संयुक्त सङ्घर्ष समिति गठन गरेर शनिबारदेखि चरणबद्ध आन्दोलन सुरु गरिएको हो ।

आफ्ना माग पूरा गराउनका लागि सङ्घर्ष समितिले भोलि पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउने र त्यस सम्बन्धमा सरकारले तत्काल कुनै पहल नगरिए दबाबका लागि सशक्त आन्दोलन गर्ने सङ्घर्ष समितिका सदस्य राम सरार्फले बताए ।

अन्य समाचारहरु