लकडाउनको समयमा बाल-बालिकालाई घरमै कसरी शिक्षण गर्ने- भाग २

लकडाउनको समयमा बाल-बालिकालाई घरमै कसरी शिक्षण गर्ने- भाग २

श्रीकृष्ण भुसाल

सन्धिखर्क, अर्घाखाँची ।  यस लेख शृंखलाको पहिलो भागमा बन्दाबन्दीको कारणले औपचारिक शिक्षा पद्दति अबरुद्द हुँदा अनौपचारिक तवरले बाल-बालीकामा कसरि बिभिन्न क्षेत्रको ज्ञान, बोध, सीप, प्रयोग, अनुभव र अभिवृत्ति हासिल गराउने भन्ने बारेका केहि सैद्धान्तिक अवधारणाहरुका साथै गृह विज्ञान अन्तर्गत केही विषयवस्तुहरुको सिकाइमा अभिभावकहरुले कसरी सहजीकरण गर्न सक्नुहुन्छ भन्ने बारेमा चर्चा गरिएको थियो। 

लेखको पहिलो भाग जति सकिन्छ त्यति छिटो प्रकाशन गर्दा यसको उपगीयोता बढी हुन सक्छ भन्ने आतुरताले गर्दा उक्त भागमा यस लेख शृंखलाको उद्देश्यको बारेमा विस्तृतमा चर्चा गरिएको थिएन l जसमा अभिभावक र विद्यार्थीहरुको केही जिज्ञासा र केही विश्वास आर्जन गरि विद्यालय बाहिर घरको परिवेशमा पनि सिकाई सम्भव छ, जहाँ ज्ञानको क्षितिज अझै चौडा हुन्छ भन्ने बुझाई स्थापित गर्ने उद्देश्य लिइएको थियो । यसको उपलब्धिको बारेमा अभिभावक र विद्यार्थीहरुमा यस लेख शृंखलाको कारणले परेको प्रभावको अध्ययन गरी  पछिल्ला भागहरुमा विश्लेषण गरिने छ । 

यस भागमा यो लेख शृंखलाको समग्र उद्देश्यको बारेमा विश्लेषणत्माक रुपमा चर्चा गर्नु आवस्यक ठानिएको छ ।  यो लेख शृंखलाको पहिलो उद्देश्य बन्दाबन्दीको अवस्थामा बालबालीकालाई अभिभावकबाट घरैमा शिक्षण गर्न सकिने विषबस्तु र तरिकाको पहिचान गरी जानकारी दिनु रहेको छ l अर्को तर्फ विद्यालय उमेरका वाल-बालिकाले ज्ञानको श्रोतको रुपमा शिक्षिकलाई मात्र लिने अवस्थाको अन्त्य गर्दै पाको उमेरका अभिभावकबाट शिक्षकबाट भन्दा पनि महत्वपूर्ण ज्ञान, सीप र अनुभव हासिल गर्न सकिन्छ भन्ने तथ्य स्थापित गर्नु यसको दोश्रो उद्देश्य हो l वाल-बालीकाले कथंकदाचित शिक्षकले गल्ति सिकाउँदा पनि त्यसलाई सत्य ठान्ने तर अभिभावकले उक्त गल्ति पत्ता लाई सच्याउन लगाउँदा अविश्वास गर्ने मनोविज्ञान सबैले महसुस हरेको विषय हो । 

यस लेखको तेश्रो उद्देश्य बन्दाबन्दीको वाध्यात्मक अवस्थालाई कहरको रुपमा लिएर डिप्रेशनको सम्भावानाबाट गुज्रीरहेका जेष्ठ नागरिक र बाल-बालीकालाई यस समयलाई सिकाउने र सिक्ने  सुनौलो अवसरको रुपमा लिई सदुपयोग गर्न प्रेरित गर्नु हो l यसै गरी यसको चौथो उदेश्य सिकाईलाई पाठ्यक्रम भित्र सिमित देख्ने परिपाटीको अन्त्य गर्नु रहेको छ l त्यस्तै परम्परागत र लोपोन्मुख सीप र प्रविधिको अध्ययन र संरक्षणमा वाल-वालिकामा अभिरुची र क्षमता हासिल गराउनु यसको पाँचौ उदेश्य रहेको छ l यसै गरि यसको छैठौ उद्देश्य पाठ्यक्रममा रहेका तर घरैमा अभिभावक र समाजबाट सिक्न सकिने विषयबस्तुहरु बन्दाबन्दीकै अवस्थामा सिकाई विद्यालय खुलिसकेपछि बचेको थोरै समयमा  प्रत्यक्ष विद्यालयको कक्षा कोठामा शिक्षकहरु बाट नै सिक्नुपर्ने विषयबस्तुमात्र सिकेर पाठ्यक्रमले तोकेका उद्देश्यहरु हासिल गराई शैक्षिक क्षति हुन नदिनु पनि रहेको छ । 

यसको सातौ उद्देश्य कुन-कुन उमेर समूहका बाल-बालीकालाई कुन-कुन विषयवस्तुहरु इन्टरनेटको सहयोगले अनलाइन माध्यमबाट एवं रेडियो र टेलिभिजन जस्ता आमसंचारका साधनहरुबाट सिक्ने र सिकाउने अवसर सिर्जना गर्न सकिन्छ भन्ने वारेमा समेत विमर्श गरी यसलाई भविश्यको महत्वपूर्ण शैक्षिक प्रविधिको रुपमा आत्मसात गर्नु र सम्भाव्य प्रविधिलाई उच्चतम सदुपयोग गर्न अभिप्रेरित गर्नु रहेको छ l यस बन्दाबन्दिको समयमा कसरि ब्यबहारिक तवरले सबै विद्यार्थीहरु लाई शैक्षिक गतिविधिमा लगाउन सकिन्छ भनि विश्व भरीका विश्वविद्यालय र विद्यालयहरुले खोज-अनुसन्धान र प्रयोग गरिरहेका छन् । विकसित मुलुकको डिजिटल प्रविधिको विकास र प्रयोगको अवस्थाले निर्वाध पहुँचको ग्यारेन्टी सहित अनलाइन माध्यमबाट अध्ययन अध्यापनलाई निरन्तरता दिने गरेको पाइएता पनि विश्वविद्यालय तहको तुलनामा विद्यालय तहमा यो बिधि प्रभावकारी हुन सकेन l सानो उमेरका बाल-बालीकालाई प्रत्यक्ष रुपमा मुर्त बस्तुहरु (Concrete Objects) को प्रयोग गरी शिक्षक र साथीहरुसंग अन्तरक्रिया गर्दै सिक्ने परिवेशको बिकल्पमा अनलाइन पद्दति आत्मसात गर्न कठिनई भएको पाइन्छ भने विश्वविद्यालय तहका सैद्धान्तिक विषयहरुमा मुलत: यो पद्दति प्रभावकारी भएको पाइन्छ ।  उदाहरणको लागी साथीहरुसंग खेल्ने, विभिन्न मुर्त बस्तुहरुको प्रयोगबाट अक्षर र विभिन्न आकृतिहरु बनाउने र शिक्षकले हात समाएर लेख्न अभ्यास गराउने उमेरका नानी-बाबुहरूको शारिरीक, मानसिक र संवेगात्म विकासमा यो पद्दति राम्रो विकल्प हुन सक्दैन l तर जति-जति बाल-बालीकाको उमेर बढ्दै जान्छ त्यति-त्यति उनीहरुले आफ्नो मस्तिष्कमा अमुर्त विषयबस्तुहरुको पनि अवधारणा बनाउन सक्दछन् र अवास्तविक (Virtual) र अमुर्त  (Abstract) विधि वा सामग्रीहरुबाट पनि शिक्षा ग्रहण गर्न सक्दछन् l तर पनि हाम्रो परिप्रेक्षमा पहुँचको कमी नै अनलाईन माध्यमको सबैभन्दा ठुलो कमजोरी हो, त्यसपछि मात्र यसको उपयोगिता को कुरा आउँछ l जवसम्म सबैको घरमा कम्पुटर र इन्टरनेटको समान पहुँच स्थापित हुँदैन तव सम्म यसले हाम्रा बाल-बालीकाहरुमा विभेदको सिर्जना गर्दछ, जसले पारिवारीक द्वन्द र सामिजिक विसृंखलता समेत उत्पन्न हुन सक्छ । 

