कोभिड-१९ र आत्महत्या

कोभिड-१९ र आत्महत्या

-जाहिदा बानू 

काठमान्डौ -  क्षणभरको सुन्दरता छर्न बसन्त आउॅछ। फेरि, शिशिरको आगमन संगै सारा सुन्दरता उजाडिएर जान्छ। कठ्याङ्ग्रिदो शरद संगै फूल ओइलिएर झर्छ। सुखी सम्पन्न मानिसले पनि दु:खको सामना गर्नुपर्छ। प्रत्येक पल्ट दु:ख पछि सुख पनि आउॅछ। दिन पछि रात आए झैं मानवीय जीवनमा पनि प्राकृतिक चक्र हुन्छ। जीवन सुख र दु:खको सम्मिस्रण हो। 

जन्मेदेखि नमरेसम्म प्रत्येक व्यक्तिले जसरी पनि बाॅच्नै पर्छ। सम्पूर्ण मानिसको जिन्दगीमा सङ्घर्ष एवम् सुख-दु:खको अवसर आइनै रहेको हुन्छ। हरेक मान्छे मृत्युको आगमन संगै लडीबुडी खेलेर बाॅच्दछन। जीवन कुनै भौतिक वस्तु होईन यो त केबल क्षणीक उपभोग गर्न सकिने वस्तु मात्र हो। जीवन र मृत्युको दोसाॅधमा उभिएर पनि मुस्कुराइरहेका मानिस हामी देख्न सक्छौं। तसर्थ, सुख-दु:ख, राम्रो-नराम्रो जीवनमा जे जस्ता उतारचढाव आए पनि हामीले सहर्ष स्वीकार्दै अगाडि बढ्नु पर्छ। जीवनको अर्थ हाम्रो परिकल्पना भन्दा बाहिरको कुरा हो। जीवन एउटा रहस्य हो जहाॅ हामीले धेरै कुराहरु सिक्न र जान्न पर्ने हुन्छ। वास्तवमा जीवन आश्चर्य र कठीनाईहरुको यात्रा हो। जीवन भोगाईका क्रममा आउने वाधाव्यवधानहरु पार गर्नु मानवीय जिम्मेवारी हो। हरेक मान्छे स्वयं आत्महत्याको अवचेतना लिएर बाॅच्छ। जीवनले कठोर सङ्घर्ष गर्नु पर्ने हुुन्छ। संसारमा यस्तो मानव छैन जसलाई दिनहु नयाॅ समस्याहरुको सामना गर्नुपर्दैन। मृत्यु नै सबै समस्याहरुको समाधान हो भने फेरी जीवन किन हुन्छ ?

चीनको वुहान प्रान्तबाट देखापरेको कोरोना भाइरसको सङ्क्रमण अहिले संसारका सबै देशहरुमा महामारीको रुपमा फैलिएको छ। भाइरस विरुद्धको औषधी पत्ता नलागुन्जेल पूर्व सावधानी वा सतर्कता नै  सङ्क्रमण बाट बच्ने एउटा उत्तम उपाय हो। राष्ट्रियस्तरमा नै यसलाई गम्भीरताका साथ प्राथमिकता दिंदै सरकारले लकडाउनको पूर्ण पालना गर्न निर्देश दिएको छ।

विश्व स्वास्थ्य संगठन(WHO) ले कोभिड-१९ को महामारीमा मानसिक समस्या बढ्ने छ भनेर पहिल्यै भविष्यवाणी गरेको थियो। र, आज वास्तवमा यो समस्या एउटा ठूलो चुनौती बनेको छ। कोरोना भाइरसबाट अर्थव्यवस्थाको बिग्रदो हालत देखेर जर्मनीका वित्त मन्त्री थामस शेफरले हात्म हत्या गरेका थिए। नेपालमा पनि लकडाउनमा हात्महत्या गर्नेको सङ्ख्या २० प्रतिशतले बढेको छ। नेपालमा ३१ मे   सम्मको डाटालाई हेर्दा ८७५ जनाले आत्महत्या गरेको पाइएको छ भने हालसम्म १०००+ ले आत्महत्या गरेका छन।
लकडाउन वा कोरोना महामारीमा आत्महत्याको प्रमुख कारणहरुमध्ये सामाजिक दुरी, एक्लोपन, कोरोनाको भय र त्रास, बेरोजगारी, गरीबी, एङ्जाइटी, घरेलु हिंसा, कर्जा, संक्रमणको उच्च जोखिम, अपर्याप्त सुरक्षा सामग्री, अधिक काम, सामाजिक उपेक्षा र निराशा ईत्यादी हुन जसले तनाव, अनिद्रा, चिन्ता, डिप्रेसन र अन्त्यमा आत्महत्याको विचार निम्त्याएको छ।

