मुलुकको राजनीतिलाई नियालेर हेर्दा

मुलुकको राजनीतिलाई नियालेर हेर्दा


पपुलर बेल्बासे 

राजनीति यो शब्द आफैमा कति गहन र भलाद्मी छ। जसको अर्थ राज भनेको “ शासन ” र नीति भनेको “ उचित स्थान माथि उचित कार्य गर्ने कला “ भन्ने बुझिन्छ। अर्थात् कुनै खास नीति मार्फत चलाउनु वा कुनै खास उद्देश्य हासिल गर्नुलाई राजनीति भनिन्छ। अर्को शब्दमा भन्नु पर्दा जनताको सामाजिक र आर्थिक स्तर (सार्वजनिक जीवनस्तर) उठाउनु राजनीति हो। विश्वका अतिबिकशित मुलुकहरु आज जुन गगनचुम्बी बिकाश गरेका छन् । राज्य,जनता र आफ्नो मुलुकको अस्थित्व र परिचय संसार माझ पुराउन सफल भएका छन् । विश्वमा आफ्नो मुलुकलाइ नमुना मुलुक सम्पन्न र सम्बृद्ध बनाउन तछाड मछाड गर्दै लागि परेका छन्। विभिन्न खोज तथा बिगत देखि बर्तमान सम्म टेक्दै आइरहेका पदचाप लाइ परिमार्जित गर्दै समय संग सापेक्ष्य भएर आफ्नो मुलुकलाइ संसारमा उत्कृस्टता प्रदान गर्ने क्रममा बिगतका ति बिचार र पद्धितीलाइ क्रमिक रुपमा समय सापेक्ष्यमा ढाल्दै अगाडि बढिरहेका छन् । के यी सबै कुराहरु यत्तिकै सृजित भएका छन् त जसरि प्रकृतिले आफ्नो सम्पूर्ण क्रियाकलाप ,प्रजाति र प्रक्रियालाई निरन्तरता दिन पारिस्थितिक पद्धती निर्माण गरेको जस्तो ? कदापि होइन यी सबै राजनीतिका उपज हुन्।

जब मुलुकमा चलिरहेको राजनीतिले त्यो एउटा ब्याक्ति पाउछ जो लामो अध्यायन र बिचारको गृहकार्य बाट राजनीतिमा उदाएको पात्र हुन्छ। त्यो ब्याक्ति जसले मुलुकमा चल्दै आइरहेको ब्याबस्था र नीतिलाइ अबलम्बन गर्दै समयसंगै राजनीतिका स्तम्भ र अबधारणाहरुलाई परिस्कृत र परिमार्जित गर्दै लग्दै जान्छ। जनताको सुखमा हर्सोल्लास वा र दु:ख मा मलम लगाउन विभिन्न जनमुखी कार्यक्रमहरु ल्याउछ। मुलकका उपलब्धिहरुलाई सस्थागत र कमजोरीहरुलाई जनता माझ लगेर आम जनताको सहभागिता र उनीहरुको जनमत लाइ कदर गर्दै परिमार्जित वा हटाउने साहास गर्न सक्छ हो त्यहि नै हो राजनेता हुन्छ। 

