सहमतिमा यौन सम्बन्धपछि जरबजस्ती करणीको झुठा आरोप लगाउने युवतीलाई तीन वर्ष ६ महिना कैद

सहमतिमा यौन सम्बन्धपछि जरबजस्ती करणीको झुठा आरोप लगाउने युवतीलाई तीन वर्ष ६ महिना कैद

काठमाडौँ – विवाहका लागि माग्न आएको केटालाई जरबजस्ती करणीको झुठा आरोप लगाउने युवतीलाई अछाम जिल्ला अदालतले तीन वर्ष ६ महिना कैद फैसला सुनाएको छ।

युवतीले प्रतिवादीलाई झुठो मुद्दामा फैसाउन खोजेको ठहर गर्दै अछाम जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीले १९ वर्षीया युवतीलाई साढे तीन वर्ष कैद फैसला सुनाउँदै युवकलाई सफाइ दिएका हुन्।

गत माघमा भएको घटनाको सोमबार फैसला गर्दै युवतीले युवकलाई ‘फसाउन खोजेको तथ्य स्थापित भएको’ जिल्ला अदालतको ठहर छ। २०७८ माघ १५ गते अछामकी परिवर्तित नाम (ढ२) ले विवाहका लागि घरमा कुरा गर्न आएको बेला रामारोशन गाउँपालिकाका नन्दराम खनालले आफूलाई जबरजस्ती करणी गरेको आरोप लगाउँदै किटानी जाहेरी दिएकी थिइन्।

तर उनले अदालतमा विवाह नगर्ने हो कि भनेर रिसमा गलत जाहेरी दिएको बकपत्र गरेपछि अदालतले युवकलाई सफाइ दिएको हो।

जिल्ला अदालतको आदेशमा भनिएको छ, ‘पीडित परिवर्तित नाम (ढ२) ले रिसले जाहेरी दिएको भनेर यस अदालतमा बकपत्र गर्दा लेखाएबाट निजले प्रतिवादीलाई झुठो बेहोराले जाहेरीलगायतको कागज गरी झुठो मुद्दामा फसाउन खोजेको तथ्य स्थापित भएको देखिन्छ। सो हुनाले यी प्रतिवादी नन्दराम खनालले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) र (२) विपरीतको कसूर गरेको तथ्य स्थापित नभएको अवस्थामा यी प्रतिवादीले अभियोग मागदावीबाट सफाइ पाउने र परिवर्तित नाम (ढ२) लाई झुठा जाहेरी दिएर प्रतिवादीलाई झुठा मुद्दामा फसाउने प्रयत्न गरेबापतमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४४ को उपदफा (२) को देहाय (क) बमोजिम ३ (तीन) वर्ष ६ (छ) महिना कैद हुने ठहर्छ।’

किटानी जाहेरीमा युवती आफूमाथि करणी भएको बताए पनि अदालतमा भने खनालले विवाह नगर्ने हो कि भन्ने डरले उजुरी दिएको बताएकी छिन्।

खास घटना भएको के हो? यस्तो छ युवतीले अदालत समक्ष गरेको बकपत्रः
मिति २०७८/१०/१५ गतेको बिहान मैले प्रतिवादी नन्दराम खनाललाई फोन गरी मेरो घरमा विवाहको कुरा गर्न आउनी बताएकी हुँ। उक्त दिनको साँझ प्रतिवादी नन्दराम खनाललगायत ३ जनासमेत मेरो घरमा आएका हुन्।

साँझको खाना खाइ सुत्ने बेला प्रतिवादी नन्दराम खनाललाई तपाईंसँग केही कुरा गर्नुछ भनी मैले प्रतिवादी नन्दराम खनालाई बोलाएकी हुँ। र मैले प्रतिवादीलाई नन्दराम खनाललाई तपाईं मेरै कोठामा सुत्नु भनी मेरो कोठाको भुईंमा ओछ्यान लगाइदिएकी हुँ। हामी दुवै विवाह र माया प्रेमका कुराकानी भइरहेको बेला अन्दाजी ११ः३० बजेको समयमा म उत्तेजित भइ निज सुतिरहेको ओछ्यानमा गइ निजसँग अँगालो हालेकी हुँ।

त्यसपछि निज र मेरो सहमतिमा एक पटक करणी लिनु दिनु भएको हो। मेरी बहिनीले उक्त समयमा घटनाको बारेमा थाहा पाएकी होइनन्। मैले प्रतिवादीसँग बारदातको भोलिपल्ट बिहान १० बजेको समयमा फोनगरी तपाईं कहाँ हुनुहुन्छ हामीहरू कहिले विवाह गर्ने भनी सोध्दा निजले मेरो घरमा अहिले जुठो (अशुद्ध) छ उमेर पुगेपछि गरौँला भनेपछि निज मसँग विवाह गर्दैन होला भन्ने सोची रिसको आवेगमा आइ निज उपर किटानी जाहेरी दिएकी हुँ। देशसन्चारमा समाचार छ । 

अन्य समाचारहरु