सन्धिखर्कको मेयर पदमा गठबन्धनकी शान्ता भण्डारीले चुनाव जित्ने संभावना बढी

सन्धिखर्कको मेयर पदमा गठबन्धनकी शान्ता भण्डारीले चुनाव जित्ने संभावना बढी


अर्घाखाँचीडट्कम संवाददाता 

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको नगर प्रमुख पदका लागि ५ दलिय गठबन्धन र नेकपा (एमाले) का उम्मेद्वारहरु चुनावी मैदानमा छन् । 

एमाले उम्मेद्वार कृष्ण प्रसाद श्रेष्ट र गठबन्धनकी उम्मेद्वार शान्ता भण्डारी, तस्बिर: फेसबूक

यही बैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचन -२०७९ का लागि सन्धिखर्क नगरपालिकाको नगर प्रमुख पदमा ५ दलिय गठबन्धनले कांग्रेसकी शान्ता भण्डारी र एमालेले कृष्ण प्रसाद श्रेष्टलाई उठाएको छ । यस्तै नगर उपप्रमुख पदमा गठबन्धनले माओवादी केन्द्रका राजेन्द्र भुसाल र एमालेले  मिश्रा आचार्यलाई उठाएको छ ।

यतिबेला यहाँ दलहरु भोट् माग्न गाउँ- गाउँमा पसेका छन् । सन्धिखर्कको मेयर र उपमेयर पदमा कसले हार्छ र कसले जित्छ भनेर टोल - टोल, चोक- चोकमा अंक गणित, बहस चलाएको देखिन्छ । 

२०७४ सालको स्थानिय चुनावको मत आधार

यहाँ हामीले गत २०७४ सालको स्थानिय तहको निर्वाचनमा दलले पाएको मतलाई आधार बनाएर यो पाली कसले जित्ला भन्ने फ्याक्ट चेक गरेका छौ । 

२०७४ सालको स्थानिय चुनावमा सन्धिखर्क नगरपालिकाको कुल मतदाता २४,६४२ मा खसेको मत १७,६७४ थियो । अर्थात ७१.७२% । यहाँ कांग्रेस, माओवादी केन्द्रको गठबन्धनबाट कांग्रेस कमलप्रसाद भूसालले ८२३० मत ल्याएर विजयी भएका थिए । एमाले कृष्णप्रसाद श्रेष्ठले ७१२७ मत, राष्ट्रिय जनमोर्चा कल्पना पोख्रेलले ५७८ मत, नेपाल परिवार दल डिल्ली राजले १० मत राप्रपा धुर्व भुसालले १६५ मत, एकीकृत राप्रपा राष्टबादी बसिर मिया ( स्वतन्त्र) ले ११ मत नयाँ शक्ति नेपाल यमुना भुसालले ६८ मत ल्याएका थिए । 

जनमत

भूसालले ११०३ मत बढी ल्याई विजयी भएका थिए । २०७४ सालमा दलहरु पाएको मतलाई जोड्दा अहिलेको ५ दलिय गठबन्धनसँग ८८७६ मत र एमालेसँग ७१२७ मत रहेको देखिन्छ । यसको मतलब गठबन्धनसँग १७४९ मत बढी छ ।  गत ५ वर्षको अवधिमा एमाले र माओवादी केन्द्रमा विभाजन आएको छ । एमाले फुटेपछि एकीकृत समाजवादीसँग कति जनमत छ भन्ने अनुमान त गर्न सकिदैन । यस्तै टोपबहादुर रायमाझी, चन्द्र बहादुर खड्का लगायतका शक्तिशाली नेताहरु एमालेमा लागेपछि अहिले माओवादी केन्द्रमा पनि कति जनमत छ भन्ने अनुमान त गर्न सकिदैन ।

माथि २०७४ सालको मतलाई आधार मान्ने हो भने यो ५ वर्षको अवधिमा एमालेमा १७४९ मत थपिए होलान त ? हो पकै पनि थपिएका छन्, टोपबहादुर, चन्द्रबहादुर पक्षको जनमत। अनुमान गर्न गार्हो छ तर एमालेमा १७४९ मत भन्दा बढी नै थपिएका छन् । 