परिबर्तनको लागि संसारका धेरै मुलुकमा भएका राजनैतिक अभ्यास र क्रियापलाप भन्दा धेरै अभ्यासहरु हाम्रो देशमा पनि भएका छन् होला तर कम भने पक्कै पनि भएका छैनन्। राजनीति को उपज ब्याबस्था हो र सम्पुर्ण राजनैतिक फेरबदल संगै मुलुकको ब्याबस्थामा बदलाब नआउने त कुरै भएन। आज हामि प्रजातन्त्रलाई व्याख्या गर्ने उस्तै किसिमको राजनितिक सेरोफेरो र एउटै अन्तरास्ट्रिय राजनीतिको परिधिमा बधिएकै छौ। हाम्रो राजनितिको मूल धार प्रजातान्त्रिक र मार्क्सवादी चिन्तन र सिद्धान्तमा बधिएको छ। अहिले विकल्पको रुपमा केहि पार्टीहरु समाजबादी अबधारणा बनाएर देशको मूल राजनीतिमा बैकल्पिक मार्गको बाटो प्राप्त गर्न लागिपरेका छन् । प्रजातान्त्रिक अभ्यासको उदाहरण को लागि एकपटक हेरौ त संयुक्त राज्य अमेरिका ,क्यानडा र बेलायत संगै प्रजातन्त्रिक ब्याबस्था भएका अन्य सफल मुलुक हरुलाई अर्को तिर क्युवा र चिन हेरौ त कम्म्युनिस्ट विचारधारा अबलम्बन गरेका यी मुलुक संसारकै बिकशित र सुसज्जित छन्। संसारका धेरै देशहरु यहि सिद्धान्त र अबधारणालाइ अबलम्बन गर्दै गर्दा धेरै मुलुकहरु खुसि र सम्बृद्ध भए तर हामि र हाम्रो देश किन बिकशित हुन सकेन भन्ने प्रश्न पनि यहाँ उठ्न सक्छ ? किन फेरिदैन त हाम्रो देशको मुहार ?

आम जनतामा जहानिया राणाशासन पछाडी नेपालमा राजनीतिको चेतना र स्तर बढेको हो। यहा विभिन्न पार्टिहरु जन्मिय कसैले प्रजातन्त्रको वकालत गरिरहेका छन् त कोहि साम्यवादको । यी आदर्शहरुलाइ अबलम्बन गर्ने हालका ६०-७० नाघेका राजनैतिक पात्रहरु जो हालको पुस्ताको बैचारिक चिन्तन र बिबेकलाइ सम्बोधन र समर्थन गर्न सक्छन त ? ति पात्रहरुको बर्तमान कार्यशैली जो हालका पुस्ताहरु संग मेल खाने देखिदैन त्यसलाई समय अनुकुल व्याख्या तथा रुपान्तरण गर्न सक्छ्न त ? तर बिडम्बना हाम्रो देशमा अझै पनि ति पात्रहरु छन् जसले हिजो निरंकुश पन्चायत जन्मिदै गर्दा नेपाली राजनीतिमा पाहिला टेकेका भनौ वा राजनीतिमा आफ्नो उपस्थति जनाउन सुरु गरेका थिए । पछिल्लो 0६२/0६३ जन आन्दोलनमा त ति पात्रहरु मुख्य भूमिका नै निर्वाह गरेका थिय। पछिल्लो ७० बर्षे प्रजातन्त्रिक अभ्यासमा विभिन्न राजनैतिक फेरबदल भए , आम मानिसहरुमा धेरै जनचेतना र ज्ञानको बिकाश भयो तर ति पात्रहरु अझै पनि आफ्नो राजनैतिक परिचय अझै बढाउदै गैरहेका छन्। मुलुकका मुख्य राजनैतिक पद र प्रतिष्ठामा उनीहरुकै हाली मुहाली गरिरहेका छन्। मुलुकको बाघडोर अझै आफ्नै हातमा राखेर बसेका छन् । के यो तरिकाले मुलुकको राजनीति ले गतिशिलता पाउदै जाने हो भने हाम्रो मुलुक परिबर्तन होला त ? के यहि पितृसत्तात्मक राजनितिले हालका हाम्रा नया पुस्ताहरुको सोच र बिचार संग सापेक्ष्य भएर मुलुक लाइ अग्रगामी बिकाशतर्फ छलाङ्ग लगाउन सक्लान त? अहिलेको पुस्ताको चाहनालाइ बिधमान राजनीतिले कसरि सम्बोधन गर्ला ? यसै सन्दर्भमा कोट्ट्याउदा तपाइँ हाम्रो मनमा ग्लानि पक्कै पनि हुन्छ किनकि चुनाबमा हामि आँखा चिम्लेर, प्रलोभनमा परेर एथास्थितिबादमा लम्पसार परेर असक्ष्यम ब्याक्तिलाई जिताउने हाम्रो राजनितिक कुसस्कार अहिले मात्रै होइन लामो समय देखि जरा गाढेर बसेको छ। 

