श्रीलंकाको अर्थतन्त्र पतन,खाद्यान्न, इन्धन र विजुली अभाव, तेल आयातको लागि समेत एक डलर छैन ।

श्रीलंकाको अर्थतन्त्र पतन,खाद्यान्न, इन्धन र विजुली अभाव,  तेल आयातको लागि समेत एक डलर छैन ।

- एजेन्सी  / कोलम्बो (श्रीलंका) - कर्जामा चुर्लुम्म डुबेको श्रीलंकाको अर्थतन्त्र पतन भएको छ । त्यहाँका प्रधानमन्त्री रनिल विक्रेमेसिंघेले बुधवारयस्तो बताएका हुन् । खाद्यान्न, इन्धन र विजुली अभावसँग महीनौंदेखि जुधिरहेको श्रीलंकासँग अहिले तेल आयातको लागि समेत एक डलर छैन ।

‘अहिले हामीहरुले इन्धन, ग्यास , बिजुली र खानेकुराको अभावभन्दा पनि निकै गम्भीर अवस्था भोगिरहेका छौं, हाम्रो अर्थतन्त्र पूरै धराशयी भइसकेको छ । यो आज हाम्रो सामु सबैभन्दा गम्भीर विषय बनेको छ’, संसदमा बोल्ने क्रममा उनले भने । विक्रेमेसिंघे श्रीलंकाका अर्थमन्त्री समेत हुन् । उनलाई अर्थतन्त्र स्थीर बनाउने जिम्मा समेत दिइएको छ ।

उच्च कर्जा, कोभिडका महामारीका कारण पयर्टन आम्दानी गुमेकोलगायत अन्य प्रभाव र कमोडिटिजको भाउमा भएको वृद्धिका कारण कुनै समय दक्षिण एशियाको सबैभन्दा बलियो अर्थतन्त्रको रुपमा रहेको श्रीलंका अहिले पतन भएको छ । अहिले श्रीलंकाको सरकारी तेल कम्पनी सिलोन पेट्रोलियम ७० करोड डलर कर्जामा डुबेको उनले संसदमा भनेका छन् ।

बक्यौता रकम आकाशिएको अवस्थामा अहिले श्रीलंकालाई विश्वका कुनै पनि देश वा संगठनले इन्धन दिन मानेका छैनन् । कतिपयले त पैसा नै लिएर पनि इन्धन दिन नमानिरहेको अवस्था भएको पनि उनले बताएका छन् । सरकार सचेत बनेको भए समय घर्किनु अगावै अवस्था सुधार्न सकिन्थ्यो । तर विदेशी विनिमय सञ्चिति सुक्दै गएको र समयमै सरकारले सतर्कता नअपनाएपछि अहिले श्रीलंकाको अवस्था बिजोग छ । 

शुरुमै कम्तिमा पनि अर्थतन्त्रलाई धराशयी हुने क्रम सुस्त बनाउन मात्रै कदम  चाल्न सकिएको भए आजै यस्तो दिन देख्नु नपर्ने  विक्रेमेसिंघेले भनाइ थियो। तर आफूहरुले सो अवसर गुमाइसकेको र अब भने खाल्डोमै झर्ने संकेत देखिएको पनि उनले बताए । श्रीलंकासँग विदेशी विनिमय सञ्चिति रित्तिदै गएको अवस्थामा केही समयअघि भारत र चीनले क्रेडिट लाइन दिएका थिए ।

तर सो सहयोगको भरमा मात्रै श्रीलंका धेरै दिन टिक्न सक्दैन । विदेशी विनिमय सञ्चिति नभएको भन्दै  श्रीलंकाले यसअघि नै विदेशी कर्जादार्तालाई तिर्नु पर्ने ७ अर्ब डलरको साँवा ब्याज भुक्तानी रोक्का गरेको थियो । अहिले अन्तरराष्ट्रिय मुद्रा कोषसँग श्रीलंकाले वित्तीय उद्धारबारे छलफल गरिरहेको छ ।




अन्य समाचारहरु