गुल्मीका नेपाली जुम्ल्याहा दाजुभाइले बनाए क्यूआरबाट भुक्तानी गर्दा आफैँ चिया दिने मसिन।

गुल्मीका नेपाली जुम्ल्याहा दाजुभाइले बनाए क्यूआरबाट भुक्तानी गर्दा आफैँ चिया दिने मसिन।
काठमाडौं । भनिन्छ, मानिस जुनसुकै कुराबाट पनि प्रभावित हुन सक्छ । पढाईको सिलसिलामा काठमाडौंमा पढ्दै गरेका गुल्मीका जुम्ल्याहा दाजुभाइ लव-कुश पन्थीले त्यहाँ विभिन्न पार्क तथा बसपार्क क्षेत्रमा थर्मसमा चिया बेच्दै हिँडिरहेका मान्छे देखे ।

त्यही कुराबाट प्रभावित भएर ती दाजुभाइले एक वर्षअघि ‘टी-स्क्यान’ अर्थात क्यूआर कोड स्क्यान गरेकै भरमा चिया दिने मसिनको परिकल्पना गरेका थिए । अन्ततः उनीहरू टी-भेन्डिङ मसिन जस्तै टी-स्क्यान नामक मसिन तयार पार्न सफल भएका छन् ।

मसिनको बाहिरपट्टि अनलाइन भुक्तानीका लागि क्यूआर कोड राखिएको छ । चिया खान इच्छुक जोकोहीले बाहिर राखिएको क्यूआर कोडमा स्क्यान गरेर तोकिएको रकम भुक्तानी गर्नुपर्ने हुन्छ ।

पैसा भुक्तानी भएसँगै चिया पिउने व्यक्तिले मसिनमा कप राख्नुपर्छ । यदि क्यूआर कोडमार्फत ई-सेवामा पैसा जम्मा भएको छ भने कपमा आफैँ चिया झर्छ ।

 लव पन्थीले भने, “हामी पहिलेबाट नै रोबोटिक्स र मसिन लर्निङतर्फ आकर्षित थियौँ । हामीले यसअघि पनि नेपाली बोल्ने रोबोट, कोभिड महामारीमा सहयोग गर्ने रोबोट नर्स तयार पारेका थियौँ । काठमाडौं वा देशका विभिन्न सहरमा पढ्दै गरेका विद्यार्थीलाई कसरी आय आर्जनमा जोड्न सकिन्छ भनेर योजना बनाउँदै गर्दा यो टी-स्यानको परिकल्पना गर्‍यौँ ।”

एक वर्षअघिबाट टी-स्क्यानको योजना बनाएका पन्थी दाजुभाइले केही दिन अघि मात्र सो परियोजनालाई मूर्त रूप दिएका हुन् । हाल उनीहरूसँग एउटा टी-स्क्यान मसिन छ भने अर्को बन्ने क्रममा छ । यसलाई कुनै पनि विद्यार्थीले आफ्नो शैक्षिक संस्था वा मानिसहरूको धेरै आवतजावत हुने स्थानमा राखेर आम्दानी गर्न सक्ने उनले बताए ।

“गाउँबाट काठमाडौंमा आएर पढ्ने विद्यार्थीलाई पैसाको आवश्यकता धेरै हुन्छ,” उनले भने, “ त्यस्ता विद्यार्थीहरूसँग पढाई र काममा दिने समय पनि एकदमै कम हुन्छ । त्यसैले प्रायः विद्यार्थी अनलाइनबाट आम्दानी गर्ने कुरामा बढी केन्द्रित भइरहेका हुन्छन् । यस्तोमा अब हामीले बनाएको मसिन प्रयोग गरी उनीहरूले राम्रो आम्दानी गर्न सक्छन् ।”

यो मसिनको क्षमता पाँच लिटरको रहेको छ । जसमा चिया, दुध लगायतका चिया बनाउन चाहिने सबै सामग्री अटाउनुपर्ने हुन्छ । त्यसपछि मसिन अन गरेपछि चिया आफैँ तयार हुन्छ ।