उता यस सन्धिखर्क नगरपालिकामा एमाले फुटपछि एकीकृत समाजवादीमा कति जनमत छ त । अनुमान गर्न गार्हो छ तर एकीकृत समाजवादीमा जनमत भने राष्ट्रिय जनमोर्चा भन्दा कम नै देखिन्छ । यसको मतलब एमाले अहिले पनि गठबन्धन बराबर छ । 

साथै यो बीचमा एमाले र गठबन्धन दलहरुले के कति पार्टी प्रवेश गराए। त्यसलाई आधार मानेर कसले चुनाव जित्ला भन्न गार्हो छ । 

सम्भावना  

समग्रमा टोपबहादुर, चन्द्रबहादुर लगायतका नेताहरु एमालेमा रहनु,  फुटपछि एकीकृत समाजवादीमा सोचेजस्तो जनमत नजानु नै सन्धिखर्क नगरपालिकाको मेयर पदमा एमालेका कृष्ण प्रसाद श्रेष्टले जित्न नसक्लान भन्न सकिदैन । भने गठबन्धनमा कांग्रेसको जनमतमा फरक नपर्नु, नगरमा राम्रो जनमत भएका दलहरु एक भएका कारण ५ दलिय गठबन्धनकी शान्ता भण्डारीले जित्न सक्ने सम्भावना श्रेष्टको तुलनामा पनि बलियो देखिन्छ ।  

स्थानिय तहको निर्वाचन -२०७४ 

सन्धिखर्क नगरपालिका (कुल मतदाता २४,६४२ मा खसेको मत: १७,६७४  - ७१.७२% )

 मेयर

नेपाली कांग्रेस कमलप्रसाद भूसाल -        ८२३० मत   (विजयी)
एमाले कृष्णप्रसाद श्रेष्ठ -                          ७१२७ मत
राष्ट्रिय जनमोर्चा कल्पना पोख्रेल -             ५७८   मत
नेपाल परिवार दल डिल्ली राज -                    १० मत 
राप्रपा धुर्व भुसाल-                             १६५ मत 
एकीकृत राप्रपा राष्टबादी बसिर मिया ( स्वतन्त्र) -   ११ मत 
नयाँ शक्ति नेपाल यमुना भुसाल-                   ६८ मत       
अन्य-                                                         ० मत

उपमेयर

माओवादी केन्द्र ठाकुरकुमार बिक -        ७३६५ मत  (विजयी)
एमाले ईश्वरा पोखरेल -                            ६४०४ मत
राष्ट्रिय जनमोर्चा पशुपति ढकाल-             ७४१ मत
नयाँ शक्ति नेपाल टोपलाल बलाल-         १३८  मत  
राप्रपा सुनिता गिरी-                                  ९० मत      
अन्य-                                                    ० मत

विजयी वार्ड अध्यक्ष  (वार्ड संख्या १२)
१ वार्डबाट एमाले युबराज बन्जाडे                                   (विजयी) 
२ वार्डबाट एमाले  मोतिजंग रायमाझी वन्जाडे     ६४५ मत (विजयी) 
३ वार्डबाट नेपाली कांग्रेस  लिला गौतम                             (बिजयी)
४ वार्डबाट नेपाली कांग्रेस कृष्ण प्रसाद श्रेष्ठ ( ठाकुर )        (विजयी) 
५ वार्डबाट नेपाली कांग्रेस राजेन्द्र भुसाल                         (विजयी)
६ वार्डबाट नेपाली कांग्रेस  कृष्ण बहादुर आचार्य              ( विजयी) 
७ वार्डबाट   नेपाली कांग्रेस पृतम थापा               ७०७ मत (बिजयी)
८ वार्डबाट नेकपा एमाले इश्वरी प्रसाद भुसाल                    (बिजयी)
९ वार्डबाट  माओवादी केन्द्रका देवी बहादुर रायमाझी     ( विजयी)  
१० वार्डबाट नेकपा एमाले लक्ष्मी नारायण चुदाली              (विजयी)
११ वार्डबाट नेकपा एमाले धुर्वराज आचार्य          ६३२ मत   (बिजयी)
१२ वार्डबाट नेपाली कांग्रेस नारायण खड्का                    (विजयी) 

अन्य समाचारहरु