समान्य बिरामी परियो भने पनि उपचार नपाइने भयले सर्वसाधारण पिरोलिएका छन्। उदाहरणका लागि ज्वरो आउनु धेरै रोगहरुको लक्षण हो। तर यही ज्वरो आउनु भनेको अपराधी हुनु जस्तो सावित हुँदै गएको छ। अरु नै कारणले ज्वरो आउँदा पनि उपचार नपाएर भौंतारिएका समाचार, उपचार नपाएर मृत्यु भएका समाचार, एम्बुलेन्सले बिरामी बोक्न नमानेका समाचार, स्वास्थ्य संस्थाले ढोका लगाएका समाचारले व्यक्ति, परिवार र समाजमा निकै ठूलो भय र चिन्ता सृजना गरेको छ।

समयमा नै मानसिक स्वास्थ्य समस्याको रोकथाम, निदान, मनोवैज्ञानिक परामर्श र उपचारको व्यवस्था गर्न सकिएन भने देशको आर्थिक र सामाजिक विकास तथा स्वास्थ्य क्षेत्रमा दीर्घकालीन नकरात्मक प्रभाव पर्न सक्छ।

नेपालमा अझ अहिले कोभिड-१९ को माहामारीभन्दा पनि गलत सूचनाको कारणले मानिसहरुमा बढी डर, त्रास र तनाव  उत्पन्न भएको छ। यसको लागि सूचनाको भरपर्दो स्रोत मात्र प्रयोग गर्ने गर्नुपर्छ। यसको लागि, स्वास्थ्य मन्त्रालयले नै प्रत्येक दिन कोभिड-१९ को बारेमा अपडेट गर्दै आएको छ।

अहिलेको अवस्थामा कतिको रोजगारी गुमेको छ। कति आफ्नो बासस्थान पुग्न पाएका छैनन्। कति मानिस चाहेर पनि आफ्नो परिवार संग एकसाथ हुन पाईरहेका छैनन, कतिको जीवनशैलीमा नै परिवर्तन आएको छ यस्तो पीडाले उनीहरुमा आउने निराशा, एक्लोपना, विचलन, उपेक्षित हुनुको भावना र थकानले मनोविज्ञानमा नकारात्मक असार पारेको छ।

अर्को कुरा, कोभिड-१९ को डर र त्रास कम गर्न सामाजिक सञ्जालको कम प्रयोग गर्ने, आफूलाई शारीरिक रुपमा सकृय बनाइरहने र परिवार, साथीभाइ र नातेदारसँग कुराकानी गरिराख्ने गर्नुपर्छ।

कोरोना संक्रमित र संक्रमितको परिवारलाई हेला, उपेक्षा र घृणा नगर्न विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ।

यस्तो बेलामा चिन्ता लाग्नु, अत्यासिनु, निराश हुनु सामान्य कुरा हो । त्यसैले यो बिर्सिनु हुदैन कि यस्तो अनुभव गर्ने म एक्लै मात्रै हैन। तसर्थ यसलाई सामान्य लिनुपर्छ।

विभिन्न माध्यममार्फत गलत सूचनाहरु प्रसारित भइरहेका छ्न् । त्यसैले भरपर्दो र विश्वास गर्न सकिने ठाउँबाट मात्रै सूचना र जानकारी लिनुपर्छ।

होमवर्क गर्ने, टिभी हेर्ने, नयाँ किताब पढ्ने, आफूलाई रमाइलो लाग्ने कुराले मन भुलाउनुपर्छ। परिवार संग अत्याधिक समय बिताउने र कलात्मक सामग्री निर्माण गर्नुपर्छ।

अहिले हामी संग फुर्सदै फुर्सद छ त्यसैले कुनै नयाँ किताब पढ्ने रहर थियो वा कुनै बाजा बजाउन सिक्ने मन थियो वा रहर लागेको कुनै सिप सिक्ने मन थियो भने अहिलेभन्दा राम्रो समय कहिल्यै पाउन सकिदैन समयको सदुपयोग गर्न सिक्नुपर्छ। 

एक अर्कालाई सहयोग गर्ने र दयालु बन्ने कोशिस गरौं।  कोहि दुर्व्यवहारमा परेको थाहा पाए त्यसलाई रोकौं । अरु समयभन्दा बढी अहिले हामी आफ्नो व्यवहार बारे सजग रहनु पर्छ । कसैको चित्त दुखाउनु हुन्न, सबैलाई सहयोग गर्नुपर्छ । त्यसैले सोचविचार गरेर व्यवहार गरौं।

सामाजिक सञ्जाल मार्फत आफ्ना छिमेकी, ईष्ट मित्र र नजीकको मान्छे संग घुलमिल हुनु पर्छ।
लकडाउनको समयमा प्राय मानिसहरु गाउॅ घरमा गएका छन तसर्थ त्यहाॅको जमीनलाई उत्पादनमूलक बनाउने कोशिश गरौं। खेतिपाती गरेर आफ्नो लागि अन्नको व्यवस्था गरौं।

