कविता : म बर्बाद भएँ

कविता : म बर्बाद भएँ
नारायण खनाल 
गणित शिक्षक , श्री विजय मावि डिभर्ना, अर्घाखाँची

महोदय !
तपाईंको विजयको निम्ति
जीवनभर बोकेको आस्थालाई
तिलाञ्जलि दिइ
तपाईंको आदेश सहितको
प्रसाद बोकेर गाउँ चाहारेँ मैले
हातमा सुटुक्क प्रसाद थमाएर
कसैलाई नभन्नु भन्दै, घरघरबाट फर्केँ
तपाईंको प्यारो छद्मभेषि बनेर
पैसामा आदर्श बेच्दै
अर्कै परिवारको हितको निमित्त
आफ्नो परिवारका सदस्यको गला रेट्न
आफ्नै समुहमा छिपेर बसेँ


महोदय !
कृपया मेरो पीडा पनि त बुझ्नुस्
कति गाह्रो छ छद्मभेष,उफ !
न आफ्नासँग टाढिएको देखाउन हुने
न तपाईंकासँग नरिसाएको छिपाउन हुने
न तपाईंसँग गाँसिएको कसैले भेटाउन हुने
जेनतेन बच्दै
सोझा कार्यकर्ता र जनतालाई भ्रममा पारेर
अहोरात्र तपाईंको लक्ष चुम्न दौडिरहेँ


तर महोदय !
तपाईंको जित त भयो, जित पछि
न खुसी मनाउन निधारमा अविर लगाउन सकेँ
तपाईंकाहरू जितको खुसीले नाच्दा
न सँगै कुम जोडाएर नाच्न सकेँ
जितेपछि त
तपाईंकाहरूले तर्सेर हेर्छन्
यता मेरो टाउकोको वरिपरि
शंकाको जालो लागेछ ।


महोदय !
आफ्नाले आँखा तर्छन्
पटकपटक हेर्छन् अचम्म पर्छन्
तर्कन्छन, धार्ने हात लाउँछन्
सुन्दा दु:ख लाग्छ
उमेरले सेतै फुलेको म
जसले थोरै नगद लिएर
उधारो चेकमा दिल खुलाएर सेवा गरेँ
तपाईंको लक्ष पूरा गर्न अहोरात्र खटेँ
तर, तपाईं आफैले पनि
मेरै परिवारका
तुजुकवाला, सुकिला सदस्यलाई
त्यत्रो नगद दिनु भएछ त्यत्ति कामलाई
उसलाई त्यत्रो नगद
मलाई उधारो चेक


पनपक्ष भो महोदय !
किन मेरो कामको अवमूल्यन भो ?
आफुले जितेपछि, तपाईं र तपाईंकाले
म विकेको कुरा, भन्दै हिँड्नुहुन्छ रे
सबैलाई थाहा दिएपछि मेरो कर्तुत
कसरी बाँच्छु म समाजमा ?
सबैबाट खुइलिएको म, कसैसँग मुख देखाउन

लायक रहिन महोदय !
तपाईं आफैले
यो बेइमानीसँग जोगिनु भन्नुहुन्छ रे
परिवारबाट गलहत्ताएर निकाल्दै छन् रे मलाई
साँच्चै तपाईंको निम्ति लड्दा
आफ्नैको गला रेटेको म
जीवनभरको आस्थालाई
तिलाञ्जली दिएको म
पैसाको मोहमा डुबेर जीउँदै मरेको म
छिपेर गरेको काम छरपस्ट भएपछि
बर्बाद भएँ महोदय ।।

म बर्बाद भएँ।