बाल-बालीकामा आत्म-अनुशासन र स्वाबलम्बनको बिकास गरी ज्ञानलाई ब्यबहार र श्रम संग जोड्दै जीवन उपयोगी सीपहरुको विकाश गराउनु यसको आठौं, अन्तिम तथा सर्वाधिक महत्वपूर्ण उद्देश्य हो l बाल-बालीकाले जीवनपर्यन्त शिक्षाको माध्ययमबाट रचनात्मकता, समस्या समाधान, आलोचानात्मक सोंच, नेतृत्व सीप, संचार, सहकार्य, सूचना ब्यबस्थापन, अनुकुलन, उत्सुकता र प्रतिबिम्बन जस्ता असल मानव भएर बाँच्नकोलागी सिक्नै पर्ने जीवन उपयोगी सीपहरु हासिल गर्ने महत्वपूर्ण अवसरको रुपमा यो बन्दाबन्दीलाई लिन सकिन्छ । 

आउनुहोस् अव हामीले हाम्रा वाल-बालीकालाई नैतिक शिक्षाको माध्ययमबाट कसरी अनुसाशित र चरित्रवान बनाउन सकिन्छ र यसमा अभिभावको भूमिका कस्तो हुन सक्दछ भन्ने बारेमा विमर्श गरौं । नैतिक शिक्षा त्यस्तो शिक्षा हो जसको माध्यमबाट असल व्यक्ति, असल समाज र असल चरित्रको निर्माण गर्न सकिन्छ  l नीती +इक मिलर बनेको नैतिक शब्दको अर्थ हो नितीहरुको पालन गर्नु l जव मानिसहरुबाट नितीको पालन हुन्छ, तव मात्र समाजमा सकारात्मक सोँचको विकाश हुन्छ, नागरिकहरुमा आफ्नो दायित्व बोध हुँदै जान्छ र समाज सकारात्मक दिशामा अधि बढ्दै व्यक्तिमा सदाचार, विनम्रता, सद्भाव, प्रेम, श्रद्धा, परोपकार जस्ता मानवीय पक्षले स्थान पाउँछन् । 

नैतिक शिक्षा मानव कल्याणकारी हुनु पर्छ, यो सामाजिक कुरिती र अन्धविश्वासलाई चिर्दै उज्यालो दिशातर्फ उन्मुख हुनु पर्छ ।  समाजमा रहेका राम्रा पक्षहरुलाई प्रेरित गर्ने खालको हुनु पर्छ l व्यक्तिगत सदाचार र स्वावलम्बनले सामाज र राष्ट्रको विकासकोलागी अहम भूमिका खेलेको हुन्छ भन्ने कुरामा विश्वास जगाउन सक्ने हुनु पर्छ l यसको माध्यमबाट व्यक्तिको ब्यबहार, विनम्रता, आदर, संस्कार जस्ता आधारभूत मान्यताहरुमा विशेष जोड दिने बानीको विकाश हुनु पर्दछ । 

नैतिक शिक्षा आफैमा महत्वपूर्ण विषय हुँदा हुँदै पनि यसको उपयोगितामा केहि चुनौतिहरु पनि रहेका छन् l जस्तै: नैतिक शिक्षालाई धर्म संग जोडेर हेर्नु र तदनुसार व्याख्या गर्नु, आदर्श एवं काल्पनिक विषयकोरुपमा मात्र हेरिनु, ब्यबहारिक र यथार्थपरक भन्दा पनि भावनात्मक हुनु र कतिपय सन्दर्भमा विज्ञानले प्रमाणित गरेका कुराहरुलाई समेत आत्मसात गर्न नसक्नु यसका चुनौतीहरु हुन्  ।  यस्ता चुनौतीहरुलाई समयसापेक्ष रुपमा सामना गर्दै यथार्थतामा जोड दिएर फरक तरिकाले  ब्यबहारिक ढंगबाट बाल-बालीकालाई त्यस दिशा तर्फ अभिप्रेरित गर्नु आजको अपरिहार्य आवस्यकता बन्न पुगेको छ । 