मुलुकमा संघिय लोकतान्त्रिक गणतन्त्रात्मक ब्याबस्थामा आइसकेको छ। प्रशासैनिक संरचना फेरिएका छन। राजनैतिक शक्ति बिकेन्द्रिकृत भएको छ। मुलुकलाइ तिन तहमा विभाजन गरिएको छ। यस्तो अबस्थामा पनि सम्पुर्ण तहमा युवाहरुको नेतृत्व बिरलै देख्न सकिन्छ । सम्पूर्ण पार्टिहरुमा अधिकाम्स नेताहरु पंचायती ब्याबस्था बाटै राजनीतिमा आबद्ध, उदाएका र ७० को हाराहारीमा पुग्दै गर्दा पनि अझै मुलुकको राजनीतिमा हालिमुहाली उनीहरुकै चल्दै आइरहेको छ। अब तपाइँ भन्नुस यो संसारमा बिगत १० बर्षमा कति परिबर्तनहरु आए सम्पुर्ण क्षेत्रमा अहिलेका पुस्ताहरुमा कति चेतना अभिवृद्धि भएको छ? के अब त्यहि पितृसत्तात्मक राजनीतिले हालका युवा तथा पुस्ताको आशा लाइ सम्बोधन गर्न सक्छ त? उदाहरणको लागि मैले शैक्षिक सस्थालाइ अगाडी ल्याए हिजोको हाम्रो शिक्षा प्रणालि र आजको हेर्दै गर्दा आकाश पातलको फरक देख्न सक्छौ हामि अहिले नेपाली बिद्धार्थिहरु अनलाइन प्रबिधिबाट संसारको कुनै पनि शैक्षिक प्रतियोगितामा आफुलाई उभ्याउदै बिजेताको दाबेदारी प्रस्तुत गर्न सबल छन्। हाम्रै देशमा बसेर संसारका कुनै पनि बिश्वबिद्ध्यालय तथा शैक्षिक बिषयबस्तु पढ्न सक्ने ल्याकत राख्न सक्छन। बिद्धार्थिहरु प्रत्येक दिन आफुलाई सुचना तथा संचारमा ताजा राख्न सक्छन। पछिल्ला दुइ दशकलाइ दुइ भागमा विभाजन गरि तुलना गर्दा पहिलो एक दशक र त्यस पछाडिको १० बर्षमा मुलुक वा विश्वले नै अविश्वसनीय फडको मारेको छ। यस्तो प्रतिस्पर्धात्मक मानिसको जीवनशैली र अवसरको मंचमा त्यहि पुरानो राजनीतिमा हराइरहेका हाम्रा बयोबृद्ध नेताहरुले यो बर्तमान समयमा कुनै एक क्षेत्रमा पनि अहिलेका पुस्ताहरुका समय सान्दर्भिक आबस्यकताहरुलाई पुरा गर्न सक्छन त ? बिधमान समयमा पनि पुरानै प्रकृतिको राजनीति केन्द्रिय, संघिय र स्थानिय स्तरमा लादिदै गर्दा हाम्रो मुलुक बिकाश र परिबर्तनको अबस्था अझै उस्तै र पुरानै अबस्थामा कतै रोकिए जस्तो भान हुन्छ। कछुवाको गतिमा अगाडि बढिरहेको छ कि जस्तो महसुश हुन्छ।

