मानवता (कविता)

मानवता (कविता)

पिताम्बर बन्जाडे

मानवता महान धर्म हो
मानवता मानवको गहना हो
मानवता मानवको सभ्यता हो
मानवता मानवको शिक्षा हो
संसारका जीव जीवात्मा र वनस्पती मध्ये मानवको अधिकारी हो मानवता।
विश्वभरका सवै मानवका नसानसामा एउटै रातो रगत वहन्छ ,
न त्यहा जात वहन्छ , न फरक रंग वहन्छ त्यही विवेक ज्ञान तत्व हो, मानवता ।
विडम्बना !
मानवता कै अभावमा रंग भेद जन्मन्छ, जाती भेद जन्मनछ , क्षेत्रीय भेद जन्मन्छ र लैंगिक भेद जन्मन्छ ,
आज एक्काइसौं शताव्दीसम्म हामी भोग्दैछौं ।

मानवता त्यस्तो विवेकपूर्ण न्याय हो जस्मा कुनै गोराले कालालाई अत्याचार गर्यो भने , कठोर दण्डित गर्छ तर त्यस्को वदलामा कुनै निर्दोश काला वा गोराले रंगभेद गरेको लान्छना र पिडा झेल्नु पर्ने छैन ।

मानवता त्यस्तो जातीय धर्म हो , जस्मा सिर्जनशील, कर्मयोगी , पूज्यनीय विश्वकर्माहरू कसैबाट हेपिनु वा दलिनु पर्ने छैन , यदि कोही कथित वडाजात भनिने व्रामणले जातीय विभेद गर्यो भने कठोर दण्ड हुनेछ र निर्दोस सम्यक भाव राख्ने व्रामणहरूले काठा, टुप्पी, धोती जस्ता अप शव्दका लान्छना भोग्नु पर्ने छैन ।

मानवताभित्र कुनै राजनैतिक पार्टी चोर हुने छैनन् किनभने पार्टीभित्र रहेका कुनै व्यक्ति वा समूहले भ्रष्ट व्यवहार गरे भने त्यसलाई दण्डित गरिन्छ तर पार्टीका सच्चा इमान्दार कार्यकर्ता समर्थकले त्यस्को लान्छनाको पिडावोध गर्नु पर्ने छैन ।

मानवताभित्र कुनै धर्म ढोंगी वा व्यभिचारी हुनेछैनन् धर्मको आडमा रहेका व्यक्ति वा समूहले व्यभिचार गर्छन् भने ती दण्डित हुन्छन् अन्य आस्थावन् हरूले व्यभिचारी र ढोंगीको लान्छनाको पिडा वोध गर्नु पर्ने छैन ।

मानवताभित्र कुनै लिंगभेद रहन्न , कुनै पुरुषले नारी प्रति दूर्व्यवहार गर्छ भने त्यसलाई कठोर दण्डित गरिन्छ र अन्य सदाचारयुक्त पुरुषहरूले पुरुषवादी सोंचको लान्छना खेप्नु पर्ने छैन अनि त्यसैगरी कुनै नारी व्यभिचारी भए उसलाई दण्डित गरिन्छ , अन्य भद्रनारीहरूलाई नारी व्यभिचारीणी हुन्छन भन्ने लान्छना खेप्नु पर्ने छैन ।
मानवता त्यस्तो विवेक वन्धुत्व हो
जहा काला र गोराको वन्धुत्व जागृत हुनेछ । हुतु र तुप्सीको हातेमालो हुनेछ ।
सिया र सुन्नीको प्रार्थना एउटै हुने छ ,
हिन्दु , मुस्लिम , क्रिश्चियन , वौध्दहरूका हरेक विभेद अन्त्य भएर एउटै मानव जातीको गौरवमय इतिहास रचिने छ , एकत्वभाव रहने छ मानवताको ।
त्यसैले वेलावेला आउने खहरेका भेलले उजाड पारेको वस्तिको वगरको ढुंगामा उभिएर सम्पूर्ण मानवजातीलाई हार्दिक आह्वान गर्छु,
आउनुहोस् !
हामी मानवताका पूजारी बनौं
मानवताको एउटै दल बनाऔं
मानवताको एउटै जात बनाऔं
मानवताको एउटै धर्म बनाऔं
मानवताको एउटै वर्ग बनाऔं
यदि यसो गर्यौ भने
उदारमना कसैलाई वावुराम भट्टराई कामी लेख्नु पर्ने आवश्यकता रहने छैन
मात्र वावुराम मानवता, के पी मानवता, पुष्पकमल मानवता , शेरवहादुर मानवता .......मानवता भए पुग्ने छ ।
त्यसवेला
एन जि ओ , आइ एन जि ओ का भट्टी सुक्ने छन्
भोट वैंकका खेल छुट्नेछन् , न मधेस ,न पहाड , न हिमालका विभेद रहने छन्, न चुच्चा नाकका चुच्चा कुच्चिनेछन् , न थेप्चा नाकका नाक थेप्चीनेछन् ।
अनिमात्र हामी मानवले भोग्नु परेका पिडा व्यथाहरूसंग , रोग, भोक र शोकसंग एकजुट भएर सामना गर्न सक्ने छौं । जय मानवता !