चियाको तापक्रम ६ देखि ७ घण्टासम्म कायम हुने उनको भनाई छ । यसलाई बिजुली प्रयोग गरी सञ्चालन गर्न सकिन्छ । हाल सार्वजनिक ठाउँमा विद्युतको सुविधा पुगेकाले ब्याट्रीभन्दा सोझै केबलबाट पावर सप्लाई गर्ने व्यवस्था मिलाइएको छ । 

उक्त मसिनलाई मानवीय सहायताबिना नै चिया बनाएर दिने गरी निर्माण गरिएको छ । जसले गर्दा टी-स्क्यान सञ्चालन गर्ने व्यक्तिलाई धेरै मेहेनत गर्नु पर्दैन ।

यसमा चिया सकिएको बेला भर्ने र विद्युत प्रवाह भए नभएको हेर्ने बाहेक अरू कुनै काम गर्नुपर्दैन । यसलाई सानो ठाउँमा राखेर सञ्चालन गर्न सकिने भएकाले चिया व्यापार गर्नकै लागि सटर खोलेर महँगो भाडा तिर्नुपर्ने बाध्यता समेत नरहने लवको भनाई छ । 

गुल्मी जिल्ला मालिका गाउँपालिका वडा नम्बर ७ मा घर भई हाल बुटवल बस्दै आएका १८ वर्षीय दाजु-भाइमध्ये लव अस्कर इन्टरनेसनल कलेजमा साउन्ड इन्जिनियरिङ अध्ययन गरिरहेका छन् । उनका भाइ कुश भने बाहिरी अध्ययनका लागि विदेश जाने योजना बनाइरहेका छन् । 

उनीहरू नेपाली भाषा बोल्ने रोबोट र आइसोलेसन वार्डमा प्रयोग गर्न सकिने नर्स रोबोर्ट बनाएर पुरस्कृत समेत भइसकेका छन् । नेपालमा रोबोर्टिक्स सामग्रीलाई व्यवसायिक रूपमा अगाडि बढाउने उनीहरूको योजना छ ।

“हामीले खोजेका सामग्रीहरू नेपाली बजारमा कमै पाइन्छन्,” उनले भने, “जसलाई हामीले अमेजन वा त्यस्तै विभिन्न अन्तर्राष्ट्रिय साइटबाट अर्डर गर्नुपर्ने हुन्छ  ।” अहिले डेमोका लागि उनीहरूले दुई ओटा टी-स्क्यान मसिन तयार पारिरहेका छन् ।

यदि कुनै व्यक्ति वा संघ संस्थालाई आवश्यक परेको खण्डमा आफूहरूले एकै दिनमा तयार गर्न सक्ने लवको भनाई छ । यसलाई व्यवसायिक रूपले अगाडि बढाउन सरकार तथा लगानीकर्ताको आवश्यकता रहेको उनी बताउँछन् ।

“राष्ट्रले रोबोर्ट आविष्कारलाई आवश्यकता ठानेर सहयोग गर्ने हो भने यसलाई व्यवसायिक रूपमा अगाडि बढाउने कुरामा हामी तयार छौँ,” उनले भने, “हामी राष्ट्रका लागि केही नयाँ प्रयोग गर्न चाहन्छौं ।”

अहिलेको स्रोत साधनलाई हेर्ने हो भने टी-मसिनको मूल्य ३० हजार रुपैयाँसम्म पर्न आउने लवले बताए । “यदि कसैलाई आवश्यक छ भने सोझै हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ,” लवले भने ।

सकेसम्म कम्पनी दर्ता गरेर यसलाई व्यवसायिक रूपमा अगाडि बढाउने योजना उनीहरूको छ । गत आइतबार सम्पन्न भएको यो परियोजना जुम्ल्याहा दाजुभाइले मङ्गलबार औपचारिक रूपमा सार्वजनिक गर्दैछन् । टेकपानाले उल्लेख गरेको छ। 


अन्य समाचारहरु