नवनियुक्त मन्त्रीमा माओवादीका पाँच, कांग्रेसका दुई र मधेसी मोर्चाका चार छन् । माओवादीबाट नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, पोस्टबहादुर बोगटी, टोपबहादुर रायमाझी र दीनानाथ शर्माले सपथ लिए । उनीहरु यसअघिको माओवादी-मोर्चा गठबन्धनमा पनि मन्त्री थिए ।
कांग्रेसबाट कृष्णप्रसाद सिटौला र सूर्यमान गुरुङलेमात्रै सपथ लिए । नेता शेरबहादुर देउवा पक्षले सरकारमा सहभागिताबारे असन्तुष्टि जनाएकाले दुई मन्त्रीकोमात्रै टुंगो लागेको हो ।
माओवादी र कांग्रेसका मन्त्रीहरुको मन्त्रालय भने एमालेको नाम आएपछिमात्रै तोकिने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । एमालेले भने आइतबारको केन्द्रीय कमिटी बैठकपछि नाम दिने प्रतिबद्धता जनाएको छ ।
मधेसी मोर्चाका तर्फबाट विजयकुमार गच्छदार (उपप्रधान तथा गृह), हृदयेश त्रिपाठी (भौतिक योजना तथा निर्माण), महेन्द्र यादव (सिँचाइ), राजकिशोर यादव (सूचना तथा सञ्चार)ले सपथ लिएका छन् । राजेन्द्र महतो (स्वास्थ्य) पार्टी महाधिवेशनमा जनकपुरमा रहेकाले उनको सपथ भएन । यसअघि मन्त्री भएका उनीहरुको मन्त्रालय परिवर्तन गरिएन ।
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण साँझ ५ बजे तोकिए पनि नाम नआएपछि साँझ ७ बजे सारिएको थियो । आन्तरिक विवादले नाम आउन नसकेपछि साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा सपथ ग्रहणको कार्यक्रम तय भएको हो ।
प्रधानमन्त्री भट्टराईले शनिबार बिहान नै कांग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष झलनाथ खनालसँग राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम मागेका थिए । बिहीबार राति भएको पाँच बुँदे सहमतिमा सवै दलको सहभागितामा सहमतिको सरकार गठन गर्ने उल्लेख छ ।
सहमतिको सरकारका लागि माओवादी, कांग्रेस, एमालेलाई चार-चार, मोर्चालाई पाँच र साना दललाई चार मन्त्रालय दिने सहमति भएको थियो ।