भ्रस्ट्रचार, नातावाद, कृपाबाद, दलाल नोकरशाही सामन्ती पुजिबादमा लम्पसार परेका हाम्रा राजनैतिक पार्टिका पात्रहरु वा नेताहरु सधै आफुलाई बजारमा बेच्न राखेको खेलौना जस्तो बिकाइरहेका छन। हरेक पटक चुनाबमा जान्छन जित्छन अनि ब्याक्तिगत फाइदाको पछाडी दौडिएर दलाल र सामन्तीको पन्जामा मुलुकलाइ सुम्पिदै ब्याक्तिगत आर्थिक लाभ उठाउदै आइरहेका छन। यस्ता नेताबाट आजको पुस्ताले के आशा राखेर यो प्रतिस्पर्धात्मक समयमा अरु विकासशील देशका समकालिन संग प्रतिस्पर्धामा जाने। धेरै बिकशित मुलुकहरु आफ्ना युवा र बिद्धार्थीहरुलाई प्रोत्साहन गर्ने लागि भनेर विभिन्न कल्याणकारी कोषहरु बनाएका छन जसले गर्दा सम्पुर्ण नया पुस्ता मुलुकको सम्वृद्धिको लागि खोज र अनुसन्धानमा आफ्नो जीवन ब्यातित गरेका छन र त्यसको प्रतिफलले ति देशहरु सपन्नाशाली र सम्बृद्ध भएका छन्। तिनै नया पुस्ताहरु शैक्षिक र राजनैतिक सन्तुलनलाइ समानान्तर हिसाबले अगाडि बढाउदै राजनीतिको बागडॊरलाइ युवाहरुले नेतृत्व लिएर मुलुकलाइ सफल बनाएका छन्। यसको उदाहरणको लागि फिनल्याण्ड,डेनमार्क र आइसल्याण्ड हेर्नुस विश्वकै शान्त, शुखि र सम्बृद्ध मध्येका मुलुकहरु हुन्।    

बर्तमान राजनीति हेर्दा स्थिर र कुशासन मा अल्झिएको जस्तो देखिन्छ यस्तो प्रकृतिको राजनीतिलाइ बढार्न पर्ने जरुरि छ। अझै क्षेत्रगत भनौ वा गाउको राजनीतिमा त बिकृति र बिसंग्गतिको व्यापकता देख्न सकिन्छ। स्थानिय निकाय अन्तर्गतको वार्डहरुमा बिधमान समयको राजनीति परिबेश बुझौ र त्यसको बिषयलाई एकपटक जोडेर चर्चा गरौ।स्थानिय राजनीतिको सेरोफेरो थाहा पाउनु भयो भने त हाम्रो समाजको राजनीति त कहिले काँही मलाई बिकृति हो कि जस्तो लाग्छ " ठुला लाइ चैन साना लाइ ऐन " भन्ने भनाइ ठ्याक्कै मिल्न जान्छ। समाजिक भावना बिपरित हुने कार्य र बिकृतिहरुमा पहुचवाला मानिसहरुको कुकर्मको यहा मिलापत्र हुन्छ र न्यायपालिका र प्रसाशनको कुनै भूमिका हुदैन केवल भूमिका हुन्छ त राजनैतिक नेतृत्वको। मलाइ यहा यो भनाइ पनि जोड्न मन लाग्यो " सबैले मिलेर खाए रास्ट्रीय सहमति तर एक्लै ले खाए भ्रस्टचार “ भन्ने किनकि यहा जब बिकाश र आयोजनाका कुराहरु आउछन स्थानिय निकायमा तब सपुर्ण पार्टि प्रतिनिधिहरु एकै ठाउमा हुन्छन र मुलुकको बजेट यसरि धजाधजा हुन्छ जब काम अन्त्य हुन्छ तब आम जनताहरु आश्चार्य महसुश गर्नुको विकल्प हुदैन। हाम्रो समाजमा राजनीतिको फोहोरी खेलले गर्दा विभिन्न खालका सामाजिक कुकृति गर्ने मानिसहरु पनि सझिलै उन्मुक्ति पाउने र राजनीतिको आडमा हत्या, बलात्कार,शोषण सामाजिक सहिस्नुतामा खलबल ल्याउने सम्मको आट गर्दछन। किनकि हाम्रो राजनैतिक सस्कार एस्तो बसालेका छन। एक जना फरक पार्टीको मनिस जसले सामाजिक अपराध गरेको छ त्यहा स्थानिय प्रतिनिधि बस्छन अनि राजनैतिक आडमा त्यो मुद्धा मिलाउछन जुन राजनैतिक दलको नेताले त्यो अपराधीलाई बचाउन ढाडस दिन्छ त्यो अपराधीलाइ राजनैतिक संरक्षण गर्दै आफ्नै पार्टीको सदस्यता दिएर आफ्नै कार्यकर्ता बनाउछन। यो त एक प्रतिनिधि घटना हो । स्थानिय राजनीतिको यी र यस्ता घटनाहरु प्रतेक दिन घटेका हुन्छन । न्याय नपाएको हुनाले ति पिडित आफ्नो प्रतिष्ठा र इज्जतको लागि आफ्नो ज्यानको आहुति पनि दिन पछाडी पर्दैनन् तर पीडक भनौ वा अपराधी अर्को पार्टीको नेता हुदै समाजिक स्तरमा पुन हालीमुहाली जमाउदै जान्छ आफुलाई सामाजिक अभियान्ता, समाजसेवी र समाजको नेता बताउदै त्यहि समाजको वकालत गर्दै हिड्ने अगुवा बनेको हुन्छ