आत्महत्याको समस्या महामारीबाट सिर्जना भएको होईन वर्तमान समयमा केबल संख्यामा वृद्दी भएको छ तर वास्तवमा यो पहिल्यै देखिको विश्वप्यपी समस्या हो। लकडाउनमा बाहेक अन्य दिनहरुमा आत्महत्या गरेका कयौं उदाहरणहरु पाईन्छ।

  • असफलता- जस्तै प्रेममा असफल हुनु , चाहेको घरमा विवाह नहुनु, परीक्षामा फेल हुनु, मेडिकल ईत्यादीमा थोरै नम्बरले सेलेक्ट नहुनु।
  • घरेलु हिंसा- आमा बुवा, दाई-भाई, सन्तान, सासु बुहारी, नन्द भाउजु आदिको मनमुटाव वा झगडा।
  • गालीगलौच- शिक्षक, आमा बुवा, ठूलो दाई, दिदी र स्रीमानले गाली गर्नु।
  • बेरोजगारी- आधारभूत आवश्यकता वा ईच्छाहरु पूरा गर्न नसक्नु।
  • बेईज्जतको डर- कुनै अपराधिक घटना वा पापजन्य काम गरेको।
  • ज्यान वा सम्पत्तीको नाश- कुनै प्रीय व्यक्तिको अचानक मृत्यु हुनु, कारोबार ध्वस्त हुनु, नोकरी जानु, चोरी डकैतीको शिकार हुनु ईत्यादी।

अहिले प्रकोपको बेलामात्र होइन, कोभिड-१९ को माहामारी सकिएपछि पनि आर्थिक अभाव, खाद्य असुरक्षा, गरिबी र भोकमरीले विभिन्न किसिमका मानसिक स्वास्थ्य समस्याहरुको बोझ बढ्ने सम्भावना प्रवल रहन्छ। लकडाउनमा मजदूरहरुको दयनीय सबैलाई थाहा नै छ।

सरकारले पनि अब सुव्यवस्थित ढंगले लकडाउनको अन्य विकल्प खोज्नुपर्छ। कोरोना संक्रमणले भन्दा आत्महत्याले मृत्यु हुनेहरु बढेका कारण राज्यले यसतर्फ केन्द्रित भएर कदम चाल्नु पर्छ। घरमै सुरक्षित बस भन्न सजिलो छ तर दिनभर काम गरेर साॅझ बिहान खाने जोहो गर्नेहरुलाई लकडाउन अत्यन्तै भारी परेको छ। राहत पनि कहिले सम्म र आखिर को कसलाई पुर्याउॅछ  सरकार। वास्तवमा मध्यम वर्ग अझ बढी चपेटामा परेको छ। आवतजावत, व्यवसाय, उद्दोग कलकारखाना, अफिस, ब्याङ्क, धार्मिक स्थलहरु बन्द छन। विभिन्न अपराधिक घटनाहरु बढिरहेका छन। दैनिक ज्यालादारी गरिखानेहरू सब भन्दा बढ़ी अहिले भोकको कारणले मृत्युको अकालमा पुगिन्छ की भन्ने डरमा छन। रोगको डरले छोए पनि प्रत्यक्षमा भोकको डरले बढ़ी चिन्तित छन। राष्ट्रको शैक्षिक र आर्थिक अवस्था दयनीय हुँदै गएको छ ।

कोरोना भाइरसँगको जीवनमरणको यो भयानक संघर्ष पछाडि भौतिक वा जैविक कारण अवश्य छ। प्रकृति, पशुपंक्षी र पृथ्वीका विविध वातावरणहरुको दुरुपयोग र कुव्यवहार गरेको मानवले नैतिकवान बन्न पर्छ भन्ने पाठ सिक्नुपर्छ। कोरोनाको यो महामारीलाई सकरात्मक लिन सक्यौं भने यसबाट चेतना हासिल गर्न सक्छौं। हरेक व्यक्तिलाई आत्मनिर्भरता र नैतिकताको सन्देश दिन आएको महामारीलाई हामी शिक्षाको रुपमा लिन सक्छौं।

अन्त्यमा, सरकारले मानसिक स्वास्थ्यलाई असर नपुग्ने किसिमको सहज वातावरण दिनुपर्छ र मानवले पनि मृत्यु समस्याको समाधान होईन भन्ने कुराको चेतना राख्नुपर्छ।

लेखिकाको बारेमा: जाहिदा बानू, छत्रदेव, अर्घाखाँची र हाल काठमाडौं अध्ययनरत छिन् । 

अन्य समाचारहरु