अरुलाई नैतिकताको बारेमा सिकाउनुभन्दा अधि हामी अभिभावकहरुले आफ्नो नैतिकता र जिम्मेवारी बाल-बालीकाको अगाडी व्यवहारमै प्रस्तुत गर्न सक्नु पर्दछ l सामान्यतया हामीहरुले हाम्रा बाल-बालीकालाई ठुलो र प्रख्यात व्यक्ति बन्न सुझाइन्छ न कि असल र इमान्दार l बाल-बालीकाको शिक्षा आर्जन गर्ने पहिलो विद्यालय नै घर भएकोले घरमा अभिभावकले उनीहरुलाई ठुलो भन्दा असल बन्ने शिक्षा वा प्रेरणा दियौं भने भविश्यमा उनीहरु असल बन्ने र समाज पनि सभ्य हुने अपेक्षा गर्न सकिन्छ l यसकोलागी परिवारका जेष्ठ सदस्यले प्रत्येक साँझ खाना खाएपछी सुत्नुभन्दा अघि परिवारका सबै सदस्यको साथमा आफ्ना नानी-बाबुलाई विभिन्न नीति श्लोक, नीति कथा, दन्त्य कथा, लोक कथा, किम्बदन्ती आदि श्रवण गराउनु पर्दछ l उदाहरणको लागी केहि नीति श्लोकहरु र तिनको नेपाली अनुवाद यहाँ उल्लेख गरिएको छ । 

माता शत्रु: पिता वैरी येन बालो न पठाठित:  
न शोभते सभामध्ये हंस मध्ये बको यथा ।। 

अर्थात्, जुन बाबु-आमाले आफ्ना छोरा-छोरीलाई पढाउँदैनन् उनीहरु सत्रु समान हुन् l बुद्दिमानका बिच कोही पनि अनपढ व्यक्ति हाँसको बिचको बकुलो समान हुन्छ । 

वलवानप्यशक्तोsसौ धनावानपि निर्धन:। 
श्रुतवानपि मूर्खोsसौ यो धर्मविमुखो जन: ।। 

अर्थात्, जुन व्यक्ति धर्म (कर्तब्य) बाट बिमुख हुन्छ उ बलवान भएर पनि असमर्थ, धनवान भएर पनि निर्घन र तथा ज्ञान भएर पनि मुर्ख हुन्छ । 

सुखार्थिन: कुतोविद्या नास्ति विद्यार्थीन: सुखम् । 
सुखार्थी वा त्यजेद् विद्याम् विद्यार्थी वा त्यजेत् सुखम् ।। 

अर्थात्, सुख चाहने वा मेहेनत संग डराउनेलाई विद्या प्राप्त हुँदैन भने विद्यार्थीलाई सुख एवं आराम मिल्न सक्दैन l सुख चाहनेले विद्या र विद्या पाउनेले सुख त्याग्न सक्नु पर्छ । 

अन्त्यमा, यादव जंज रायमाझी (तामाङ्ग) द्वारा संकलित एउटा नीतिकथा प्रस्तुत गर्दै यस खण्डलाई अन्त्य गर्दछु । 

सबै सुतिसकेका हुन्थे जव उ जादथ्यो सबै जागिसकेका हुन्थे जव उ सुत्दथ्यो l अरुभन्दा ठ्याक्कै उल्टो पुरै भिन्न उसको यो दिनचर्याले गर्दा उ एक्लो भएको थियो l उसको कोहि साथी थिएन l त्यसैले उ निरास थियो l दिक्क थियो, आफ्नो भाग्यलाई धिक्कारिरहन्थ्यो l उ अर्थात् लाटोकोसेरो । 

सधै झैँ आज पनि उ आफ्नो नियतिलाई सराप्दै आहाराको खोजीमा निक्लिएको थियो चिसो निष्पट रातमा l उसको यो सधैको दुखेसोले वाक्क सृष्टिकर्ता ब्रह्मा उसको अगाडी प्रकट भएर भने " ल भन तिमि के चाहन्छौ ?"
-"प्रभु म चाहन्छु संसारका सबै प्राणी एक दिनका लागी  अन्धो होउन । "
लाटोकोसेरोको माग सुनी ब्रह्माले भने- " तिमी त दुष्ट रहेछौ आफ्नो खुसीको लागी सबैलाई दु:ख दिँदै छौ । " 
-"होइन प्रभु तँपाईले गलत बुझ्नु भयो l म त सबै प्राणीलाई ज्योति ( ज्ञान/शिक्षा ) बिना जिन्दगी कति कष्टकर र अन्धकार हुन्छ "थाहा" पाउन भनेर यो बरदान माग्दै छु ।  " 

लाटोकोसेरोको यो कल्याणकारी बुद्दिमतापूर्ण कुराले नतमस्तक हुँदै ब्रह्माले तथास्तु भन्दै ब्रह्मलोक हुँदा भए l 
                                         
क्रमश:.......

सम्बन्धित लेख- समाचार:- 

अन्य समाचारहरु