पार्टि र कार्यकर्ता भनेका एक अर्काका परिपुरक हुन्। तपाइँ पार्टिका कार्यकर्ताहरु पनि देख्न सक्नुहुन्छ जो दिन रात नभनी आफ्नो सम्पूर्ण जीवन राजनीतिमा समर्पण गरेका हुन्छन यहाँ पनि बडो अचम्म लाग्छ ति कार्यकर्ताहरुको जीवनशैली हेर्नुभो भने कुनै ठुलै कुलघराना को जस्तो देख्न सक्नु हुन्छ। यहा कुलाघरना भन्नाले ब्यापारिक पृष्ठभूमि वा सम्पन्न परिवार भन्ने बुझौ । तर यथार्थमा सम्पूर्ण कार्यकर्ताहरु सम्पन्नशाली परिवारबाट हुदैनन् जसले कुनै पेसा र केहि ब्याबसाय नगरी जीवनयापन गर्न सकुन तर ति ब्याक्तिहरुलाई पैसा कहा बाट आउछ आफ्नो तथा परिवारको जिविका चलाउन र विभिन्न ठाउमा घर घडेरी किन्न ? के यो भ्रस्ट्रचारको पराकाष्ठा होइन? यहा राजनीति निष्ठा र आदर्शको हुनुपर्ने यहाँ पेसा र ब्यापार बनाइएको छ। यस्तो सस्कारले गर्दा आज र भोलिको पुस्ताको भबिष्य के २-४ जना मुट्ठी भरका कार्यकर्ता संग साटेर बर्बाद पार्दै त छैनौ ? आजको युवा अन्तरास्ट्रिय मंचमा प्रतिस्पर्धा गर्न जादै गर्दा किन आफ्नो देश फर्कन चाहादैनन? त्यो युवा आफ्नो देश फर्काउन के मुलुकले उल्लेखनिय भूमिका खेल्न सक्ला त? पक्कै पनि हाम्रो बिधमान राजनीतिको कुसस्कारले गर्दा मुलुक बाहिर पढ्न वा कमाउन गएका मुलुकका बौद्धिक एबम क्षमयातावान युवाहरु आफ्नो देश फर्कने चाहना हुदा हुदै मुलुकको राजनैतिक दुरावस्था बाट विक्षिप्त भएर परदेशमा हराइरहेका छन् । यो बिकराल परिस्थितिबाट मुलुकले उन्मुक्ति पाउनु पर्छ त्यसको लागि हाम्रो मुलुक बिकाश हुन आबस्यक छ र हाम्रो मुलुकमा रहेको प्रयोग नभएका श्रोतहरु प्रयोग मा ल्याउन सक्नु पर्छ। अब नेपाली राजनीतिमा युवा तथा आदर्शवान ब्याक्तिहरु मुलुकको जिम्मा लिन सक्नु पर्दछ। युवाहरु अब जागरूप हुनु जरुरि छ। समाजमा कुकृत गर्ने पिचासहरुलाई सामाजिक बहिस्कार सक्नु पर्छ। मुलुकको राजनीति लाइ सामाजिक मूल्य र मान्यतामा टेकाएर बिकाशको मुलबाटो खोल्न सक्ने क्षमतावान र दुरदर्शी नेतृत्व आबस्यक छ।

