जेठ १ देखि शनिबार र आइतबार बैंक, शैक्षिक संस्थामा पनि सार्वजनिक विदा

जेठ १ देखि शनिबार र आइतबार बैंक, शैक्षिक संस्थामा पनि सार्वजनिक विदा

काठमाडौं : जेठ १ देखि शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय शैक्षिक संस्थामा पनि कार्यान्वयन हुने भएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले वार्षिक विदा कटौति गरेर हप्तामा दुई दिन विदा दिने निर्णय भएको बताए। ‘आइतबार पनि विदा गर्दा नपुग हुने समयमा शुक्रबार तीन घण्टा थप पढाउनुपर्ने हुन्छ। नपुग हुने दिन हिउँदे वा वर्षे विदा हुन्छ ४५ दिन लगातार विदा हुन्थ्यो। घटस्थापनादेखि तिहारसम्म पूरै विदा हुन्थ्यो। ती विदाहरुबाट कटौति गरेर बाँकी दिन पूरा गर्नुपर्छ,’ शर्माले अन्नपूर्णसँग भने।

मन्त्रिपरिषद्को वैशाख १४ गते बसेको बैठकले शनिबार र आइतबार गरी दुई दिन विदा दिने निर्णय गरेको थियो। शिक्षा तथा मानवस्रोत विकास केन्द्रले निर्णय कार्यान्वयन गर्न विद्यालयहरुलाई परिपत्र गरेको छ। 

विद्यालयहरुले साविक बमोजिम नै विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म विद्यालयमा पठनपाठन सञ्चालन गर्नुपर्ने छ। शुक्रबार दिनको १ बजेसम्म पठनपाठन सञ्चालन हुँदै आएकोमा सो दिन पनि अन्य दिनहरुमा जस्तै अपरान्ह ४ बजेसम्म पठनपाठन सञ्चालन गर्नुपर्ने छ। राष्ट्रिय पाठयक्रम प्रारुप-२०७६ ले निर्दिष्ट गरे बमोजिमको पाठयघन्टा र कार्यघन्टामा नघट्ने गरी पठनपाठनका कार्यहरु सञ्चालन गर्नका लागि आइतबार सार्वजनिक विदा दिएका कारण अपुग हुने समयावधि हिउँदे वा वर्षे वा अन्य विदाबाट कटाई पूर्ति गर्ने निर्णय गरेको छ। अन्नपूर्णमा समाचार छ ।  

बैंकमा पनि सातामा दुई दिन विदा

काठमाडौं : अब बैंकहरुमा पनि साताको दुई दिन सार्वजनिक बिदा हुने भएको छ। नेपाल राष्ट्र बैंकले बुधबार एक सूचना जारी गर्दै शनिबार र आईतबार साप्ताहिक बिदा दिने घोषणा गरेको हो। सरकारले जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने घोषणा गरेसँगै राष्ट्र बैंकले पनि कार्यालय खुल्ने समय संशोधन गरेको हो।

आगामी जेठ १ गतेदेखि लागू हुनेगरी साप्ताहिक बिदा बढेसँगै अब सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय साढे ९ देखि साढे ५ बजेसम्म खुल्ने राष्ट्र बैंकले बताएको छ। तर कात्तिक १६ देखि माघ १५ गतेसम्म भने बिहान साढे ९ देखि अपरान्ह साढे ४ बजेसम्म कार्यालय खोलिने समय तालिका रहेको छ।   तर बैंकिङ कारोबार समय सोमबारदेखि शुक्रबारसम्म बिहान साढे ९ देखि साँझ ४ बजेसम्म र कायम गर्ने तर कात्तिक १६ देखि माघ १५ गतेसम्म बैंकिङ कारोबार समय बिहान साढे ९ देखि अपरान्ह साढे ३ सम्म कायम रहने बताइएको छ।

यसैगरी केन्द्रीय बैंकले २०७९ सालको लागि निर्धारण गरिएका दशैं र तिहारका लागि सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार २ दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि बैंकिङ विभाग र मुद्रा व्यवस्थापन विभागबाट प्रवाह हुने सेवा, भुक्तानी प्रणाली विभागबाट प्रवाह हुने आरटिजीएस (रियल टाईम ग्रस सेटलमेन्ट) सेवा, मौद्रिक व्यवस्थापन विभागबाट प्रवाह हुने सेवालगायत अन्य अत्यावश्यक सेवाहरु, अत्यावश्यकिय बैंकिङ सेवाहरुलाई नियमित गरिने बताएको छ।

यस्तै राष्ट्र बैंककाअनुसार कार्यालय हप्तामा २ दिन बिदा हुन थालेपछि साताभर सम्पन्न गरिएका कार्यहरुको सूची, दैनिकी तथा सेवा प्रवाहको संख्या अध्ययन तथा मूल्याङकनका लागि अभिलेखमा राखिने छ। अन्नपूर्णमा समाचार छ । 

अन्य समाचारहरु