अर्घाखाँचीमा ६५ हजार ७ सय ६८ जनाले स्वास्थ्य बीमा गरे

अर्घाखाँचीमा ६५ हजार ७ सय ६८ जनाले स्वास्थ्य बीमा गरे

भिम बिश्वकर्मा

सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा ६५ हजार ७ सय ६८ जनाले स्वास्थ्य बीमा गरेका छन ।

२०७४ फागुन १५ गतेबाट लागु भई २०७५ जेष्ठ १ गतेबाट सेवा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत अर्घाखाँचीमा २०७८ चैत्र मसान्तसम्म ६५ हजार ७ सय ६८ जनाले बीमा गरेका छन । जिल्लामा सन्धिखर्क नगरपालिकामा सबैभन्दा बढि मानिसहरुले बीमा गरेका छन भने भुमिकास्थानमा सबैभन्दा कम मानिस गरेका छन । स्वास्थ्य बीमा बोर्ड अर्घाखाँचीका अनुसार सन्धिखर्क नगरपालिकामा १५ हजार १० जना, पाणिनी गाउँपालिकामा १३ हजार ८ सय ८३ जना, छत्रदेव गाउँपालिकामा १२ हजार ६ सय ३७ जना, शितगंगा नगरपालिकामा ११ हजार ७ सय १५, मालारानी गाउँपालिकामा ६ हजार ७ सय ५२ जना र भसमिकास्थान नगरपालिकामा ५ हजार ७ सय ६४ जना गरी ६५ हजार ७ सय ६८ जना मानिसहरुले बीमा गरेका छन ।

यस्तै ८ हजार ५ सय २१ जेष्ठ नागरीक, १३ हजार ४ सय ५६ अत्ति गरीव, १ सय १२ एचआईभी संक्रमित र १ हजार ३ सय ६१ पुर्ण अपांगले पुर्ण निशुल्क स्वास्थ्य बीमा गरेका छन । १९३९ महिला स्वास्थ्य स्वयमसेविकाको बीमा ५० प्रतिशत छुटमा भएको छ भने बाकीले पुर्ण शुल्क तिरेर बीमा गरेको स्वास्थ्य बीमा बोर्ड अर्घाखाँचीका कार्यालय प्रमुख राम बहादुर थापाले जानकारी दिए ।

बीमा गर्नेहरुको संख्या अनुरुप बीमा नबिकरण गर्नेहरुको संख्या नघटेको थापाको भनाई छ । उनका अनुसार हाल सम्म नबिकरण गराउनेहरुको संख्या जम्मा ३९ हजार तिन सय ५८ रहेका छन । स्वास्थ्य बीमा जिवनका लागि अत्ति महत्वपुर्ण रहेको भन्दै समय मै नबिकरण गराउन प्रमुख थापाले अनुरोध समेत गरेका छन ।

स्वास्थ्य बीमा बोर्ड अर्घाखाँचीले जिल्लामा १ अस्पताल , २ पिएससी र १ आखाँ अस्पतालसंग सम्झौता गरेर बिमितहरुको उपचारको ब्यबस्था मिलाएको छ । अस्पतालहरूले बिमितको उपचार गरेबापतको रकम मागदाबी गरे पनि स्वास्थ्य बीमा बोर्डले समयमै भुक्तानी नगर्दा मुलुकभरका धेरैजसो स्वास्थ्य संस्था प्रभावित बनेको भए पनि अर्घाखाँचीमा भने त्यस्तो समस्या अझै आईनसकेको थापा बताउछन । उनि भन्छन “भुक्तानी गर्न बाँकी नै नभएको भन्ने होईन तर सेवा नै बन्द गर्ने अबस्था पनि भएको छैन ।”

अहिले स्वास्थ्य बीमा बोर्ड अर्घाखाँचीमा कार्यालय प्रमुख र दर्ता अधिकारी २ जना कर्मचारी छन ।

अन्य समाचारहरु