हामी जब सम्म हाम्रो दुरदर्शीतालाइ मुलुकको परिबर्तनमा जोड्न सक्दैनौ तब सम्म हाम्रो मुलुक सधै भरि परनिर्भर हुनुपर्ने हुन्छ । जब मुलुक आत्मनिर्भर हुदैन तब सम्पुर्ण कुराहरु आयात गर्नुपर्ने हुन्छ त्यसको नतिजा मुलुकको कुल ग्राहस्थ उत्पादन एकदमै कम हुने हुन्छ। मुलुकमा आधुनिक प्रब्रिधि प्रयोग गरि कृषिमा आफैमा आत्मनिर्भर बनाउनु पर्छ। मुलुकलाई औधोगिकरण गरि स्वदेशी उत्पादनहरुलाई प्रोत्साहित गर्नुपर्छ। आफ्नो उत्पादन र उपजलाई पुरस्कृत र प्रोत्साहित गर्यौ भने अमेरिकामा करिब ३%, इजरायलमा करिब ५% र जापानमा करिब ४% मानिसहरुले गरेको कृषि खेतीले मुलुकलाई प्रसस्त पुगेर निर्यात गरेका उदाहरण छन्। तर हामि करिब ६५% भन्दा धेरै नेपालीले कृषि गर्दा पनि तिन महिना मात्रै खान बाहेक नपुग्ने देखिन्छ। किन यस्तो छ हाम्रो सम्पुर्ण प्राणाली ? यो बिषयमा बोल्दै गर्दा आज जति राजनैतिक पार्टिका नेतृत्वकर्ता हुनु हुन्छ उहाहरु अपारदर्शी,प्रतिशोधि,भ्रस्ट्रचारयुत्त,एथास्थितिबादि र आफैमा मदहोसी भएको कारणले हो। परम्परागत कृषि खेति बाहेक बाहिर जान चाहानु हुन्न। पश्चिमी कृषि क्रान्ति र आर्थिक क्रान्तिबाट जानकार हालको पुस्ता वा युवाहरुको जस्तो ज्ञान र अभ्यास छैन उहाहरु पुरानै शैलीमा अझै आफ्नो जिवन,समाज ,क्षेत्र र देशलाई बुझिरहनु भएको छ। यो भन्दै गर्दा बिधमान राजनीति अब पुस्ता हस्तान्तरण हुनुपर्ने हो कि जस्तो पनि देखिन्छ किनकि ४०-५० बर्ष पहिलेदेखि राजनीतिमा होमिएका नेता र पार्टि प्रतिनिधिहरु ले अहिलेको पुस्ताको बिचार , बिबेक र दैनिकीलाइ बुझेर अगाडि बढ्न सकेको जस्तो देखिदैन।

करिब ४०-५० बर्ष अगाडि भोकमरीको दलदलमा फसेको मुलुक दक्षिण कोरियालाइ हाम्रै देशले कृषि अनाजहरु सहयोग गरेको इतिहास छ। त्यहि मुलुक पछिल्लो ४०-५० वर्षमा पुर्बी एसियाको सम्पन्न शालि मध्येको एक मुलुक बन्दै गर्दा हामी प्रजातन्त्र पछाडिको ७० वर्षमा पनि अल्पबिकशित मुलुकको लिस्टमा अटाउन सकेका छौ किन त ? राजनीतिलाई पेसा नभई निष्ठा र सेवाको उपमा दिएर मुलुकको राजनैतिक , सामाजिक र आर्थिक परिबर्तन गर्नसक्ने पात्रहरुको मुलुकलाई जरुरि छ ताकी मुलुकले अग्ग्रगामी बिकाशको छलाङ्ग मार्न सकोस। कृषि एबम औधोगिक क्षेत्रमा सक्दो चाडो आत्मनिर्भर बन्न सकोस । जसले गर्दा मुलुक आफै कुनै अर्को देशको भर पर्न नपरोस र कुनै अर्को देशले आफ्नो स्वार्थको लागि हाम्रो मुलुक र हामि नेपालिलाइ अहिले परेको जस्तो कुनै बाधा र अड्चनको महसुश गर्न नपरोस। मुलुकका सम्पुर्ण स्तम्भहरुलाइ मजबुत बनाउने काम राजनीतिको हो जुन दिन हाम्रो राजनीति सत्ता प्रतिको लालसा र कुर्सिको दासत्वबाट टाढा हुन्छ र यहि राजनीतिमा मुलुकका उत्क्रिस्ट युवाहरु जो चलिरहेको समयलाई बुझेर हालका पुस्ताहरुको बिचार र अबस्यकताहरुलाई सम्बोधन गर्न सक्छन।तब ति उर्जावान युवाहरु जसले मुलुकमा सुशासन को प्रत्याभूति महसुश गराउन सक्छन। नातावाद , कृपावाद ,दलाल,नोकरशाही सामान्तिहरुलाई बोक्दै हिड्ने हिजो र अझै चल्दै गरेको परम्पराको अन्त्य गर्न सक्नेछन त्यो दिन मुलुकले आफै बिकाश र समृद्धिको दिशानिर्देश गरेको आभास महसुस गर्नेछ। हाम्रो मुलुक पनि विश्वका बिकशित मुलुकको लिस्टमा अटाउने छ। त्यसैले हाम्रो देशको राजनीति पुस्तान्तरण हुनु जरुरि छ।मैले पुस्तान्तरण भन्दै गर्दा अब आउने पुस्ता पनि अहिलेको संकुचित परिधि ,सक्रिण सोच र यथास्थितिबादी मनोविज्ञानको राजनैतिक स्कुलिंग्गबाट आउने हो भने भोलिको मुलुकले राजनितिक पात्रहरु त फ़ेरिएलान तर आम जनताले परिबर्तनको आभाष पक्कै गर्न पाउने छैनन् र यसले मुलुकको अस्थित्व जोगाउन सक्ने छैन। 

अब आउने पुस्ताको राजनितिक बिचार र आम जनताको चाहानालाइ सम्बोधन गरेर , मनन गरेर भोलिको सुनौलो बिहान र मुलुकको सम्वृद्धिको मुल ढोका खोल्न सक्ने हैसियत राखी राजनीतिमा आउनु पर्छ। स्वतन्त्र, निष्ठावान,सदाचारी र स्वच्छ बिचार बोकेर सदैब मुलुकको सम्वृद्धि र हितको बिषयमा चिन्तन राख्ने र समयानुकुल मुलुकलाई रुपान्तरित, परिबर्तनशिल बनाउन सक्ने दुरगामी बिकाशको खाका कोर्ने र राजनैतिक सिद्धान्त र चिन्तनलाई समयानुकुल चलायमान बनाइ समसामयिक गतिबिधि संग दाजेर रुपन्तरण गर्नसक्ने हैसियत बोकेर आउने नया पुस्तालाइ यहि राजनितिक ब्याबस्थाले एकदिन पक्कै पनि मुलुकको राजनेता बन्न सघाउने छ। राजनीतिलाइ सुध्रिढ बनाउन सहयोग गर्नेछ। त्यसैले त्यहि राजनेता बन्न सक्ने पात्र वा कुशल राजनैतिक नेतृत्वको प्रभाब र अभाव खडकिएको स्पस्ट देख्न सकिन्छ।

The views expressed in this article are the author’s own and do not necessarily reflect Arghakhanchi.Com’s editorial stance.

अन्य समाचारहरु