रित्तो गाग्रो (कविता)

रित्तो गाग्रो (कविता)

पिताम्बर बन्जाडे

पहिले गाग्रोको ठूलो महत्व हुन्थ्यो,
मझेरीको छेउँमा पडेल्नोमा राखिएको
हो ! त्यही तामाको गाग्रो जुन जमानामा
भरी हुन्थ्यो।
सवैको इज्जत प्रतिष्ठाको
विस्तु थियो ।
गाउँ समाजमा चर्चा हुन्थ्यो ,
फलानोको घरको ठूलो
तामाको गाग्रो!
पिटुवा तामाको गाग्रो,
गजधुम्मे गाग्रो !
विस्तारो स्वरमा पानी भरिन्थ्यो,
कहिले बजेको सुनिन्नथ्यो,
बजे पनि मीठो संगीत सुनिन्थ्यो,
कसैले छोए, कुल्चे ढोगीन्थ्यो,
गाग्रोको गलामा माला हुन्थ्यो ,
सधै भरिभराउ हुन्थ्यो,
भित्रबाहिर आउँदाजाँदाको ,
शुभसाइत हुन्थ्यो ,
गमक्क बसेको त्यो तामाको गाग्रो!

समय वदलियो, पधेरा भाटिए
धारा झारा के के आए !
ग्यालेन ,जार आए ,
नयाँनयाँ अनुहार छाए
त्यही गाग्रो अहिले पूरानो
चुहिने थोत्रो भएको छ ,
निकम्मा थोत्रो भाँडो भएको छ।
त्यो रित्तो गाग्रो आजभोलि ,
बजीमात्र रहन्छ ।
नव वधुले खुट्टा बजारेर
हिड्दा पनि बजीरहन्छ,
वच्चाले बिस्कुन
पोख्दा पनि बजीरहन्छ,
गाईभैंसी गोठमा
कराउँदा पनि बजीरहन्छ
धारामा ठूलो पानी
खोल्दा पनि बजीरहन्छ,
नानीहरू
भोकाउँदा पनि बजीरहन्छ।
कसैलाई मन नपर्ने,
उपदेशमा वजीरहन्छ ।
त्यो रित्तो गाग्रो सवैको
कर्कस आवाज भएको छ ।
त्यो आवाज !
हो त्यो झर्को लाग्दो आवाज !
कसैलाई मन पर्दैन आजभोलि
त्यो गाग्रोको छेउँमै
कोही पनि आउँदैन आजभोलि
तर !
आफ्नै विगत कथामा बजीरहन्छ,
रित्तो भएपछि बज्ने भन्दा
गाग्रोको अर्को सामर्थ्य छैन ।
त्यो गाग्रो ! जुन पहिले
साइतमा राखिन्थ्यो सजाएर ,
आज त्यही रित्तो गाग्रो देखिए,
साइत विग्रन्छ भनेर
त्यतातिर नहेरी,
मान्छेहरू भित्रवाहिर गर्छन् ।
त्यो थोत्रो रित्तो गाग्रो देखाउँदा,
इज्जत जाला भन्ने डरले
भुल्लाभुल्लीले चापचुप पारेर
कुनामा ससम्मान राखिएको छ ।
फ्याकिहाल्न पनि माया लाग्छ,
थोरवहुत पर्छ कि भन्ने आशा छ,
शत्रु मित्रु अनि समाज छ ।
नवज !भन्दा मान्दै मान्दैन फसाद छ
वजीरहन्छ वजीरहन्छ त्यो रित्तो गाग्रो
यही फसाद छ ।
◦ अस्तु: